अविनाश चौधरी
धनगढी, असार २६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले आफूले विश्वासको मत लिने वा नलिने विषयमा कानुनी बहस भइरहेको बताउनु भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित एक कार्यक्रममा उहाँले नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि विश्वासको मत लिने, नलिने विषयमा कानुनी रुपमा छलफल भइरहेको बताउनुभएको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी बर्खास्तमा परेपछि नाउपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संसदीय व्यवस्थामा सत्ता साझेदार कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पद्मा रहि रहन सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर, नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदा मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहि रहेकाले विश्वासको मत लिन नपर्ने चर्चा पनि चलिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाहले प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर गठबन्धन सरकार बनाएको बताउनुभयो । उहाँले सरकारमा अन्य पार्टीलाई सहभागी गराइएको भन्दै थप्नुभयो,“सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी मन्त्रीपरिषद्मा फर्किने मलाई विश्वास छ ।”
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेर सरकारकै विषयमा कुराकानी गरेको मुख्यमन्त्रीको भनाइ थियो । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि असार २२ गते मुख्यमन्त्री शाह आफैले पनि बर्दियामा संरक्षक चौधरीसंग भेटघाट र छलफल गर्नु भएको थियो ।