• १३ साउन २०८१, आइतबार

बेतन कर्णाली जलविद्युत् आयोजना इआइए स्वीकृत

blog

रजनी योगी

सुर्खेत, माघ १ गते । बेतन कर्णाली जलविद्युत् आयोजनासम्बन्धी वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने बेतन कर्णाली जलविद्युत् आयोजनाको इआइए वन मन्त्रालयले स्वीकृत गरेको जनाइएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली २०७७ को नियम ९ को उपनियम (८) बमोजिम वन तथा वातावरण मन्त्रालयले इआइए स्वीकृत गरेको हो । 

पुस १७ गते वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले इआइए स्वीकृत गर्नुभएको जनाइएको छ । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख उपेन्द्र न्यौपानेले अब सम्झौता र आयोजना निर्माणको बाटो खुलेको जानकारी दिनुभयो । उहाँका अनुसार इआइए स्वीकृतसँगै आयोजनाले निर्माणको चरणमा प्रवेश गरेको छ । 

अठासी अर्ब लागत अनुमान

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । ४३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चित भइसकेको छैन । कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको अवकाशपछिको जीवनलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चयकर्ता हाइड्रोको अवधारणा अनुरूप कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् उत्पादन कम्पनी लिमिटेड तथा कोषका करिब छ लाख सञ्चयकर्ता संस्थापक रहने गरी पब्लिक कम्पनीका रूपमा स्थापित रहेको छ । 

कम्पनीले आयोजनाका लागि रकम सुनिश्चितताको पहल सुरु गरेको आयोजना प्रमुख न्यौपानेले जानकारी दिनुभयो । लगानी सुनिश्चितताका लागि विभिन्न बैङ्कसँग छलफल अघि बढाइएको छ । लगानी जुटाउन विभिन्न क्षेत्रसँग छलफल र भेटघाटलाई तीव्र बनाइएको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विकास बैङ्कसँग आयोजनाले छलफल गरिरहेको छ । फरक फरक क्षेत्रसँग छलफल र पहल भइरहेको आयोजना प्रमुख न्यौपानेको भनाइ छ । उहाँले भन्नुभयो, “आयोजना निर्माणका लागि ८८ अर्ब बजेट लाग्ने छ । अहिले विभिन्न कमर्सियल बैङ्कसँग लगानी जुटाउने विषयमा पहल गरिरहेका छौँ ।”

कर्णालीसँग जोडिएको अर्को ठुलो जलविद्युत् आयोजना हो, यो । निर्माणपूर्वको तयारी भने करिब अन्तिम चरणमा छ । आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन् । आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण पूरा भएको छ । सुर्खेत खण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ । पहुँच सडक निर्माणपछि कर्णाली नदीमा बेलिब्रिज निर्माण गरिने छ । कैलालीको सुगरखालदेखि करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रव्रिmया अघि बढिसकेको छ । हाल आयोजना निर्माण अन्तर्गत नियमित काम भइरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

चालु आर्थिक वर्षदेखि मुख्य आयोजनाको काम सुरु हुने छ । आयोजनाको कार्य अघि बढाउन लगानी जुटाउने काम थालिएको हो । लगानीको सुनिश्चितता गरेपछि आयोजनाको ड्याम निर्माण, सुरुङ निर्माण र पावरहाउस निर्माणलगायतका काम अघि बढाइने छ । यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो । आयोजनास्थल, अतिव्रmमित हुने क्षेत्र र लागत अनुमान पनि टुङ्गो लागेको छ । आयोजनाका लागि कर्णाली नदीमा १४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युत्गृहमा पानी पु¥याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टल पाइपबाट टरवाइनमा खसालिने छ ।

आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा विद्युतगृह, बेस क्याम्प हाउस, हेड टनेललगायतका मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुने छन् । बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ । आयोजना २०८० सालमा सुरु भई पाँच वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाइएको छ ।