• ३० वैशाख २०८१, आइतबार

प्रत्येक वडामा पार्क र फिजिकल फिटनेस केन्द्र बनाउँदै छौँ

blog

स्थानीय तहको दोस्रो निर्वाचन भएको डेढ वर्ष पूरा भएको छ । यस अवधिमा काठमाडौँको नागार्जुन नगरपालिकामा भौतिक पूर्वाधार र सामाजिक विकासमा अपेक्षाकृत उपलब्धि हासिल भएका छन् । यस सन्दर्भमा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसँग नगरपालिकाले गरेको काम र आगामी योजनाका सन्दर्भमा गोरखापत्रका नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी : 

नागार्जुन नगरपालिका आफैँमा धार्मिक पर्यटकीय क्षेत्र हो । उक्त क्षेत्रको प्रवर्धन र संवर्धनमा नगरपालिकाले के के काम गरेको छ ?

हरिसिद्धि मन्दिर, आदेश्वर, इचङ्गुनारायण, भैरवथान मन्दिरको परम्परागत संस्कृतिलाई जीवन्त राख्दै ती मठ मन्दिरको पुनर्निर्माण गरी नयाँ ढङ्गबाट आन्तरिक र बाह्य पर्यटक नगरपालिका क्षेत्रमा भिœयाउने काम गरिरहेका छौँ । अर्को बुद्ध धर्मसम्बन्धी सेतो गुम्बाबाट विश्वव्यापी रूपमा नागार्जुन नगरपालिकालाई चिनाउन सफल भएका छौँ । स्विट्जरल्यान्ड पार्कमा पर्यटकीय पूर्वाधार तयार गर्दै छौँ । हाम्रो नारा नै ‘समृद्ध नागार्जुनको आधार, पर्यटनसहितको पूर्वाधार र आवासीय नगर’ छ । हामी पर्यटन पूर्वाधार निर्माण गर्ने काममा निरन्तर लागिरहेका छौँ । 

युवालाई रोजगारी सिर्जना गर्ने योजना के के छन् ? 

नगरपालिकाले उद्यम गर्न चाहने युवा र उद्यमी महिलालाई प्रोत्साहन गर्न नेपाल सरकारसँग साझेदारी गरी दुई करोड रुपियाँको ‘स्टार्ट अप’ कोष निर्माण गरी स्थानीय सहकारीमार्फत बिनाधितोमा सहुलियत ऋण प्रवाह गरी युवालाई व्यावसायिक बनाउने योजना, नीति र कार्यक्रम कार्यान्वयन भइरहेको छ । नगरपालिकाले अहिले अर्गानिक तरकारी र फलफूल उत्पादनमा जोड दिएको छ । लोकल कुखुरा, कालिज र खसी उत्पादन गरी कोदोको अर्गानिक उत्पादनबाट बन्ने परिकार पर्यटकलाई खुवाउन स्थानीय समूहहरूलाई अनुदान तथा तालिम दिइएको छ । सिटिइभिटीसँग समन्वय गरेर पाककला र अन्य तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरेका छौँ । स्थानीयलाई कृषि र पर्यटनका क्षेत्रमा व्यावसायिक बनाउँदै आत्मनिर्भर बनाउने काममा लागिरहेका छौँ । 

नगरपालिकामा सेवा प्रवाह र सुशासनको काम कसरी अगाडि बढेको छ ?

नगरपालिकाले अत्याधुनिक प्रशासनिक भवन निर्माण गरी उक्त भवनबाट सहज र सर्वसुलभ रूपमा सेवा प्रवाह गरेको छ । सम्भव भएसम्मका सबै कामलाई नगरपालिकाले प्रविधिमैत्री बनाउँदै गएको छ । सेवाग्राही र नागरिकको गुनासो सहजै सुनुवाइ गरी सम्भव भएसम्म तत्काल समस्याको समाधान गर्ने गरेका छौँ । नगरपालिकाको पहिलो तलामा नागरिक सहायता कक्ष राखी सेवाग्राहीलाई स्वागत गर्दै सेवाग्राहीले लिन आएका सेवाका बारेमा परामर्श गरी सम्बन्धित शाखामा लैजाने व्यवस्था गरेका छौँ । कुनै सूचना तथा जानकारी नगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरी नागरिकलाई प्रविधिसँग जोड्ने प्रयास हुँदै आएको छ । हरेक महिनामा कार्यपालिकाको बैठक बसी नीति निर्माण गरी कार्यान्वयन गर्ने गरिएको, नगर प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा स्थानीय तह स्वमूल्याङ्कन पद्धतिमा (लिजा) मा उत्कृष्ट नगरपालिका र महालेखा परीक्षकको प्रतिवेदनमा सबैभन्दा कम बेरुजु भएको पालिकाका रूपमा घोषित भएको छ । 

स्वास्थ्य क्षेत्रमा नयाँ काम के के भएका छन् ?

नागार्जुन नगरपालिकाद्वारा मिर्गौला र कलेजो रोगको उपचार, प्रत्यारोपण र डायलासिसका लागि नेपाल सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेटिएको राष्ट्रिय गौरवको आयोजना पाँच सय श-यासहितको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई नागार्जुन नगरपालिकाको वडा नंं ५ आदेश्वरस्थित सडक विभाग र सरकारी पर्ती जग्गामा स्थापना गरी सञ्चालन गर्न सम्भाव्यता अध्ययनका लागि स्थलगत निरीक्षण भइसकेको छ । उक्त जग्गा सरकारसँग माग गरी यथासक्य छिटो भवन निर्माण सम्पन्न गरी उपचार प्रारम्भ गर्ने योजना बनाइएको छ । उक्त योजना सञ्चालन भएपछि नगरवासीले सहज रूपमा मिर्गौला र कलेजोसम्बन्धी रोगको उपचारबाट प्रत्यक्ष लाभ लिन सक्ने छन् भने देशैभरका नागरिकले पनि सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यो काम नगरपालिकाका लागि नमुना बन्ने छ । 

सङ्घ, प्रदेश र अन्य निकायसँग नगरपालिकाको अपेक्षा के छ ? 

संविधानको अनुसूची ९ मा उल्लेखित साझा अधिकारका विषयमा सङ्घ सरकारले छिटो कानुन निर्माण गर्नुपर्ने, सङ्घ र प्रदेशबाट स्थानीय तहलाई आउने राजस्व बाँडफाँटको रकम स्पष्ट तथ्याङ्कसहित नियमित र समयमा नै उपलब्ध हुनुपर्ने, समानीकरण र ससर्त अनुदानको रकम यथार्थको आधारमा प्राप्त हुनुपर्ने, कर्मचारी र जनप्रतिधिलाई सङ्घ र प्रदेश सरकारले आवश्यक रूपमा क्षमता विकासको कार्यव्रmम सञ्चालन गर्नुपर्नेलगायतका कुरा सङ्घीय र प्रदेश सरकारसँग अपेक्षा गरेका छौँ । नागरिकलाई छिटो र छरितो सेवा प्रवाह गर्ने हो भने स्थानीय तहलाई संविधानले दिएको अधिकार अनुसार सङ्घ र प्रदेश सरकारले छिट्टो कानुन बनाएर सहयोग गर्नुपर्छ । सङ्घ र प्रदेश सरकारले आवश्यक प्राविधिक जनशक्ति स्थानीय तहलाई दिएर पूर्वाधार निर्माणको काम स्थानीय तहलाई दिने हो भने नागरिकले सहज र सर्वसुलभ रूपमा सेवा प्राप्त गर्न सक्छन् । 

नगरपालिकाका प्रमुख चुनौतीहरू के के हुन् ? 

अव्यवस्थित सहरी बसोबास, सङ्घ र प्रदेश सरकारले नगरपालिकासँग समन्वय नगरी आआफ्नै तरिकाले भौतिक पूर्वाधार निर्माण गर्दा पूर्वाधार विकास व्यवस्थित हुन नसकेको, जनशक्तिलगायत संस्थागत क्षमता विकासको कमी भएको, जनताको विकासको अपेक्षा एवं आवश्यकताको तुलनामा न्यून स्रोत भएको र आन्तरिक स्रोत वृद्धि गर्दै जानुपर्ने चुनौती नगरपालिकासँग छ ।   

बाँकी कार्यकालमा गर्ने योजना के के छन् ?

शिक्षामा सबैको सहज र सर्वसुलभ रूपमा पहुँच अभिवृद्धि गर्ने, सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयका रूपमा क्रमिक रूपमा विस्तार गर्दै जाने, स्वास्थ्यमा सबैको सहज पहुँच अभिवृद्धि गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै जाने, युवालाई उद्यमशील बनाउन नगरपालिका क्षेत्रमा भएका पर्यटनसम्बन्धी समूह मिलेर होमस्टे सञ्चालन गर्ने, कृषिलाई आर्गानिक खेतीका रूपमा रूपान्तरण गर्ने, नगरपालिका पर्यटकीय क्षेत्रमा पिकनिक स्पोर्ट जिपलाइन, रानीवनमा सफारी व्यवस्थित गरेर पर्यटन प्रवर्धन गर्नेलगायतका काम बाँकी छन् । नागार्जुन नगरपालिकाभित्र खानेपानी, ढल, भौतिक पूर्वाधार व्यवस्थापन गर्ने, आवश्यकताका आधारमा बढी व्यस्त हुने ठाउँमा सिसी क्यामरा, सडकबत्ती व्यवस्थापन गर्ने, सार्वजनिक जमिनको संरक्षण गरी सो ठाउँमा पार्क निर्माण गर्दै जाने, हरियाली प्रवर्धन गर्न सडकको दायाँबायाँ वृक्षरोपण गर्ने, समग्रमा नगरवासीलाई आवश्यक सबै भौतिक पूर्वाधार सुशासनको प्रत्याभूति गर्दै जाने अबका योजना छन् ।