• १२ साउन २०८१, शनिबार

देशको अर्थतन्त्र उत्साहजनक: अर्थमन्त्री महत

blog

भरतपुर विमानस्थलमा अर्थमन्त्री डा. महत । तस्बिर: वसन्त

नारायणगढ, पुस १० गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा उत्साह जनक वातावरण बन्दै गएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा मङ्गलवार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको अहिलेको उत्साहजनक वातावरणलाई निजी क्षेत्र र नागरिक समाजले अब सकारात्मक सन्देश दिनुपर्ने धारणा राख्नुभयो ।  

“सकारात्मक तरिकाले देशको अर्थतन्त्र अगाडि बढेको छ । निर्धक्क भएर लगानीको वातावरण बनाउन सकिन्छ भन्ने कुराको सन्देश अब निजी क्षेत्र र नागरिक समाजले भन्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रमा धेरै समस्याहरू थियो । अहिले ती सबै समस्या समाधान हुँदै गइरहेका छन् ।”  अहिले देशको अर्थतन्त्र सुधारको गतिमा रहेकाले नै लगानीको वातावरण तयार हुँदै गएको उहाँको दाबी छ । 

“अर्थतन्त्रले सुधारको लय पक्रँदै छ”, उहाँले थप्नुभयो, “ बिस्तारै घर जग्गाको कारोबार पनि सुधारिँदै छ । समग्रमा विदेशी रेमिटेन्स बढेकै छ । टुरिजम अहिले सम्मकै बढी आएका छन्। यी सबै घटनाक्रमले अहिले देशको अर्थतन्त्र लयमा फर्किएको छ ।“ 

उहाँले विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको जनाउँदै अहिले त्यसमा सुधार आएको पनि जनाउनुभयो । 

“अहिले लगानीका लागि आर्थिक समस्या हुने अवस्था छैन । मात्रै विश्वासको वातावरण बनाउन सकिए अहिले जनस्तरबाटै आर्थिक चलायमान गराउन सकिने छ”, उहाँले भन्नुभयो । बैक तथा वित्तीय सस्ताहरूले क्रमशः ब्याजदर घटाउँदै लगेको अवस्थाले पनि अब लगानीको सुनिश्चित बढाउने विश्वास गर्न सकिन्छ ।”