• २८ वैशाख २०८१, शुक्रबार

उत्पादनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने छौँ

blog

चितवनको कालिका नगरपालिका पहाड र तराईको सम्मिश्रण भएको क्षेत्र हो । यस पालिकाले ठुला कामभन्दा जनताका साना कामलाई उत्पादनसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । पहिले पालिकाको वडा नं. ६ को अध्यक्ष भएर काम गर्नुभएका विनोद रेग्मी २०७९ को स्थानीय तहको निर्वाचनबाट पालिका प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँसँग गोरखापत्र दैनिकका लागि चितवन समाचारदाता शालिग्राम नेपालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

वडाध्यक्षदेखि पालिका प्रमुखसम्मको जिम्मेवारी सम्हाल्नुभएको छ । पालिकालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? 

मैले यहाँको समस्या र समाधानको विषयका बारेमा राम्रोसँग बुझेको छु । हामी धेरै ठुला कुरा गर्दैनौँ । स्थानीयले आत्मनिर्भर हुनु पर्छ, रोजगारीका लागि देशबाहिर जान नपरोस्, परिवारसँगै बस्न पाइयोस् भन्ने चाहना राख्नुभएको छ । त्यही चाहनालाई पूरा गर्ने अभियानमा मैले काम गर्दै आएको छु । निरन्तर चल्ने विकास निर्माणको काम भइराखेको छ । 

पालिकावासीको चाहना अनुसार के काम गर्नुभएको छ ? 

कृषिलाई आत्मनिर्भर बनाएर उत्पादित बस्तु बिक्री गरेर आम्दानी बढाउने अभियानमा लागेको छु । आफ्नै घरमा बसेर विदेश सरह आम्दानी गर्न सक्ने गरी काम गर्दै आएका छौँ । यहाँको भूवनोट अनुसारको कृषि खेती गर्न लगाएर आम्दानी बढाउने काम गरेका छौँ । 

कृषि अन्तर्गत कुन क्षेत्रमा कसरी आम्दानी बढाउने काम गर्नुभएको छ ? 

पालिकाले पचास प्रतिशत अनुदान दिएर सयपत्री फूलको व्यावसायिक खेती गर्न प्रोत्साहन गरेको छ । किसानले फूल खेतीबाटै लाखौँ रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । यहाँ उत्पादन भएको फूल विदेशमा समेत निर्यात भएको छ । त्यस्तै गरी हामीले गोठ सुधार, दुधमा अनुदान र घाँस खेती गर्न बिउ निःशुल्क वितरण गरेका छौँ । कृषि औजार निःशुल्क दिएका छौँ, दुधमा अनुदान दिएपछि व्यावसायिक रूपमा गाईपालन गर्ने कृषकको सङ्ख्या वृद्धि भएको छ । वार्षिक रूपमा दुधबाटै २५ करोड रुपियाँ आम्दानी हुने गरेको छ । 

कृषि अन्तर्गत पशुको क्षेत्रमा उल्लेख्य काम के गर्नुभएको छ ? 

‘लम्की स्किन’ रोगले आव्रmान्त गाईवस्तुलाई रोगबाट मुक्त बनाएका छौँ । पालिकाको खर्चमा यस क्षेत्रमा भएका सबैै गाईमा भ्याक्सिन (खोप) लगाएर ‘लम्की स्किन’ मुक्त पालिका बनाएका छौँ । यस पालिकामा त्यो रोगबाट एउटा गाई पनि मरेको छैन । रोगले गर्दा दुध उत्पादनमा कमी आएको छैन । त्यसैले हामीले कुरा होइन काम गरेर देखाउनु पर्छ भन्ने मान्यता राख्द छौँ । रेबिजविरुद्ध खोप लगाएर कुकुरबाट रेबिज रोग लाग्ने वातावरण बन्द गराएका छौँ । भुस्याहा कुकुरको बन्ध्याकरण गरेर सम्भावित रोग तथा समस्याबाट मुक्त गराउने योजनामा छौँ ।  

च्याउ खेती हुने पालिका भनेर चिनिएको छ नि ? 

च्याउ उत्पादनमा लागत कम गर्न पालिकाले सामग्री वितरण गर्ने काम गरेको छ । पदमपुरको च्याउ भनेर चितवन, पोखरा काठमाडौँमा परिचित छ । च्याउको बिउ उत्पादन गर्न प्रविधिको विकास गरेका छौँ । व्यावसायिक तरकारी खेती उत्पादन गर्न सहयोग गर्दै आएका छौँ ।  

कृषकका समस्या समाधानका लागि के गर्नुभएको छ ? 

रासायनिक मलका लागि कार्ड प्रणाली लागु गरेका छौँ । कालिका नगरपालिकामा सहुलियतमा पाउने रासायनिक मलमा कुनै समस्या छैन । त्यस्तै पालिकाको पहाडी क्षेत्रमा खाद्यान्न वितरण होइन उत्पादनमा जोड दिएका छौँ । चाउचाउ ल्याएर चेपाङ तथा गरिबलाई दिने होइन, त्यस स्थानमा फल्ने फलफूलको बिरुवा दिनु पर्दछ । पहाडी क्षेत्रमा जे फलफूल हुन्छ त्यही बिरुवा वितरण गरेर उनीहरूलाई उत्पादन गर्नका लागि जोड गरेका छौँ । हामीले काम गर्न चाहनेहरूका लागि उत्पादन हुने गरी रुचि अनुसारको अनुदान दिँदै आएका छौँ । 

रोजागारी सिर्जनातर्फ के गर्नुभएको छ ? 

अहिलेको युवामा श्रममा विश्वास नगर्ने, देखासिखी आडम्बर गर्ने बानीको विकास भएको छ । यो सबैभन्दा घातक हो । पालिकाले यसलाई नियन्त्रण गर्न खोज्दै छ । त्यो भनेको भोजभतेरमा खाना फाल्न दिएका छैनौँ । खाना फाले निश्चित रकम जरिबाना लगाउने व्यवस्था गरेका छौँ । खाना फाल्न नपाउने गरी ब्यानर राख्नैपर्ने बाध्यकारी नियम लागु गराएका छौँ ।

कुनै पनि युवाले कृषि वा अन्य विषयमा काम गर्छु भनेर योजना ल्याएमा पालिकाले सहयोग गर्न तयार छ । कृषिमा अनुदान र सहयोग नगरेको भन्ने छैन । रोजगारीको सिर्जनाका लागि सबैभन्दा पहिला काम गर्न चाहने व्यक्ति तयार हुनु पर्दछ । 

प्राकृतिक स्रोतको संरक्षण कसरी गर्नुभएको छ ?

अवैध रूपमा नदी तथा खोलाका सामग्री निकाल्नेहरूलाई रोकेर त्यस्ता सामग्री पालिका आफैँले थुपारेर राखेको छ । आवश्यक परेको समयमा ती सामग्री प्रयोग गर्ने गरेका छौँ । खास गरी बर्सातको समयमा गिट्टी, बालुवा आवश्यक हुन्छ । बर्सातमा नदीको बाढीसँगै आएको गिट्टी, बालुवा, ग्राभेल पालिका आफैँले हिउँदमा निकालेर थुपार्ने र जुनसुकै समयमा प्रयोग गर्न मिल्ने गरेका छौँ । यो हाम्रो सम्पत्ति जोगाएका हौँ । 

पर्यटन तथा पूर्वाधारलाई कसरी अगाडि बढाउनुभएको छ । 

पालिकाको आम्दानीका रूपमा हामीले पर्यटनलाई पनि लिएका छौँ । यस क्षेत्रको पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्ने, बाटो र बास होटल निर्माणका लागि उचित व्यवस्था मिलाएका छौँ । सडक निर्माण भएका छन् । पालिकाको ११ वटा वडामा आफ्नै भवन निर्माण भइसकेको छ । स्वास्थ्य चौकी सबै वडामा छन् । पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, बजार तथा अन्य क्षेत्रलाई ध्यान दिएर काम गरेको छ । 

कस्तो पालिका बनाउने यहाँको  योजना छ ?  

भनसुन र पहुँचका भरमा काम गर्ने बानीको अन्त्य गर्ने छु । एउटा विधि र प्रणालीमा पालिका सञ्चालन भएको बनाउने छु भने कृषि, शिक्षा, पूर्वाधारमा सक्षम पालिका बनाउने छु ।