• २० असोज २०८१, आइतबार

स्यार्से कालिका मन्दिरमा आजबाट मेला

blog

मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारस्थितरहेको कालिका मन्दिर ।

राममणि दाहाल

हेटौँडा, पुस ९ गते । मकवानपुरको नामटारमा आज सोमबारदेखि दुई दिने स्यार्से कालिका मेला लाग्ने भएको छ । आज साँझबाट कैलाश गाउँपालिका–९ नामटारस्थित कालिका मन्दिर परिसरमा सुरु हुने मेला भोलि धान्यपूर्णिमाका दिन कालिका मन्दिरमा पूजाआजासहित पाठीको बली दिएर समापन गरिने बताइएको छ ।

२०५० सालमा नामटार बजार क्षेत्रमा आएको बाढीले मन्दिर बगाएपछि बगर बनेको स्थानमा रहेको ठुलो ढुङ्गालाई स्यार्से कालिकादेवीको रूपमा पूजाआजा गरिँदैआएको थियो ।

कैलाश गाउँपालिका–९ वडाध्यक्ष भुवनसिंह घलानले प्रदेश सरकार, गाउँपालिका, वडा कार्यालय र भक्तजनको सहयोगमा मन्दिर निर्माण भइरहेको जानकारी दिनुभयो ।

मन्दिर परिसरमा आज साँझ मेला आयोजक समितिको आयोजनामा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । २०५० को बाढीले मन्दिर बगाएकै स्थानमा स्थानीय दाताको सहयोगमा ठुलो ढुङ्गामा कालिका र गणेशको मूर्ति कुँदेर गत मङ्सिरमा प्राण प्रतिस्था गरिएको थियो । 

नामटारमा रहेको स्यार्से कालिका मन्दिरमा परापूर्व कालदेखि पूजाआजा हुँदैआएको स्थानीय रामचन्द्र शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कालिकादेवीले मागेको कुरा पूरा हुने विश्वाससहित पूजाआजा गर्न भक्तजन आउनेगरेका छन् । 

भाकल गरेकाहरू मन्दिरमा धान्य पूर्णिमामा र उक्त समयमा नभ्याउनेहरू चण्डीपूर्णिमा आउनेगरेको उहाँले बताउनुभयो ।