• १३ असोज २०८१, आइतबार

नेपाल भाषाका हजारौँ किताब ई-लाइब्रेरीमा

blog

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागमा ई–लाईब्ररीको उद्घाटन गरिँदै । तस्बिर : मनोनरत्न शाही

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २६ गते । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी पुस्तकहरूलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई-लाइब्रेरीको बिहीबार उद्घाटन कार्यक्रममा उपप्रमुख डंगोलले नेपाल भाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

त्रिवि नेपाल भाषा केन्द्रीय विभागले बनाएको ई-लाइब्रेरीमा काठमाडौँ महानगरपालिकाले सहकार्य गरेको छ । कामनपाले ई-लाइब्रेरी बनाउन अहिले ५० लाख रुपियाँ उपलब्ध गराएको र यसलाई ‘अपग्रेड’ र ‘अपडेट’ गर्दै जानको लागि महानगरपालिका थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि डंगोलले व्यक्त गर्नुभयो ।

यसैगरी त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करिब चार हजार पुस्तकहरू ई-लाइब्रेरीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृति सम्बन्धी लेखिएका हरेक पुस्तकहरू, पुराना थ्यासफू लगायतका ऐतिहासिक लिखित सामग्रीहरू खोजी खोजी यसमा अपलोड गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

यसैगरी उपप्राध्यापक डा. वज्रमुनि बज्राचार्य, पाटन संयुक्त क्याम्पसका प्रमुख डा. लक्ष्मण वीर सिंह कुँवर, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवाली, प्रमुख, नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेपालभाषा केन्द्रीय विभागको विद्यार्थी सङ्गठन लुमन्ति दबूका अध्यक्ष रामेश्वर श्रेष्ठलगायतले आआफ्नो विचार राख्नुभयो ।


गोरखापत्रकर्मी शाक्य पुरस्कृत

सोही कार्यक्रममा गोरखापत्रकर्मी प्रजित शाक्यलाई त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागले पीयूष पदक र श्रेष्ठ पदकबाट सम्मानित गरेको छ । नेपालभाषा स्नातकोत्तर विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सो सम्मान दिइने परम्परा रहेको छ ।

अनिल स्थापित र राकेश मास्केले पनि सो सम्मान पाउनुभयो । यसैगरी, उत्कृष्ट अनुसन्धानलाई सत्यहिरा र योगवीर सिंह विद्वत्वृत्ति पुरस्कारका साथै पुष्पदेवी छात्रवृत्ति तथा खैगुलि छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।