• १३ साउन २०८१, आइतबार

पोखरामा कृषि औजार र प्रविधि प्रदर्शनी

blog

पोखरामा कृषि औजार र प्रविधि प्रदर्शनीमा राखिएको कृषि उपकरण । तस्बिर: फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, पुस २० गते। पोखरामा प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी सुरु भएको छ।  पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबार आयोजित समारोहमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी प्रदर्शनी सुरुआत गर्नुभयो।

पुस २२ गतेसम्म चल्ने प्रदर्शनीमा ७० वटा स्टल छन्। एक हजारभन्दा बढी प्रकारका कृषि सामग्री प्रदर्शनीमा राखिएका छन्। मन्त्री जिसीले कृषि नेपालीको जीवनरेखा भएको उल्लेख गर्दै यसको आधुनिकीकरण व्यावसायिकरण जरुरी भएको औँल्याउनुभयो। 

गण्डकी सरकारले दोस्रो पञ्चवर्षीय योजनामा कृषिलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरिसकेको छ। मन्त्री जिसीले अहिलेसम्म कृषिमा दिइँदै आएका अनुदानको सदुपयोग नभएको स्विकार्दै त्यसमा पुनरावलोकन जरुरी भएको जनाउनुभयो। “बाख्रा एक जनाको, खोर अर्काको, अनुदान अर्काले लिने अवस्था बन्यो। पुराना किसान निराश र युवामा पनि वितृष्ण देखियो। यसलाई बदल्नैपर्छ,” उहाँले भन्नुभयो।

यसअघि देशका विभिन्न भागमा कृषि औजार प्रविधिको प्रदर्शनी गर्दै आएको नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घ (नामिया) ले यो प्रदर्शनी आयोजना गरेको हो। नामियाका अध्यक्ष कृष्ण शर्माले पहिलोपटक प्रादेशिक स्तरमा पोखराबाट प्रदर्शनी सुरु भएको जानकारी दिनुभयो। 

प्रदर्शनीमा कृषि औजार, प्रविधि र कृषिसँग सम्बन्धित कार्यालय, वित्तीय संस्था र बिमा कम्पनीका स्टल छन्। प्रदर्शनीबाट पाँच करोडको कारोबार हुने अपेक्षा गरिएको छ। 

प्रदर्शनीमा नेपालका रैथाने बालीहरू पनि राखिएका छन् भने कृषि यन्त्र उत्पादक, नयाँ प्रविधि र कृषि क्षेत्रका चुनौती र अवसरबारे छलफलसमेत हुँदै छ। 

एकै ठाउँमा आधुनिक प्रविधि, कृषि औजार र सरकारी निकायका सेवाबारे जानकारी गराउने, नीति निर्माता र किसानलाई छलफल गराउने भएकाले मेला फलदायी हुने पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरिया बताउनुहुन्छ। “आफूलाई कस्ता सामग्री चाहिन्छ, कसरी प्रयोग गर्ने भन्ने थाहा पाउन पनि मेला उपयोगी हुनेछ,” उहाँ भन्नुहुन्छ।