• २३ वैशाख २०८१, आइतबार

तीक्ष्ण स्मरण शक्तिका सुयोग

blog

सामाजिक सञ्जाल फेसबुकमा सुयोगको दुई मिनेटको सानो भिडियो छ । उक्त भिडियोमा सुयोगले सयौँ मान्छेको अगाडि उभिएर नहेरीकन नेपालको सातै प्रदेशको राजधानी, जनसङ्ख्या, जिल्ला, क्षेत्रफल, सङ्ख्या र जनसङ्ख्या भनिरहेको देख्न सकिन्छ । उनले चार्टमा देखाइएको कुरा फेरि सुल्टो भने जसरी नै उल्टोमा पनि भनेर उपस्थितलाई चकित पारेका छन् । उनको मेमोरी पावर अर्थात् कुनै पनि कुरा याद गरेर सम्झिरहन सक्ने क्षमता बढी देखिन्छ । 

सुयोग मैनाली जेम्स  स्कुलमा कक्षा ७ मा पढ्छन् । उनी विद्यालयमा पनि जेहेनदार विद्यार्थी नै हुन् तर उनलाई विद्यालयमा पनि पढेको कुरा सम्झेर परीक्षामा धेरै लेख्न पाए हुन्थ्यो भन्ने लागिरहेकै समयमा उनले मेमोरी किङ अर्पण शर्मासगँ मेमोरी पावर बढाउने टेक्निक सिकेका थिए । टेक्निक बुझेपछि सुयोगलाई पनि कुनै पनि कुरा घोकेर पढ्नु पर्दैन । सम्झिने टेक्निकले उनले केही महिनाअघिको विद्यालयको परीक्षामा पनि सबैभन्दा बढी अङ्क ल्याए । अहिले सामाजिक सञ्जालमा सुयोगको उक्त भिडियोको चौतर्फी प्रशंसा भइरहेको छ । सुयोगलाई अब जानेको बुझेको र सिकेको कुरा जीवनभरि नै सम्झिरहन पनि मेमोरी पावर बढाउनै पर्छ जस्तो लाग्छ । आउने परीक्षामा म धेरै आशावादी छु । उनले भने, “किनभने अब मलाई परीक्षामा पनि कसरी लेख्ने भन्ने तरिका थाहा भयो ।” 

मेमोरी पावर बढाउने टेक्निक आफू जस्तै पढ्ने उमेरका विद्यार्थीका लागि अति नै आवश्यक भएको उनको बुझाइ छ । शान्त वातावरणमा गहिरो ध्यान गरे पछि मात्र आफूले पढेका कुरा सम्झिन सक्ने हुनाले हरेक दिन ध्यान गर्ने बानी परेको पनि सुयोगले बताए । उनले मेमोरी पावर बढाउने उक्त टेक्निक सिक्नका लागि १२ दिन दुई घण्टाको अभ्यासमा सहभागी भएका थिए । मन, मस्तिष्क र सदमागी क्षमताको विकासमा हुने चमत्कारलाई राम्ररी बुझेका सुयोगले यस्तो टेक्निक हरेक विद्यालयमा अनिवार्य हरेक विद्यार्थीलाई सिक्ने अवसर हुने हो भने जीवनमा पढेका कुरा भविष्यमा व्यवहारमा समेत उपयोगी हुने सुयोगको बुझाइ छ । 

प्रस्तुति : लक्ष्मी खतिवडा