नेपालको अर्थतन्त्र कोरोनापछि समस्यामा परेकै हो तर यसलाई सङ्कटका रूपमा व्याख्या गर्ने गरिएको छ । जस्तो कि सेयर बजार घट्नु समस्या हो, सङ्कट होइन । जग्गाको अस्वाभाविक कारोबार कम हुनु राम्रो हो, सङ्कट हुँदै होइन । जग्गा उत्पादनको एउटा साधन हो । यसबाट लगान प्राप्त हुनु अस्वाभाविक होइन तर केही समयअघि दुई लाख रुपियाँमा बेचेको जग्गा १५ दिनपछि चार लाखमा, एक महिनामा आठ लाख रुपियाँमा किनबेच हुन्थ्यो । त्यसैले मानिसले ऋण खोजेर जग्गा किन्दा जग्गाको अस्वाभाविक मूल्य बढ्यो । यसमा पनि कमी आउनु आर्थिक सङ्कट हुँदै होइन । त्यसैले देश र आर्थिक गतिविधिमाथि नकारात्मक टिप्पणी नगरौँ । तथ्य र वास्तविकताको आलोचना वा विवेचना होस् तर हचुवाका भरमा सामान्य समस्यालाई पनि सङ्कटको भाष्यमा परिणत नगरौँ ।
नेपाल श्रीलङ्का बन्यो वा बन्दै छ भनी विभिन्न पत्रपत्रिकामा लेख्न थालेको दुई वर्ष भइसक्यो । अहिले अर्थतन्त्र बलियो अवस्थामा छ भने हिजो काल्पनिक सन्त्रास जगाउने स्वनामधन्य विद्वान्हरू कहाँ हुनुहुन्छ ? यो वर्ष अहिलेसम्मकै उच्च सङ्ख्यामा पर्यटक भित्रिएको अवस्था छ । जग्गामा नचाहिँदो किसिमले बढेको मूल्यवृद्धि रोकिएको छ । वैदेशिक रोजगारीमा जानेबाट आउने रेमिट्यान्सको रकम बढेको छ । यस्तो अवस्थामा अनावश्यक र नकारात्मक प्रचारबाजीलाई छाडेर यथार्थपरक राष्ट्रिय चिन्तन गरौँ । त्यसैले आशङ्का अनुमानको भरमा लेख्ने र प्रचार गर्ने परिपाटीबाट मुक्त हुनु पर्छ । विश्लेषण गर्दा कुनै कुराको वास्तविकतालाई आत्मसात् गर्ने बानी बसाल्नु पर्छ । अनुमानका भरमा त्रास फैलाउने प्रवृत्तिले लगानी गर्नेलाई हतोत्साहित बनाउँछ र क्रमिक रूपमा औद्योगिक र व्यावसायिक संस्कृति हामीबिचबाट पलायन हुने अवस्था आउन सक्छ ।
गलत काम वा गलत निर्णयको सबैबाट आलोचना हुनै पर्छ तर अनुमान गरेर नकारात्मकता फैलाउँदा उद्यम गर्न र लगानी गर्न चाहनेलाई मनोवैज्ञानिक त्रास सिर्जना हुन्छ । आर्थिक कारोबार त ठप्प नै हुन्छ । यही कारण हरेक अनुमान वस्तुनिष्ठतामा आधारित हुनु पर्छ । वर्तमान सरकार र परिपाटीलाई आलोचना नगरी नयाँ अवसर आउँदैन भन्ने होडमा देशभर काल्पनिक त्रास फैलाइएको छ । यही काल्पनिक त्रासले देशमा भविष्य छैन भनेर युवा निराश भएका हुन् । यी सबै नकारात्मक भावलाई रोकेर सकेसम्म यथार्थ र सकारात्मक सन्देश प्रवाह गरौँ ।
रोजगारी छैन । भएकाको पनि कमाइ ज्यादै न्यून छ । आयात तथा निर्यात दुवै व्यापारमा कमी आएको छ । अपेक्षाकृत रूपमा राजस्व सङ्कलन हुन सकेको छैन । अहिले यी समस्या समाधानको बाटोमा छन् । देशको शोधनान्तर बचत एक खर्ब ४७ अर्ब रुपियाँ हाराहारी छ । विदेशी मुद्राको सञ्चिति १२ अर्ब ७५ करोड रुपियाँ जति छ । मुद्रा स्फीति र मूल्य वृद्धि नियन्त्रित अवस्थामा छ । यो अवस्थामा विश्लेषकले पनि चुनाव नै जित्ने जस्तो गरी कुप्रचार गरेका छन् । कुनै पनि लेखका लेखक वा अन्तर्वार्ता दिने व्यक्ति राजनीतिज्ञ हो वा विज्ञ हो, स्पष्ट छुट्टिनु पर्छ । राजनीति गर्नेले आफ्नो पार्टीको स्वार्थ अनुकूल बोलेका हुन्छन् । त्यसलाई धेरै आलोचना नगरौँ तर आफूलाई स्वतन्त्र व्यक्तिका रूपमा उभ्याएर एकपक्षीय विश्लेषण गर्नेको विचार वा अन्तार्वार्ता प्रसारण वा प्रकाशित नगरौँ ।
आर्थिक वा राजनीतिक विश्लेषण गर्नेहरूले सूचनाको स्पष्ट स्रोत खुलाउनु पर्छ । अन्यथा अनुमानका भरमा ज्योतिषीको पाराले वा नेस्त्रोदमष्कका जस्ता भविष्यवाणी गर्ने प्रवृत्तिलाई त्यागिदिनु पर्छ । अनि मात्र समस्या समाधनको बाटो देखिन्छ । घट्दो उत्पादकत्व, घट्दो व्यापार र घट्दो रोजगारीका कारण आर्थिक समस्या देखिन्छ नै तर सबै समस्याको जड नै सरकार हो भने झैँ गरी अहिले हल्ला गरिएको छ । बर्सेनि कर्मचारीको सङ्ख्या थपिएको छ । पेन्सनधारीको सङ्ख्या पनि निरन्तर बढ्दो छ । वृद्धभत्ता बढ्दो छ । यी सबैले खर्च बढाएर अर्थतन्त्रमा दबाब परेकै छ । यसको समाधान उत्पादन वृद्धि, व्यापारमा वृद्धि, प्रविधिमा सुधार गर्नुको विकल्प छैन । यसमा सुधार त्यतिबेला मात्र सम्भव हुन्छ, जब युवा उत्पादन र सेवामा मेहनतका साथ लाग्छन् । हालै प्रधानमन्त्रीको सम्बोधनमा आगामी वर्ष पर्यटकको सङ्ख्या यो वर्षको भन्दा दोब्बर पु¥याउने उल्लेख छ । हो यसका लागि हरेक सरोकारवाला क्षेत्र तीव्र मेहनतका साथ प्रयासरत रहन जरुरी छ । आएका पर्यटकको शारीरिक, मानसिक र आर्थिक सुरक्षाको प्रत्याभूति दिने विषय, उनीहरूको रुचि अनुसारका सेवा सहज मूल्यमा उपलब्ध गराउने विषयमा सबै पक्ष जिम्मेवार बन्दै विश्वसामु पर्यटनको क्षेत्रमा नेपाल सुन्दर र सुरक्षित गन्तव्य हो भन्ने सन्देश सम्प्रेषण गर्न पो लाग्नु पर्छ । सोचलाई निरन्तर सम्भावनातर्फ मोड्दै जानु पर्छ न कि निराशा र नकारात्मकतातर्फ । कुरा नलुकाई भन्ने हो भने हामीहरू निरन्तर आफैँमाथि नकारात्मक भइरहेका छौँ । सम्भवतः यही नकारात्मकता हामीबिच करेलाको झाल झैँ जेलिएको छ । आफूले गरेका गल्ती कमजोरी सबैले कर्कलाको पातले पानी तर्काए जस्तो गरी तर्काउने, अरूका गल्तीलाई सर्वत्र उछाल्ने प्रवृत्ति घनीभूत हुँदै गएको छ, जुन देश विकासका लागि घातक हो ।
कुनै कुरा जति प्रयास गर्दा पनि सुध्रिन सक्दैन भने त्यो सङ्कट वा महामारी हो, जुन कुरा सरकार र जनता मिलेर समाधान गर्न सकिन्छ । देशले सङ्घीयता पाएको छ । गणतन्त्र पाएको छ । राष्ट्रप्रमुख पनि जनताकै छोराछोरी भएका छन् । थोरै भए पनि देशका युवाले आफ्नै मेहनत र ज्ञानबाट सफ्टवेयर बनाएर विश्व बजारमा बेचेर मनग्गे कमाएका छन् । यस्तो अवस्थामा हौसला दिनुपर्नेमा नकारात्मक सन्देश छर्नु आफैँलाई अपराध गर्नुसरह हो । कृषि, प्रविधि, पर्यटन, पर्वतारोहणमा हाम्रा प्रयासलाई निरन्तर जारी राखौँ, जुन तरिकाले भए पनि ‘फास्ट ट्र्याक’ लाई सम्पन्न गरौँ । पूर्वाधार विकासको फल अहिलेकै पुस्ताले अनुभव गर्न पाउने गरी गतिशील होऔँ । फलानो सरकारको यति वर्ष खेर, अर्को सरकारको उति खेर गयो भन्नेले आफ्नो कार्यकाललाई पनि मूल्याङ्कन गर्न सक्नु पर्छ ।
व्यक्तिगत जीवनमा सानो उपलब्धिले पनि धेरै परिवर्तन ल्याउन सक्छ तर देशको विकास हुन करोडौँ जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्छ । आशा राखिए जति देशमा समृद्धि आउन सकेको छैन, नीतिगत र कार्यगत कमीकमजोरी होलान्, ती सबै फेरि पनि समस्या हुन्, सङ्कटका रूपमा व्याख्या गरेर आउने उद्यमी पुस्तालाई हतोत्साहित नगरौँ । एउटा व्यक्तिको आत्मबलले पूरै देशको मुहार फेर्न सक्छ । टेस्ला, टोयोटा, सामसुङ, टाटा समूह आदि एउटै व्यक्तिको सोचले बनेका हुन् । त्यसैले उद्यमीलाई हतोत्साहित गर्ने गरी उल्टो विश्लेषक बन्नु हुँदैन ।