• १३ असोज २०८१, आइतबार

भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५९ करोड बढी निकासा

blog

सानीभेरी गाउँपालिका-१ मा निर्माण भएको भूकम्प पीडितको अस्थायी आवास । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, पुस २२ गते । रुकुमपश्चिममा भूकम्प पीडितहरूको अस्थायी आवास (टहरा) निर्माणको लागि हालसम्म ५९ करोड दुई लाख रुपियाँ निकासा भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । 

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले दिनुभएको जानकारी अनुसार २३ हजार ६०८ जना लाभग्राहीको लागि पहिलो किस्ता बापतको रकम पठाइएको हो । पठाइएको उक्त रकमबाट स्थानीय तहले २१ हजार १२५ जना लाभग्राहीको खातामा रुपियाँ जम्मा गरिसकेका छन् । 

निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालले चौरजहारी नगरपालिकामा छ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा छ हजार १६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भइसकेको बताउनुभयो । त्यसैगरी, आठबिसकोट नगरपालिकामा सात हजार लाभग्राहीको लागि पठाइएको १७ करोड ५० लाख रुपियाँ सात हजार जनाकै खातामा जम्मा भएको छ । मुसीकोट नगरपालिकामा एक हजार ३०५ जना लाभग्राहीको लागि पठाएको तीन करोड २६ लाख २५ हजार रुपियाँमध्ये ६३४ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ । 

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा चार हजार ५७३ जना लाभग्राहीको लागि ११ करोड ४३ लाख २५ हजार रुपियाँ पठाइएको छ । उक्त सबै रकम पालिकाले लाभग्राहीको खातामा जम्मा गरेको छ । त्रिवेणी गाउँपालिकामा पनि दुई हजार ७५२ जना जना लाभग्राहीको छ करोड ८८ लाख रुपियाँ सबै लाभग्राहीको खातामा पुगेको छ । 

बाँफिकोट गाउँपालिकामा एक हजार ६९९ जना लाभग्राहीको लागि पठाइएको चार करोड २४ लाख ७५ हजार रुपियाँ कुनै पनि लाभग्राहीको खातामा पुगेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरुवा भएर अन्यत्रै गएको र नयाँ नआएकोले उक्त रकम लाभग्राहीले पाउन सकेका छैनन् ।

दश हजार बढी अस्थायी आवास निर्माण

सरकारले उपलब्ध गराएको अनुदान रकमबाट जिल्लामा हालसम्म दश हजार ४२३ वटा अस्थायी आवास निर्माण भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सात हजार ११७ वटा आवास निर्माण हुँदैछन् । निमित्त प्रमुख जिल्ला अधिकारी बढुवालले हालसम्म आठबिसकोट नगरपालिकामा तीन हजार १४ वटा अस्थायी आवास बनेका र चार हजार एक सय आवास निर्माणको चरणमा रहेको जनाउनुभयो । त्यसैगरी, चौरजहारी नगरपालिकामा दुई हजार २८९ अस्थायी आवास निर्माण सम्पन्न हुँदा ३१५ वटा निर्माण भइरहेका छन् । मुसीकोट नगरपालिकामा हालसम्म २४ वटा अस्थायी आवास निर्माण भएका छन् भने ४८ वटा निर्माण हुँदैछन् । 

त्यस्तै सानीभेरी गाउँपालिकामा चार हजार ४१ अस्थायी आवास निर्माण भएका छन् भने दुई हजार २७ वटा निर्माण हुँदैछन् । प्रशासन कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकामा ९३८ अस्थायी आवास निर्माण भएका छन् भने ५५७ वटा आवास निर्माणको चरणमा छन् । बाँफिकोटमा गाउँपालिकामा ११७ लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएका छन् भने ४० वटा निर्माण हुँदैछन्।