आइसक्रिम कोन (शङ्कु) ले कसरी रोगको असर कम गर्न मद्दत गर्दछ ? आइसक्रिम कोनको आविष्कार हुनुपहिले आइसक्रिमलाई ‘पेनी लिक्स’ भनिने पुनः प्रयोगीय सिसाका भाँडामा राखेर खान दिइन्थ्यो । जसबाट रोग फैलने र मानिस बिरामी पर्ने गर्थे किनभने ग्राहकले आइसक्रिम खाएपछि ती भाँडा पखालिँदैनथ्यो ।
पेनी लिक्स वास्तवमा इङ्ग्ल्यान्डमा सबैभन्दा कुख्यात आइसक्रिम रोग फैलाउने वस्तु थियो । नामले नै स्पष्ट छ आइसक्रिम को थोरै मात्राको मूल्य एक पैसा मात्र पर्दथ्यो । जस कारण थोरै आइसक्रिम खाँदा पनि क्षयरोग त्यत्तिकै सर्दथ्यो ।
सन् १८०० दशकको मध्यमा इङ्ल्यान्डमा आइसक्रिम ले लोकप्रियता हासिल गर्न सुरु गरेको थियो । कोनको आविष्कार हुनुपहिले आइसक्रिम विक्रेताले पेनी लिक्स नामक कपमा आइसक्रिम को ‘स्कुप’ हालेर दिइन्थ्यो । ती दिनमा मानिसलाई कीटाणुका बारेमा निकै कम जानकारी हुन्थ्यो ।
ग्राहकले आइसक्रिम खाइसकेपछि आफूले चाटेर जुठो पारेको पेनी लिक्स विक्रेतालाई दिन्थे र विक्रेताले त्यसलाई सफा नगरी अर्को ग्राहकलाई त्यसैमा आइसक्रिम हालेर दिने गर्थे । यस प्रकार पेनी लिक्स रोग फैलाउने उत्तम माध्यम बन्यो । सन् १८७९ मा बेलायती चिकित्सा रिपोर्टले सिसाका भाँडा सफाइ नगरी पुनः प्रयोग गरिँदा हैजा रोग फैलिने गरेको तथ्य सार्वजनिक गर्यो । क्षयरोगको भय लन्डनमा व्यापक भएपछि त्यहाँ पेनी लिक्समाथि प्रतिबन्ध लगाइएको थियो तर सन् १९२० को दशकमा आएर मात्र पेनी लिक्समाथि पूर्णतया प्रतिबन्ध लाग्यो ।
त्यतिबेलासम्म आइसक्रिम खाने नौलो भाँडा बजारमा आइसकेको थियो । ‘वफल कोन’ ले बजारमा पेनी लिक्सको स्थान लिन धेरै समय पनि लगाएन । ‘वफल कोन’ आजसम्म आइसक्रिम खानका लागि एक सुरक्षित भाँडाका रूपमा प्रचलित छ ।
–युवामञ्च