• २४ असार २०८२, मङ्गलबार

व्यावसायिकता जोगाउने चुनौती

blog

नेपालमा गोरखापत्रको प्रकाशनसँगै आजभन्दा १२५ वर्षपहिले श्रीगणेश भएको पत्रकारिता आज पनि जिम्मेवार र परिपक्व छ । जिम्मेवार र परिपक्व हुँदाहुँदै पनि कतिपय समाचार र विचार सम्प्रेषणमा देखिने कमजोर र उरन्ठेउलोपनले छोडेको छैन । पत्रकारितामा विश्वसनीयता र नैतिकताका विषयमा जति दरो र खरो प्रश्न उठ्ने गरेका छन् व्यावसायिकतासँग सम्बन्धित विषयमा पनि त्यतिकै छन् । पत्रकारितामा नैतिकता र व्यावसायिकतामा जति गम्भीर चुनौती देखा परेका छन् तिनलाई समयमै निस्तेज गर्न सकिएन भने यसको भविष्य सुखद छैन । 

सञ्चार माध्यमबाट दिइने सूचनाप्रति आमजनताको विश्वास टुट्दै जानु सबैभन्दा खतरनाक पक्ष हो । कतिपय सञ्चार माध्यमका पत्रकारले तथ्यको जाँच र परीक्षण नै नगरी भाइरल हुन हतारमा समाचार प्रकाशित गर्छन् । त्यसले गर्दा आमसञ्चार माध्यममा आएका गलत सूचनाले समाजमा नकारात्मकता फैलन्छ, फैलिइरहेको पनि छ । आफूसमक्ष आएका सूचनालाई दोहोरो परीक्षण नगरी असत्य, तथ्यहीन र हावादारी कुरा समाचारका रूपमा प्रवाह भएमा त्यसको असर समाजमा एकातिर नकारात्मक असर पर्छ भने अर्कोतिर सञ्चारमाध्यम माथि नै विश्वासको सङ्कट उत्पन्न हुन्छ ।  

सन् १९२३ भन्दा अगाडिसम्म संयुक्त राज्य अमेरिकामा पत्रकारिता र प्रेस जगत्मा ठुलो हलचल पैदा भयो । समाचारदाताले त्यहाँका अखबारमा मनमौजी कुरा प्रकाशित गराउन थाले । आफूसित रिस उठेका मानिसलाई पेटका किरा मर्ने गरी गालीगलौज गर्ने, तथानाम सत्तोसराप गर्न थाले । परिणामस्वरूप पत्रकारिताले जनविश्वास गुमाउन थाल्यो । अखबारमा प्रकाशित हुने उत्तरदायित्वहीन, प्रेस स्वतन्त्रताका विरुद्धमा, स्वायत्तताको धज्जी उडाएर, लेखनमा बेइमानी, असत्य र अशुद्ध र पक्षपातपूर्ण व्यवहारले पत्रकारिता दूषित, अशिष्ट र छाडा बन्दै गएको अवस्थामा अमेरिकामा बसेर व्यावसायिक पत्रकारिता गर्ने सम्पादकको टाउको दुख्यो  । ती समाचारपत्रका सम्पादकले पत्रकारिताको संरक्षण, संवर्धन र विकासमा योगदान गरी पत्रकारिताको साख जोगाउन अमेरिकी सम्पादक समाज गठन गरी पत्रकारितालाई पर्चाकारितामा अनुवाद हुनबाट जोगाए । पेसालाई सुन्दर लिगमा हिँडाउन पत्रकारले पालन गर्नुपर्ने नीतिका सात बुँदा प्रतिपादन गरे । त्यसलाई ‘क्याननस अफ जर्नालिजम’ भनिन्छ । ती सात बुँदामा उत्तरदायित्व, प्रेस स्वतन्त्रता, स्वायत्तता, इमानदारिता, निष्पक्षता, स्वच्छता र शिष्टता समावेश गरियो । समाचार सत्य, प्रमाणमा आधारित र यथार्थपरक हुनुपर्ने, पत्रकारले सबै पक्षलाई बराबरी अवसर दिनुपर्ने तथा व्यक्तिगत विचार वा पूर्वाग्रहले समाचार प्रभावित हुन नदिने, राजनीतिक, व्यापारिक वा अन्य कुनै दबाबमा नपरी स्वतन्त्र रूपमा काम गर्नुपर्ने तथा विज्ञापनदाता वा लगानीकर्ताको दबाबले सम्पादन स्वतन्त्रता प्रभावित हुनु नहुने व्यवस्था पनि गरियो । पत्रकार वा मिडियाले आफ्नो गल्तीको आफैँ जिम्मा लिनुपर्ने तथा समाचार गलत भएमा क्षमायाचनाका साथ सच्याउने, पीडित, बालबालिका तथा संवेदनशील वर्गको गोपनीयता र सम्मान कायम रख्नुपर्ने बुँदा पनि समेटिएको थियो । पत्रकारिता जनताको सेवा र सूचनाको अधिकारका लागि हुनुपर्ने, नाफाका लागि मात्र हुन नहुने, पत्रकारले कुनै पनि किसिमको घुस, उपहार वा लाभको लोभमा काम गर्नु नहुने कुरा ती सात बुँदामा समेटिएको थियो । 

अमेरिकी सम्पादक समाजबाट ‘क्याननस अफ जर्नालिजम’ आएपछि जिम्मेवार सम्पादकबाट प्रशिक्षित भएर ती समाचारदाताका पनि विवेकका आँखा खुल्दै गए । सम्पादक मात्र नभएर समाचारदाता पनि जिम्मेवार बन्दै जान थाले । समाचारदाताले समाचार र विचार सङ्कलन गर्दा त्यस विषयमा उठ्न सक्ने प्रश्नबारे पूर्ण जवाफदेही हुनुपर्ने, समाचारदाताले निरपेक्ष रूपमा सङ्कलन गरेका तथ्यलाई अनुभवी, पाका र पोख्त सम्पादकले विविध स्वादका परिकारमा परिणत गरिदिन्छन् । यो नै पत्रकारिताको सौन्दर्यशास्त्रीय पक्ष हो ।  

पत्रकारिता व्यवसायमा विविध क्षेत्रबाट हुने र हुन सक्ने आर्थिक दबाबले पत्रकारको स्वतन्त्रता र निष्पक्षता प्रभावित हुन सक्छ । विज्ञापनदाताको चासो, चिन्ता र हस्तक्षेप अनि राजनीतिक दलको तीव्र दबाबमा सम्पादकीय स्वतन्त्रता कुण्ठित हुन नहुने मान्यता छ । विज्ञान प्रविधिको विकाससँगै आजको युगमा विविध सामाजिक मिडियाको उदय भइरहेको छ । सामाजिक मिडियाको विकाससँगै नेपालमा मात्र होइन विश्व पत्रकारितामा नवीन अवसर र चुनौतीका चाङ लागेका छन् । पत्रिका पसलमा गएर अखबार किनेर ल्याउनेभन्दा मोबाइलमा एक क्लिकमा सामाजिक सञ्जाल रोजी रोजी पढ्न, सुन्न र हेर्न मात्र होइन तत्कालै प्रतिक्रिया दिन सक्ने हुनाले मानिस समाचार र विचारका लागि सामाजिक सञ्जालमा भर पर्न थालेका छन् । यसले गर्दा परम्परागत अखबारी पत्रकारिताको मूल्य कमजोर बन्न थालेको छ । 

आज विश्वविख्यात अखबार पनि हार्ड कपीमा नभएर सफ्ट कपीमा अनलाइनमा परिणत हुँदै गएका छन् । हाम्रा अखबारले समयमै आफ्ना सेवालाई अनलाइन बनाएका छन् । जुन तालमा बाजा बज्छ, मारुनीले त्यही तालमा नाच्नु स्वाभाविक हुन्छ । हाम्रो पत्रकारिता सुसंस्कृत, परिष्कृत र समृद्ध बन्दै गए पनि बाछिटाका रूपमा नैतिक मानक दिनानुदिन ओरालो लाग्दै गएका छन् भन्नुपर्दा मनै कुँडिन्छ । सामाजिक सञ्जालमा केही सञ्चारकर्मीबाट आफूलाई मन नपरेका पक्षमाथि भए नभएका कुरा तोडमोड गरेर गोयबल्स शैलीमा हुने गरेका प्रचारप्रसारले समाजलाई गलत दिशामा लैजान सहयोग पुगेको छ । असत्य कुरालाई पनि सत्य र सत्यलाई पनि असत्य, कपोकल्पित र भ्रामक रूपमा प्रस्तुत गरिदिँदा पाठक, दर्शक तथा श्रोतालाई दिग्भ्रमित पार्ने काम यदाकदा भइरहेको देखिन्छ । 

केही पत्रकारबाट एक लज्जा परित्याग गरेर सञ्चारकर्मीबाट कालोलाई सेतो र सेतोलाई कालो बनाउने जुन काम भइरहेको देखिन्छ, त्यसले समाजमा छिपाको घ्याम्पो फुटेर गरिएको कल्पित हल्ला पनि समाचार बनेका छन् । आलो घटनाको सत्यतथ्य, सन्तुलित र यथार्थपरक समाचार पनि ओझेलमा पर्ने कटु यथार्थ देखिन थालेको छ । नगण्य सञ्चारकर्मीको निहित स्वार्थको बन्धक बनी समाचार विकृत बन्यो भने घाटा कसलाई होला ? केही पत्रकारले कर्तव्य बिर्सिदिए भने हर्कतले सिङ्गो पत्रकारिताको गुणस्तरमा गिरावट आउने मात्र होइन किटानी साथ भन्न सकिन्छ, पत्रकारिता क्षेत्रकै निधारमा कलङ्कको कालो टीका लाग्छ । यो पेसालाई मर्यादित बनाउनु आमपत्रकारको धर्म हो ।

निर्भीक रूपमा समाचार र विचार प्रवाह गर्न लागिपरेका हाम्रा कैयौँ पत्रकारको सुरक्षा र स्वतन्त्रता प्रमुख चिन्ताको विषय बन्दै गएको छ । सत्यतथ्य र सम्प्रेषणीय समाचार वा विचार प्रवाह गर्दा पनि राजनीतिक र सामाजिक दबाबका कारण पत्रकारले आफ्नो कर्तव्य निर्वाह गर्न पनि कठिन महसुस गरिरहेका छन् । हाम्रो पत्रकारितामा अवसर र चुनौती दुवै छन् । अवसरलाई संरक्षण गर्दै उत्पन्न चुनौतीको दीर्घकालीन समाधान गर्न सम्बन्धित सञ्चारकर्मी, आमसञ्चारमाध्यमका सञ्चालक, सरकार, निजी क्षेत्र, नागरिक समाज र विविध तह र तप्काका बुद्धिजीवी मिलेर समाधानको बाटो तय गर्न अब ढिलाइ गर्न हुँदैन । स्वच्छ पत्रकारितालाई उकेरा लगाएर यसमा विद्यमान कमीकमजोरीका पहेँला पात फ्याँक्नु पर्छ । समग्र पत्रकारितालाई विश्वसनीय र भरपर्दो बनाउने सामूहिक प्रतिबद्धता आजको आवश्यकता हो । पत्रकारितालाई नैतिकताको गोरेटोमा अग्रसर गराउन विभिन्न सङ्घ संस्था, सरकार र समाजले मिलेर काम गर्न अब ढिलो भयो भने भोलि पछुताउनुभन्दा अर्को विकल्प रहने छैन । अनि मात्र पत्रकारितामा नैतिकता र व्यावसायिकताको विकास गर्न सकिने छ ।