रामकृष्ण बोहरा
बागलुङ, जेठ २८ गते । स्थानीय तह मातहतमा रहेका जिल्लाका दुई अस्पताललाई गण्डकी प्रदेश सरकारले आफु मातहत ल्याउने भएको छ । स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मन्त्रिस्तरीय निर्णय गर्दै बागलुङ नगर अस्पताल र बडिगाड आधारभूत अस्पताललाई गण्डकी सरकार मातहत ल्याउन आवस्यक प्रक्रिया अघि बढाउनुभएको हो ।
गत जेठ २३ गते मन्त्रिस्तरीय निर्णय गर्दै गण्डकी प्रदेश सरकारले बागलुङका दुईसहित स्याङजाको वालिङ र भीरकोट नगर अस्पताल, तनहुँको भानु नगरपालिकास्थित कालीमाटी अस्पताल, लमजुङको सुन्दरबजार अस्पताललाई प्रदेश मातहत ल्याउन ल्याउँदै छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार ६ अस्पताललाई स्तरोन्नति गर्ने प्रयोजनार्थ अध्ययन प्रतिवेदन पेश गर्नेगरी कार्यशर्तसहितको कार्यदल गठन गरिएको छ ।
गण्डकी सरकारले यसअघि दुई आयुर्वेदसहित १३ अस्पतालहरुको स्तरोन्नति गर्दै शय्या क्षमता र दरबन्दी समेत थपिसकेको छ । अस्पतालहरुको स्तरोन्नति र पालिका तहमा रहेका अस्पताललाई प्रदेश सरकार मातहत ल्याई बाँकी रहेका सम्पन्न गरी सेवाहरु विस्तार गर्दा प्रदेशबासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने मन्त्री पाठकले बताउनुभयो ।
ठेकेदारको ढिलासुस्तीले बागलुङ नगरपालिका वडा नं. १३ पंैयुपाटामा निर्माणाधिन नगर अस्पतालको भवन अहिले अलपत्र परेको छ । नगरपालिकाले पटक पटक ताकेता गर्दा समेत भवनको काम पहिलो तला ढलानमा सिमित छ । प्रदेशले अपनत्व लिएपछि नगर अस्पताल अब छिट्टै बन्नेमा बागलुङ नगरका जनप्रतिनिधिहरुले आशावादी हुनुहुन्छ ।
‘‘स्थानीय तहको सिमित स्रोत साधनले धान्न नसक्ने हुँदा प्रदेश सरकारले पालिकास्तरीय अस्पतालको अपनत्व लिनु राम्रो कुरा हो’’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो ।
१५ शय्याको अस्पताल भवन निर्माण गर्न नगरपालिकाले श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरेको थियो । १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्टसहितको अस्पताल निर्माण गर्ने स्टमेट छ ।
स्थानीयवासीको ९ रोपनी जमिन नगर अस्पतालका नाममा पास भएपछि पैयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको रुपमा नामाकरण गरिएको थियो । स्वास्थ्यको पहुँचबाट टाढा रहेको दक्षिण क्षेत्रलाई लक्षित गरी अस्पताल निर्माण थालिए पनि भवन निर्माणमा ढिलाई हुँदा अस्पतालको सेवा प्रभावकारी नहुँदा समस्या भएको वडा नं. १४ का वडा अध्यक्ष नारायण शर्मा पौडलले बताउनुभयो । रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थानवासीलाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुने छ ।
यस्तै, बडिगाड गाउँपालिकाको ग्वालीचौरको पौँदीटारीमा १८ करोडको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भए पनि दक्ष जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन । बडिगाड अस्पताल गण्डकी प्रदेश मातहतमा आउने भएपछि गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले खुशी व्यक्त गर्नुभएको छ । प्रदेशका मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीप्रति आभार व्यक्त गर्दै अधिकारीले अब अस्पताल छिट्टै सञ्चालनमा आउने र आफ्ना नागरिकले विशेषज्ञ सेवा पाउनेमा आशा जगाएको बताउनुभयो ।