• २० असोज २०८१, आइतबार

ओझेलमा जगत्रदेवी मन्दिर

blog

गल्याङ नगरपालिका –२, देवीस्थानमा रहेको जगत्रदेवी मन्दिर ।

अर्जुन काफ्ले

स्याङ्जा, पुस ९ गते । गल्याङ नगरपालिका–२, देवीस्थानमा रहेको ऐतिहासिक जगत्रदेवी मन्दिर प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ अन्तर्गत ड्यामसाइड र पावरहाउस जाने बाटैमा रहेको मन्दिरको महत्त्व धेरैलाई थाहा नभएको स्थानीयको गुनासो छ ।

जगत्रदेवी मन्दिरमा वडा दसैँ, चैते दसैँ र वैशाख १० गते पूजा गर्नेहरूको घुइँचो हुन्छ । मन्दिरका पूजारी खेमराज न्यौपानेले एकादशी, औँसी, मलमास, सोह्रश्राद्ध लगायत तिथिबाहेक अन्य दिन बलिसहितको पूजा हुनेगरेको बताउनुभयो । 

उहाँले यहाँ वडा दसैँ र चैते दसैँमा बोका, पाडा, हाँस, कुखुरा, परेवा लगायतको पञ्चवलि चढाउन आउनेको भीड लाग्ने जानकारी दिनुभयो । यहाँ भुरेराजाको पालादेखि जगत्रशिलाको नाममा पूजा हुँदैआएको छ । 

प्राचिनकालमा बाटो खन्नेक्रममा शिलालाई स्थानान्तरण गरिएको तर शिला पहिलेकै स्थानमा आफै सरेर बसेको किंवदन्ती छ । मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश न्यौपानेले खुला रूपमा पूजा एवं दर्शन गरिँदैआएको जगत्रशिलाको निवुवाखर्क गाउँपञ्चायतका प्रधानपञ्च दामोदर न्यौपानेले २०३१ सालमा मन्दिर निर्माण गरेपछि यहाँको मन्दिर जगत्रदेवी मन्दिरका नामले परिचित हुन गएको बताउनुभयो । 

उहाँले कालीगण्डकी जलविद्युत परियोजना ‘ए’ निर्माणको क्रममा २०५१ मा वातावरणको क्षेत्रमा काम गर्ने संस्थाले नयाँ मन्दिर स्थापना गरिदिएको बताउनुभयो । 

मन्दिरमा पूजा गर्नका लागि स्याङ्जासहित पाल्पा, पर्वत, गुल्मी, कास्की, रुपन्देही लगायतका स्थानबाट दर्शनार्थीहरु आउनेगरेको बताउँदै सचिव न्यौपानेले भन्नुभयो, “मन्दिरमा आएर दर्शन गरेमा, दुःख परेका बेला  जगत्रदेवी मन्दिरलाई सम्झेर भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।” 

स्थानीय कृष्ण न्यौपानेले मन्दिरको महत्त्व भए पनि सरोकारवालाको प्रचार प्रसारमा उचित ध्यान नपुग्दा यो क्षेत्र चर्चामा आउन नसकेको बताउनुभयो । “टाढाबाट आउने दर्शनार्थीका लागि मन्दिरनजिक उचित वासस्थान छैन” उहाँले भन्नुभयो, “गाडी आउनेजाने निश्चित समय नहुँदा पनि दर्शनार्थी समस्यामा पर्दैआएका छन् ।”

मन्दिर परिसरमा पौवा, ट्रस, प्रतीक्षालय लगायतका संरचना छन् । मन्दिरको प्राङ्गणमा मार्बल बिछ्याइएको छ । मन्दिर प्रवेश गर्ने सिँडी ढलान गरिएको छ भने स्टिल रेलिङ लगाएर सहज बनाइएको छ ।