• १३ असोज २०८१, आइतबार

कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : अध्यक्ष लिङ्देन

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं, पुस २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुईमत रहेको बताउनुभएको छ। 

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीकाे भित्र फरक मत रहेको बताउनुभएको हो। 

उहाँले एउटा मत सभामुख लिन नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताउनुभयो। उहाँले आफू देशबाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, ‘‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन। योभन्दा अगाडि नै बागमतीमा पनि छ हाम्रो सहभागिता। लुम्बिनी प्रदेशमा उपसभामुखको रुपमा हाम्रो सहभागिता छ। यो नौलो कुरा होइन। तर अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो। हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो। म देशबाहिर भएको बेलामा हाम्रो कोशी प्रदेशका साथीले निर्णय गरेर सहभागी हुनुभयो। त्यस विषयमा विभिन्न मत छन्।’’ 

अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट राजधानीकेन्द्रित आन्दोलन गर्ने बताउनुभयो। उहाँले शान्तिपूर्ण ढङ्गले जनदबाब सिर्जना गर्नेगरी आन्दोलन गरिने बताउनुभयो।