• १६ भदौ २०८१, आइतबार

सोह्रौँ योजनाको तयारी

साक्षरता दर बढाउने महत्वाकाङ्क्षी लक्ष्य

blog

काठमाडौँ, पुस २५ गते । राष्ट्रिय योजना आयोगले १६ औँ योजनामा पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर शतप्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ । १६ औँ योजनामा शिक्षा र स्वास्थ्य विषयका बारेमा सोमबार र मङ्गलबार भएको छलफलमा आयोगले छलफलका लागि प्रस्तुत गरेको मस्यौदामा यस्तो दर शतप्रतिशत पुर्याउने उल्लेख छ ।  

अहिले पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर ७६.२ प्रतिशत मात्रै छ । आर्थिक वर्ष २०८५-८६ सम्ममा यसलाई शतप्रतिशत पुर्याउने आयोगले लक्ष्य लिएको हो । यसै गरी १६ औँ योजनाले शिक्षण सिकाइमा सबै विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउने लक्ष्यसमेत अघि सारेको छ । 

अहिले सहरी क्षेत्रका विद्यालय इन्टरनेटको पहुँच पुगे पनि ग्रामीण विद्यालयमा इन्टरनेटको पहुँच न्यून छ । यस्तो दर हाल ३५.९ प्रतिशत रहेकोमा पाँच वर्षमा शतप्रतिशत पुर्याउने लक्ष्य राख्न लागिएको हो । मस्यौदामा समेटिएको यो विषय अन्तिम टुङ्गो भने लागिनसकेको आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बताउनुभयो । 

शिक्षाको बजेट सत्र प्रतिशत

शिक्षा क्षेत्रमा सरकारले कुल बजेटको १०.९५ प्रतिशत बजेट विनियोजन गरेकोमा यो हिस्सालाई आगामी पाँच वर्षमा बढाएर १७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । प्रस्ताव अनुसार ७६.९ प्रतिशत रहेको प्रारम्भिक बालविकास र शिक्षाको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिका पनि शतप्रतिशत पुर्याउने आयोगको लक्ष्य छ । 

उच्च शिक्षा प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा हाल २०.७२ प्रतिशत रहेकोमा यसलाई बढाएर २०८५-८६ सम्म ३० प्रतिशत पुर्याउने १६ औँ योजनाको मस्यौदामा उल्लेख छ । 

स्वास्थ्यमा सुधारको प्रयास  

आयोगका स्वास्थ्य हेर्ने सदस्य डा. आरपी विच्छाको अध्यक्षतामा सोमबार र मङ्गलबार छलफल भएको थियो । छलफलमा प्रस्तुत मस्यौदा अनुसार पाँचवर्षे आवधिक योजनाभित्र गम्भीर प्रकृतिका रोगको विश्वसनीय विशिष्ट स्वास्थ्य उपचार स्वदेशमै हुन सक्ने गरी स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ । 

सबै नागरिकमा स्वास्थ्य बिमा पुर्याउने लक्ष्यसहित आयोगले स्वास्थ्य सेवालाई सर्वव्यापी, पहुँचयुक्त र समतामूलक बनाउने लक्ष्य राखेको आयोगका सदस्य डा. बिच्छाले जानकारी दिनुभयो । विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई समेत स्वास्थ्य बिमामा समेट्ने लक्ष्य योजनामा समेटिएको छ ।

जिल्लास्तरका अस्पतालको स्तरोन्नति गरी न्यूनतम विशेषज्ञ सेवा उपलब्ध गराउने र सबै प्रदेशमा प्रेषण अस्पताल निर्माणको लक्ष्यसमेत १६ औँ योजनाले तय गर्ने भएको छ ।

मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा अबको पाँच वर्षभित्र ८५ पुर्याउने योजनाको लक्ष्य प्रस्तावित छ । मातृ मृत्युदर अहिले १५१ छ । सडक दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या प्रतिएक लाखलाई ६.२ मा झार्ने लक्ष्य छ । अहिले यो आँकडा ९.५ रहेको छ । आगामी पाँच वर्षमा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुर्याउने प्रस्ताव गरिएको आयोगले छ । अहिले ८० प्रतिशत रहेको छ । अहिले स्वास्थ्य बिमा कार्यव्रmममा नवीकरण दर ३९ प्रतिशत रहेकोमा पाँच वर्षभित्र यो ९० प्रतिशत लैजाने लक्ष्य छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्था भएका घरधुरी ७७ रहेकोमा यसलाई बढाएर ८६ पुर्याउने १६ औँ योजनामा प्रस्ताव गरिएको छ । 

आयोगले आगामी माघ मसान्तभित्र १६ औँ योजनालाई अन्तिम रूप दिने गरी तयारी तीव्र बनाएको आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।