• २८ जेठ २०८२, बुधबार

राजविराज नगरपालिकामा तनाव : प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर

blog

नगरपालिका परिसरमा टायर बालेर प्रदर्शन गर्दै निलम्बित नगर प्रमुख भीमराज यादव समर्थक । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर (सप्तरी), जेठ २७ गते । राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इससरत परवीन सहितका जनप्रतिनिधिले मङ्गलबार नगरपालिकामा लगाइएको ताला फुटाएर कार्यालयमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ ।

निलम्बित नगर प्रमुख भीमराज यादव सहित उहाँका समर्थकहरूले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलाई लिएर आइतबार ९ बुदे माग अघि सार्दै लगाइएको ताला फुटाएर कार्यवाहक नगर प्रमुख परवीन सहितका जनप्रतिनिधिहरूले कार्यालय प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको हो । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सामान्य प्रशासनले सरुवा गर्दै नगरपालिकाका शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । त्यही विषयलाई लिएर कार्यवाहक नगर प्रमुख परवीन र निलम्बित नगर प्रमुख यादवबिच विवाद चुलिएको थियो ।

कार्यवाहक नगर प्रमुख परवीन विधीको शासन लागु गर्न मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनु पर्ने पक्षमा र निलम्बित मेयर यादव सोको विरोध गर्दै डा.साहलाई नै सो जिम्मेवारीमा राख्नु पर्ने अडान लिएपछि नगरपालिको स्थिति यहाँसम्म आइपुगेको हो । 

तालाबन्दी र धर्नाका कारण तीन दिनदेखि कामकाज ठप्प रहेको नगरपालिकामा कार्यवाहक नगर प्रमुख परवीन र नगरपालिकाका प्रवक्ता जयनाराण मंडल, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव सहित उहाँपक्षका जनप्रतिनिधि तथा समर्थकहरूले कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवलाई हाजिर गराउँदा स्थिति निकै तनावपूर्ण बनेको छ । 

यसअघिको प्रमुख प्रशासकीय अधिकृत नियमित कार्यालयमा नबस्दा नगरपालिकाले १०-१५ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको बताउँदै कार्यबाहक नगर प्रमुख परवीनले यो आर्थिक वर्षका लागि उहाँलाई सरुवा गरेर यादवलाई मन्त्रालयले जिम्मेवारी दिएकोले विकासीय तथा दैनिक कामकाज अगाडि बढाउन यादवलाई हाजरी गराइएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउँदा निलम्बित नगर प्रमुख यादव समर्थकहरूले नगरपालिका अगाडि टायर बालेर प्रदर्शनमा गरेका छन् भने दुवै पक्षबिच सामान्य तनाव हुँदा नगरपालिका सिसी क्यामरा र झ्यालका सिसाहरू फुटेको छ ।


यसै विषयलाई लिएर दुबैपक्ष सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसे पनि ताला खोलेर प्रमुख प्रशासकीय अधिकृत यादवलाई हाजिर गराउने सन्दर्भमा कुनै ठोस निष्कर्ष ननिस्किदा कार्यवाहक नगर प्रमुख परवीनको नृेतृत्वमा कार्यालयको ताल्चा फुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई तनावपूर्ण स्थितिका बिच हाजिर गराइएको हो ।

अहिले राजविराज नगरपालिकामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको डिउटीमा रहनुभएका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यसअघि निलम्बित नगर प्रमुख यादवले नगर क्षेत्रमा भएको सिसिटिभी क्यामेरा जडान प्रकरणमा छानबिन, नगरको ६८ बिघा क्षेत्रमा ब्लक र बिटौरी जग्गामा बसोवास गर्दै आएको ५ हजार भन्दा बढी लालपुर्जाबाट बञ्चित परिवारलाई लालपुर्जा प्रदान, हटिया बजारको व्यवस्थापन, नगरका जीर्ण सडक र नालाको मर्मत सम्भार, लामखुट्टे विरुद्धको औषधी छर्किने व्यवस्था लगायतका माग अघि सार्दै कार्यालयमा तालाबन्दी गरि धर्ना सुरु गर्नु भएको थियो ।