• २४ वैशाख २०८१, सोमबार

सरकारको एक वर्ष

राहदानी वितरण ६५ प्रतिशत जिल्लाबाटै

blog

काठमाडौं, पुस ११ गते । कुनै समय बिहानदेखि नै भिडभाड देखिने राहदानी विभाग परिसर अहिले सुनसान जस्तै छ । हातमा सर्टिफिकेट र पिठ्युँमा झोला बोकेर लामाे लाइनमा उभिने सेवाग्राही अहिले भने लाइनमा नबसी सेवा लिइरहेका छन् । सेवाग्राहीका लागि राखिएका कुर्सीहरु अहिले खाली छन् ।

राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।

एक वर्षअघि सेवाग्राही रातिदेखि नै राहदानी लिनका लागि भीड बस्ने गरेकोमा अहिले भने त्यो अवस्था छैन । फारम भरेपछि राहदानी विभागले तोकेको मितिमा नै विभागमा आउँदा राहदानी पाउने व्यवस्था छ ।

मुगु सोलु गाउँपालिका वडा न ९ का जयबहादुर रावल फारम भरेको एक दिनमा नै विद्युतीय राहदानी हातमा पर्दा दङ्ग देखिनुभयो । उहाँले भन्नुभयो, “पहिले राहदानी बनाउन धेरै दुःख पाइन्छ भन्ने सुनेको थिएँ । तर फारम भरेको एक दिनमै राहदानी हातमा आयो सरकारलाई धेरै धन्यवाद ।”

सरकारले विद्युतीय राहदानीको क्षेत्रमा धेरै सुधार गरेको अर्का पोखराका सेवाग्राही बिन्दु श्रेष्ठ बताउनुहुन्छ । निकै हसिलो मुहारमा राहदानी परिसरमा भेटिनुभएका उहाँले भन्नुभयो, “अरुले भनेको सुनेर यहाँ त भिडभाड हुन्छ होला दुःख पाइन्छ होला भन्ने लागेको थियो । तर बिहान फारम भरेको अहिले राहदानी हातमा परेको छ एकदम खुसी लाग्यो । ” उहाँहरुजस्तै अन्य सेवाग्राही पनि अहिले राहदानी विभागको सेवाप्रवाह देखेर खुसी छन् ।

राहदानी लिनेको लाइन बढी रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गरेर समाधानको प्रयास गरेको थियो । पहिले धेरै सेवाग्राही फारम भर्न नपाएको भन्दै गुनासो गर्न आउने गरेका कारण पनि खाका नै परिवर्तन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पनि एक महिनाका लागि बुकिङ खुला गरेपछि केन्द्रको भीड सबै जिल्ला जिल्लामा बाँडिएको छ ।

पछिल्लो एक वर्षमा विभागले सेवाप्रवाहलाई व्यवस्थित बनाउँदै लगेको जनाएको छ । विभागका प्रवक्ता रमेशकुमार चर्मकारका अनुसार राहदानी वितरणलाई प्रभावकारी बनाउन पछिल्लो एक वर्षमा जिल्ला प्रशासनबाट वितरण हुने राहदलानी प्रवाहमा सुधार गर्न सकिएको बताउनुहुन्छ । अहिले ६५ प्रतिशत विद्युतीय राहदानी वितरण जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहिले सेवाग्राहीहरु जिल्लामा ढिला हुने र विभागमा गएपछि छिट्टै राहदानी बन्छ भनेर यहाँ आउँथे । गतवर्षको पुसबाट हामीले जिल्लाबाट राहदानी वितरणलाई सुधार गरेका छौँ । अहिले ६५ प्रतिशत राहदानी वितरण जिल्लाबाट नै हुने गरेको छ ।”

१० प्रतिशत कूटनीतिक नियोगबाट र बाँकी २५ प्रतिशत मात्र विभागबाट वितरण हुँदै आएको उहाँको भनाइ छ । राहदानी विभागलाई व्यवस्थित बनाउन यो वर्षमा थप ३१ लाख राहदानी कार्ड खरिद अर्डर गरिएको बताउनुहुन्छ ।

सुरुका दिनमा सर्बरले काम नगर्दा राहदानी छपाइ र वितरणमा समस्या देखिएको भए पनि अहिले भने समस्या समाधान भएकाले सेवाप्रवाह प्रभावकारी बनेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “पहिले सर्बरमा समस्या थियो । बिच–बिचमा सर्बरमा समस्या आउने, प्राविधिक समस्या आउने गरेकाले माग अनुसारको राहदानी छपाइमा समस्या थियो । अहिले सर्बरलाई सुदृढीकरण गर्दै गएका छौँ, समस्या छैन ।”

जिल्लाबाट पनि आवेदनको सङ्ख्या बढाएर सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै गएको उहाँको भनाइ छ ।

इपिएसले गर्दा माग बढ्यो

अहिले इपिएस भाषा परीक्षाको फारम खुल्दा राहदानीको माग बढेको छ । विभागमा अहिले औसतमा दैनिक तीन हजारको हाराहारीमा राहदानीको माग आउने गरेको प्रवक्ता चर्मकार बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कोरिया भाषा परीक्षा (इपिएस)को फारम खुलेका कारण राहदानीको माग दैनिक तीन हजारसम्म पुगेको छ । अहिले यो मागलाई पनि हामीले धानेका छौँ ।” अरु बेला भने औसतमा दुई हजारको हाराहारीमा राहदानीको माग आउने गरेको उहाँ बताउनुहुन्छ ।

दैनिक छ हजार राहदानी छपाइ

विभागले अहिले दैनिक छ हजार राहदानी छपाइ गरिरहेको छ । सर्बरमा सुधार भएसँगै यसको छपाइ क्षमता पनि बढेको प्रवक्ता चर्मकार बताउनुहुन्छ । दैनिक रुपमा छपाइ हुने सङ्ख्या र वितरणको सङ्ख्या एउटै छ । जसमध्ये विभागबाट ४० प्रतिशत वितरण हुने गरेको छ भने बाँकी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित कूटनीतिक नियोगबाट राहदानी वितरण हुने गरेको छ ।

उहाँका अनुसार अहिले ७७ जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित कूटनीतिक नियोगबाट विद्युतीय राहदानी वितरण भइरहेको छ ।


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।