अमरराज नहर्की
तनहुँ, पुस ७ गते । तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । प्याकेज-१ अन्तर्गतको मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
पानी लैजाने सुरुङको एक हजार चार सय ५६ मिटरमध्य दुई सय चार मिटर मात्रै खन्न बाँकी रहेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजाभाई शिल्पकारले बताउनुभयो । सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने काम पनि तिव्र रुपमा भईरहेको उहाँले जानकारी दिनुभयो ।
दसैं, तिहार लगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगती ४९ प्रतिशत पुगेको शिल्पकारले बताउनुभयो । एक सय ४० मिटर अग्लो बाँध बन्ने स्थानमा नदी फर्काउन आवश्यक पर्ने छ सय २६ दशमलव ९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण पुरा भइसकेको आयोजनाले जनाएको छ ।
उक्त टनेलबाट नदीलाई फर्काएर पानी निकास गर्ने बनाउन सकिएको छ । बाँध स्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा डाइभर्सन टनेल बनाइएको उहाँले बताउनुभयो । नदीको सतहमा डाइभर्सन टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको काम पूरा गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको काम पूरा भईसकेको छ ।
व्यास नगरपालिका-५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग गरिनेछ । आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिनेछ ।
आयोजनाको पहिलो प्याकेज अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नती लगायतका काम भइरहेका छन् । तीन वटा प्याकेजमा गरी दैनिक एक हजार पाँच सयको हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज-२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग १५ असोज २०७५ मा खरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले ६ माघ २०७५ बाट आयोजना स्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कङक्रिटिङ तथा टर्वाइन लगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ ।
यस्तै, आयोजनाको प्याकेज-३ अन्तर्गत ट्रान्समिटरको कार्य रोकिएको करिब छ महिनापछि पुनः सुरु गरिएको छ । वनको नीतिगत समस्याका कारण रोकिएको निर्माण कार्य पुनः सञ्चालनमा आएको छ । प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भईरहेको छ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनामा पर्ने ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्य ७० टावरको जग हालिएको छ भने ३४ टावर खडा गरिसकिएको आयोजना प्रमुख शिल्पाकारले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
यसैगरी, प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका-१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड-१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलो भएको हो ।
आयोजनाको विद्युत् उत्पादनको पहिलो दश वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुनेछ । एक सय ४० मेगावाटको यो जलविद्युत् आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना पुरा
यसैबीच तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना पुरा भएको छ । तनहुँ जलविद्युत आयोजनाले सामाजिक विकास कार्यक्रम अन्तर्गत सो काम सम्पन्न गरेको हो ।
आयोजनाका प्रमुख राजाभाई शिल्पकारका अनुसार यसअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि घिरिङ गाउँपालिका-४ र बन्दीपुर गाउँपालिका–६ मा ३३-११ केभीका दुई वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनहरुसम्म विद्युत पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ ।
तनहुँ जिल्लाको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ।