• २९ जेठ २०८२, बिहिबार

कृषि उत्पादन ढुवानी गर्न ‘कृषि एम्बुलेन्स’

blog

कृषि एम्बुलेन्स सार्वजनिक गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलगायत । तस्बिर : नवीनराज कुइँकेल

लमजुङ समाचारदता

लमजुङ, जेठ २८ गते । किसानका उत्पादनको बजारीकरण गर्न मस्र्याङ्दी गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्स सञ्चालनमा आउने भएपछि किसान खुसी भएका छन् । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य उत्पादन बजारसम्म ल्याउन कृषि एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । कार्यविधि बनाएर कृषि उत्पादन ढुवानी र बजारीकरणका काममा कृषि एम्बुलेन्स सञ्चालन गरिने उहाँले बताउनुभयो । 

कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज हुने मस्र्याङ्दी गाउँपालिका कृषक सञ्जालका अध्यक्ष भीष्मकान्त कुइँकेलले बताउनुभयो । गाउँ गाउँमा उत्पादन हुने आलु, अलैँची, तरकारी, भटमास तथा अन्य अन्नबाली बजारसम्म ढुवानी गर्न एम्बुलेन्स फलदायी हुने कुइँकेलले बताउनुभयो । 

मस्र्याङ्दीको भूगोल ठुलो भएको र दूरदराजमा उत्पादन हुने तरकारी तथा अन्नको बजारीकरण गर्न किसानलाई बढी लागत लाग्ने भएकाले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको उपाध्यक्ष जुनामाया थापाले बताउनुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले दैनिक तालिका बनाएर गाउँ गाउँबाट किसानका उत्पादन सङ्कलन गरिने बताउनुभयो । गाउँबाट किसानका सामाग्री बजार झार्ने र बजारबाट लैजानुपर्ने सामग्री गाउँ पु¥याउने काम एम्बुलेन्सले गर्ने चपाईले बताउनुभयो । एम्बुलेन्स सञ्चालनका लागि ढुवानीबापत न्यूनतम शुल्क निर्धारण गरेर यसको दिगोपनामा ध्यान दिइने गाउँपालिकाले जानकारी दिएको छ ।