• २९ जेठ २०८२, बिहिबार

चितुवाले मान्छे मार्न थालेपछि स्थानीयवासी आतङ्कित

blog

शोकमा डुबेका बन्दीपुर गाउँपालिका–२ का बासिन्दा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, जेठ २८ गते ।
तनहुँको बन्दीपुर गाउँपालिकाकाको ग्रामीण क्षेत्रमा चितुवा दिउँसै बस्तीमा पसेर मान्छे मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका छन् । एक महिनाकै अवधिमा एक बालक र एक बालिका गरी दुई बालबालिकाको ज्यान गएपछि आतङ्कित बनेको बन्दीपुर गाउपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो ।

चितुवा कराउँदै बस्तीमा आउन थालेपछि दिउँसै ढोका लगाएर बस्नु पर्ने बाध्यता भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । नरभक्षी चितुवाको आक्रमणबाट चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–२ कुवादी, कामीडाँडामा दलबहादुर गुरुङको पाँच वर्षका छोरा उत्सव गुरुङलाई सोमबार साँझ ७ः३० बजे आक्रमण गर्दा मृत्यु भएपछि थप आतङ्कित भएको थापाले बताउनुयभो ।

एक महिनाको अवधिमा दुई बालबालिकाको मृत्यु भएकोले नरभक्षी चितुवा मार्न वा समातेर चिडिया घरमा थुुन्नु पर्ने माग राखिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । अध्यक्ष थापाले एक महिना अघि सोही ठाउँका एक बालको मृत्यु भएकोले स्थानीय बासिन्दाहरु आतङ्कित बनेकोले नियन्त्रणमा लिनु पर्ने माग राखिएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, ‘‘बस्तीवरीपरी अहिले पनि नरभक्षी चितुवा कराउँदै डुलिरहेको छ गाउँबासी घरमा बस्न डराएका छन्, बालबालिका घरबाट निस्किएर विद्यालय जान सकेका छैनन् ।’’

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले सोमबार साँझ भएको आक्रमणबाट घाइते बालक गुरुङको बन्दीपर अस्पताल बन्दीपुरमा उपचारको क्रममा ८ः२० बजे मृत्यु भएको बताउनुभयो ।   

घरको पिढीमा आमासँगै बसिरहेको चितुवाले आक्रमणबाट बालकको मृत्यु भएको बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले जानकारी जानकारी दिनुभयो । चितुवाले आक्रमण गरेर बच्चा लगेपछि पछि–पछि परिवार छुट्टाउन जाने क्रममा चितुवा भागेको वडाध्यक्ष कँवरले बताउनुभयो । जङ्गलमा बस्ने चितुवा मानव बस्तीमा आएर आक्रमण गर्न थालेपछि स्थानीय आतङ्कित बनेको कुँवर बताउनुहुन्छ । बन्दीपुर गाउँपालिका–२ मुच्चुक निवासी रेशम गुरुङले दिउँसै मानव बस्तिमा आएर चितुवा आउने बालबालिकालाई आक्रमण गर्ने श्रृङ्खला नरोकिएकाले गोली हानेर मार्नुपर्ने माग राखिएको बताउनुभयो ।

बन्दीपुर गाउँपालिका–३ निवासी निलकण्ठ भट्टराई दुई वर्ष अन्तरालमा चार बालबालिका चितुवाको आक्रमणबाट मारिएकाले नियन्त्रणको माग राख्दै आन्दोलनमा आएको बताउनुभयो । २०७४ सालदेखि हालसम्म ६ वर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष ध्रुबप्रसाद लामिछानेले जनताको ज्यानभन्दा ठुलो चितुवा नभएकाले प्रशासनले तत्काल मार्ने निर्णय गर्नुपर्ने बताउनुभयो । डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले विज्ञ टोली मगाएर चितुवा नियन्त्रण गर्न निकुञ्जमा पत्रचार गरिएको बताउनुभयो । दुई वटा बाख्रासहितको खोर राखिएको भएपनि नियन्त्रण लिन नसकिएपछि पत्रचार गरिएको उहाँ बताउनुभयो । नरभक्षी चितुवालाई समातेर राष्ट्रिय निकुञ्जमा छाड्ने वा चिडिया खानामा लैजाने कार्य अघि बढाईएको अधिकारीले जानकारी दिनुभयो ।