सन् १९९१ को डिसेम्बर १६ मा बसेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी सिद्धान्तहरू स्थापित गरेको थियो; जसमा उनीहरूको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मान प्रमुख छन् । ज्येष्ठ नागरिकको सम्मान भन्नाले ज्येष्ठ नागरिकले शारीरिक एवं मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनु पर्छ भन्ने हो । साथै उमेर, लिङ्ग, वर्ण, जाति, धर्म, अपाङ्गता वा अन्य कुनै आधारमा ज्येष्ठ नागरिकलाई विभेद गरिनु हुँदैन । उनीहरूको कार्यबाट राष्ट्रले प्राप्त गरेको योगदानका आधारमा उनीहरूको कदर गर्नु पर्छ भन्ने पनि हो ।
नेपालको संविधान, २०७२ को धारा ४१ मा मौलिक हकका रूपमा “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ” भनी उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । ज्येष्ठ नागरिकको सम्मान, वृद्धावस्थामा हुन सक्ने समस्या र विभिन्न अप्ठ्याराहरूलाई सम्बोधन गर्न ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ तयार गरिएको थियो; जुन २०७९ सालमा संशोधित पनि भएको छ । यसले ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनी परिभाषित गरेको छ ।
ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, संस्कृतिक तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुन्छ । समाजको हरेक विकासको गति र तीव्रतामा पनि ज्येष्ठ नागरिकको भूमिका अतुलनीय रहँदै आएको छ । ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित छ । एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक छ । यहाँ यस्ता केही कारणको चर्चा गरिएको छ; जुन कारणले गर्दा ज्येष्ठ नागरिक साँच्चिकै सम्मानका लागि सुयोग्य छन् भन्ने ठहर गर्दछ :
ज्येष्ठ नागरिकसँग वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन्छ । सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा नै हुन्छ । उनीहरूको अन्तर्दृष्टि व्यक्तिगत विकास र सिकाइका लागि पनि बहुमूल्य हुन सक्छन् ।
ज्येष्ठ नागरिक र सांस्कृतिक मूल्यलाई पर्यायका रूपमा लिन सकिन्छ । हरेक सांस्कृतिक मूल्य, मान्यताहरूसँग उनीहरूको सम्बन्ध रहेको हुन्छ । ज्येष्ठ नागरिक परम्परा, चलन र सांस्कृतिका वाहक नै हुन् । उनीहरूलाई सम्मान गर्नु भनेको समाजको सांस्कृतिक संरचनालाई सम्मान र संरक्षण गर्नु हो ।
ज्येष्ठ नागरिकले आफ्नो समग्र जीवनमा केही न केही गरेर समाजमा महत्वपूर्ण योगदान दिएकै हुन्छन् । उनीहरूको विगत र वर्तमानका योगदानलाई उचित मूल्याङ्कन गरी सम्मान गर्नाले सबैमा सकारात्मक कृतज्ञताको भावना बढ्छ । समाजमा सकारात्मक प्रभावलाई स्वीकार गर्ने परिपाटीको विकास हुन्छ ।
कतिपय ज्येष्ठ नागरिकले युवा पुस्ताका लागि प्रेरणा र नमुनाका रूपमा काम गरिरहेका हुन्छन् । उनीहरूको लगनशीलता, लचिलोपन र चुनौतीहरू पार गर्ने क्षमताले अरूलाई पनि प्रेरणा र मार्गदर्शन प्रदान गर्न सक्छ । यस्ता ज्येष्ठ नागरिकलाई आदर, सम्मान गर्दा जीवनको बहुमूल्य पाठ एक अर्कामा प्रसारण गर्ने अवसर बढ्दै जान्छ । ज्येष्ठ नागरिकलाई गरिने सम्मानले पुस्ता पुस्ताबिचको पुल निर्माण गर्न मद्दत गर्छ । यसले विभिन्न उमेर समूहहरूबिच समझदारी र सहयोगको वातावरण सिर्जना गर्दछ । परिवार र समुदायमा एकता, शान्ति, मेलमिलापको भावना बढाउँछ ।
उमेरगत परिवर्तनका कारणले गर्दा कतिपय ज्येष्ठ नागरिकले शारीरिक, मानसिक वा संज्ञानात्मक चुनौतीको सामना गरिरहेका हुन्छन् । उनीहरूलाई सम्मान गर्दै आवश्यक हेरचाह र समर्थन गरेको खण्डमा उनीहरूले आफ्नो जीवन मर्यादित रहेको अनुभव गर्न सक्छन् ।
सम्मान र मर्यादित जीवनको अनुभवले ज्येष्ठ नागरिकको मनोवैज्ञानिक पक्षको विकासमा सकारात्मक योगदान पु¥याउँछ । एक्लोपनको जोखिम कम गर्दछ; जुन अहिले धेरै ज्येष्ठ नागरिकमा देखिने साझा चिन्ताको विषय हो ।
विश्वमा यस्तो कुनै धर्म वा समुदाय छैन, जसले ज्येष्ठ नागरिकलाई आदर सम्मान गर्ने कुरामा बिमति राख्दछ । हाम्रो सनातन धर्मले त झन् ज्येष्ठ नागरिकलाई जिउँदा देवताको सङ्ज्ञा दिएको छ ।
यदि धार्मिक तथा नैतिक विचारमा अडिग भएर लाग्छौँ भने हामीले ज्येष्ठ नागरिकको सम्मान गर्नै पर्दछ । हामीसँग यस्ता धेरै नैतिक दिशानिर्देशहरू छन्, जसले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न जोड दिन्छ । यसमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार, घरेलु हिंसा र भेदभावविरुद्धको सुरक्षा, निष्पक्षता साथै उनीहरूको मर्यादित जीवनका लागि गरिने दैनिक व्यवहारहरू समावेश गर्न सकिन्छ ।
समाजमा सामाजिक एकता तथा मेलमिलाप कायम राख्नमा ज्येष्ठ नागरिकको ठुलो हात रहेको हुन्छ । समाजलाई कसरी मिलाएर राख्ने, कसलाई के जिम्मेवारी दिने भन्ने कुराको सही हेक्का राख्ने क्षमता पनि ज्येष्ठ नागरिकमा रहेको हुन्छ । यस्तो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्नाले नयाँ पुस्तामा साझा जिम्मेवारीको भावना प्रोत्साहित हुन्छ ।
सक्रिय बुढ्यौलीले ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलित राख्न मद्दत गर्दछ । यसले ज्येष्ठ नागरिकको सामाजिक सहभागितामा वृद्धि गर्दछ, जसले गर्दा समाजमा उदाहरणीय व्यक्तित्वको पहिचान बनाइराख्न सहयोग पु¥याउँछ । बढ्दो उमेरमा पनि निरोगी रहन र रोग लागिहाले पनि चाँडै निको हुने वातावरण पनि सक्रिय बुढ्यौलीले विकास गर्दछ । वृद्धावस्थामा लाग्ने विभिन्न प्रकारका रोग जस्तै– डिमेन्सिया, पार्किन्सन जस्ता दीर्घकालीन रोग लाग्ने जोखिम पनि कम गर्दछ ।
सामाजिक तथा पारिवारिक रूपमा मर्यादित जीवनशैली जिउन पनि यसले धेरै सहयोग गर्दछ । ज्येष्ठ नागरिक सक्रिय रहेको परिवारमा स्वस्थ पारिवारिक वातावरणको पनि वृद्धि हुन्छ । ६० वर्षमाथिका सबै ज्येष्ठ नागरिक निष्व्रिmय तथा आश्रित जनसङ्ख्या होइनन् । ज्येष्ठ नागरिकको कुल जनसङ्ख्याको ५० प्रतिशत ज्येष्ठ नागरिक शारीरिक र मानसिक दुवै रूपमा सक्षम छन् ।
नेपालमा विसं २०७८ सालबाट पुस ११ लाई राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । राष्ट्रिय स्तरमा ज्येष्ठ नागरिक दिवस मनाउनुको मुख्य उद्देश्य जनमानसमा ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि गर्नु हो । ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वास्थ्य र मर्यादित जीवनशैलीको प्रवर्धन तथा उनीहरूमाथि हुने दुव्र्यवहार, हिंसा र विभेदको रोकथामका लागि आवाज उठाउनु दिवसको औचित्य हो ।
यस वर्ष ‘ज्येष्ठ नागरिकको सम्मान सभ्यताको पहिचान’ नारा तयर गरी यो दिवस मनाइयो । अन्त्यमा ज्येष्ठ नागरिकलाई आदर गर्नु नैतिक आवश्यकता मात्र होइन, यो समावेशी र सहयोगी समाज निर्माण गर्ने आधारभूत पक्ष पनि हो । यसले प्रत्येक व्यक्तिको मूल्यलाई स्वीकार गर्दछ । अनि आपसी समझदारी र सम्मान फस्टाउन योगदान दिन्छ ।