काठमाडौँ, पुस २५ गते । टिनका साना टहरामा दुई वटा कोठा छन् । पछाडि पट्टि भान्सा र अगाडि खाना खाने ठाउँ छ । भान्सामा स्थानीय राजेन्द्र गुरुङ र उहाँका भाइलाई भ्याइ नभ्याइ छ ।
एकातिर कराहीमा ट्राउट माछा तारिँदै थियो अर्कातिर खानाको तयारी । तरकारी र सलाद काटिँदै थियो । “ए माछा डढ्ला है,” राजेन्द्रले भाइलाई सम्झाउनुभयो । पाकेको माछा थालमा खन्याउँदै अर्को खेप कराहीमा राख्दै भन्नुभयो, “आज तल जान पाइएन, दुई किलो माछाले के पुग्ला र खै ? ”
एक वर्षअघि कहिलेकाहीँ देखिने पर्यटक अचेल दिनहुँ जस्तै आउन थालेपछि गुरुङ परिवारको दिनचर्या फेरिएको हो । त्यस दिन २५ जनाभन्दा बढी आगन्तुक एकैचोटि धाप ड्याम हेर्न र घुम्न आइपुगेका थिए । उनीहरू पाँच मिनेटमाथिको ताल र त्यहाँको सौन्दर्यमा रमाएर फर्कुन्जेल खाना बनाइसक्नुपथ्र्यो ।
बारीमै फलेको साग, आलु, काउलीका तरकारी, आलुको भुजिया, पापड, टिमुर हालेर पिँधेको गोलभेँडाको अचार र मुलाको खाँदेको अचारसँगै तातो भातको थाल हेर्दै रहरलाग्दो थियो । “खाना ढिला भएकाले भोकाएका आगन्तुकले माछा पहिल्यै खाई भ्याए । साहुनी पूजा गुरुङले भन्नुभयो, “माछा सकिए पनि लोकल कुखुराको मासुको झोल बनाएका छौँ ।” आगन्तुकले स्थानीय परिकारको स्वाद लिएर खाए ।
पहिले आकलझुकल मात्रै आगन्तुकको मुख देख्न पाउने गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको त्यो छेउमा अचेल आन्तरिक र बाह्य पर्यटकको ‘जक्सन’ नै बनेको छ । निकुञ्जभित्र धाप ड्याम बनेपछि सुन्दर ताल हेर्ने र हाइकिङमा रमाउनेको लर्को बढेको हो ।
निकुञ्ज सकिनेबित्तिकै सुरु हुने मध्यवर्ती क्षेत्रको पहिलो कुनामा गुरुङ परिवारको होटल छ । धाप ड्यामको ताल हेरेर फर्किएपछि होटल परिसरबाट गौरीशङ्कर हिमशृङ्खलाको लहर बिहानैदेखि अपराह्नसम्म सेता हिउँले झलल हेर्ने व्यवस्था मिलाइएको छ । आगन्तुकले खाना पाकुन्जेल हिमाल हेर्नकै लागि बनाइएको टाँड र प्रेम प्रतीकमा फोटो खिचेर यात्राको स्मृतिलाई फोटोमा जीवन्त राख्छन् । कतिपय देखिएजस्तै सुन्दर हिमाल फोटोमा सजाउन यत्न जारी राख्छन् ।
यसरी होटल राखेको छ वर्ष बित्यो तर एक वर्षयता धेरै मानिस आउन थालेपछि सो परिवारको दिनचर्या व्यस्त बनेको छ । राजेन्द्रले भन्नुभयो, “पहिले फाट्टफुट्ट आउँथे, खाना बनाएर एक निद्रा निदाउन पनि भ्याउँथ्यौँ, तर अहिले त्यस्तो हुन्न ।” व्यस्तता बढेपछि सहरमा वेटरको काम गर्ने भाइलाई काम गर्न बोलाएको उहाँले सुनाउनुभयो ।
काठमाडौँबाट नजिक भएकाले पनि प्रकृतिमा रमाउनेका लागि त्यो ठाउँ अहिले आकर्षणको केन्द्र बन्दै छ । पहिलेको जङ्गलमा ताल थपिएपछि निकुञ्जको सुन्दरतामा सुगन्ध थपिएको स्थानीय बताउँछन् । नुवाकोटबाट घुम्न आउनुभएकी भगवती तामाङले ठाउँजस्तै यहाँको खाना पनि रसिलो रहेको अनुभव सुनाउनुभयो ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले खेतीपातीमा हरेक दिन गर्ने विनाशले दिक्क बनेका स्थानीयका लागि होटल व्यवसाय विकल्पका रूपमा देखिएको छ । व्यक्तिगतभन्दा पनि अलिक ठुुलै रिसोर्ट बनाएर मर्कामा परेका स्थानीयलाई गाउँमै रोजगारी दिने वातावरण सरकारले बनाइदिए सहज हुने स्थानीय कुमार गुरुङ बताउनुहुन्छ तर स्थानीयले आफैँ ठुलो रिसोर्ट खोल्न सक्दैनन् । होमस्टे बनाउन भने सक्छन् । त्यसका लागि तालिम, सिप, प्रारम्भिक लगानीको खाँचो गाउँलेका लागि आवश्यक रहेको स्थानीय युवा रुपेश गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै संस्कार र संस्कृति होमस्टेमा देखाउन सक्थ्यौँ ।”
त्यो क्षेत्रमा गुरुङ र तामाङ समुदायको दुई वटा छुट्टा छुट्टै बस्ती रहेकाले पनि पर्यटकीय गाउँको प्रचुर सम्भावना रहेको छ । उहाँका अनुसार ट्राउट माछा एक किलोको एक हजार एक सय रुपियाँ छ । लोकल कुखुरा एउटाको चार हजार रुपियाँ पर्छ । कुखुरा र ट्राउट पालनले पनि गुरुङ परिवारको जस्तै अन्य परिवारको जीवन फेरिन सक्छ ।
स्थानीयले सुनाएजस्तै निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले पनि पछिल्लो समय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताउनुुभयो । गत आर्थिक वर्षमा मात्र तीन लाख जनाभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अझ धाप ड्यामको ताल बनेपछि त्यही हेर्न आउने पर्यटक बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । पर्यटक आउनु राज्यका लागि मात्र होइन, स्थानीयका लागि पनि राम्रो आयस्रोत बन्दै गएको उहाँले जानकारी दिनुभयो ।