• १३ असोज २०८१, आइतबार

पर्यटकको रोजाइमा लोहजरा दह

blog

ठाकुरबाबा मन्दिर । तस्विर : देवरामप्रसाद यादव ।

देवरामप्रसाद यादव

सप्तरी, पुस ६ गते । सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित लोहजरा दह बाह्य तथा आन्तरिक पर्यटकको रोजाइको केन्द्र बनेको छ । प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक महत्व बोकेको लोहजरा दह पर्यटकीय क्षेत्र एवम् वनभोजको लागि लोकप्रिय बन्दै गएको हो ।

सप्तरीको पहिचान एवम् ऐतिहासिक धरोहरको रुपमा चिनाउने लोहजरा दहको संरक्षण, संवर्द्धन तथा सौन्दर्यीकरण अभिवृद्धि गर्न तीनै तहका सरकारको सक्रियतामा कमी देखिएको स्थानीयहरु बताउँछन् । यस दहमा विभिन्न प्रजातिका माछा र चराचुरुङ्गी संरक्षण गर्न पहल गरिए पर्यटकहरुको मन लोभ्याउन र आम्दानीको आयस्राेत बढ्नुका साथै त्यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने स्थानीयहरु बताउँछन् ।

यस दहमा माछा पालन गर्न पाँच वर्षको लागि १५ लाख ५२ हजारमा ठेक्का दिएको स्थानीयले बताउनुभयो । सोही आम्दानीबाट मन्दिरको समेत विकास गर्दै आएको ठाकुरबाबा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरेश कुमार यादवले जानकारी दिनुभयो ।

नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले २०७२ सालमा नेपाली सेनाद्वारा मर्मत सम्भारपछि यसको उद्घाटन गरेका थिए । राष्ट्रपति चुरे तराई मधेस विकास संरक्षण समितिद्वारा दहको चारैतिर घेराबेरा गरिएको थियो ।कुल क्षेत्रफल ११.९ हेक्टर जग्गामा फैलिएको यस आसपासको क्षेत्रमा संरक्षित वन तथा तालको सौन्दर्यीकरणले त्यहाँ पुग्ने जोकोहीको मन आकर्षित गरेको ठाकुर बाबा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यादवले बताउनुभयो ।

उहाँले दह निकै मनमोहक रहेकाले यहाँ आउने जो कोही पनि मोहित हुने गरेको बताउनुहुँदै यो दहको विकास गर्न संघीय सरकार र प्रदेश स्तरीय योजनाले मात्र सम्भव हुने भएकोले यसतर्फ ध्यानाकर्षण हुनु जरुरी रहेको बताउनुभयो । विशेष रुपमा जाडो याममा जिल्लाभित्रकै सर्वसाधारण दहलाई हेर्न, वनभोज खान एवम् मनोरन्जन गर्न आउने गरेको स्थानीय पत्रकार दिनानाथ यादवले बताउनुभयो । पछिल्लो समय यो दहमा पिकनिक खान तथा घुम्न आउनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । विशेषगरी भारतको नयाँ वर्ष तथा जाडो याममा पिकनिक खान तथा घुम्न आउनेहरुका कारण यो दह अझै प्रसिद्ध बन्दै गएको स्थानीयहरु बताउँछन् ।

यस क्षेत्रमा जाडो समयमा शैक्षिक भ्रमण, अवलोकन भम्रण गर्न कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती मनोरञ्जनका लागि आउने गरेको स्थानीय रमेश यादवले बताउनुभयो ।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजयकुमार यादव अनुसार ठाकुरबाबाका रुपमा चिनिएको यो दह प्राकृतिक रुपमा सुन्दर र दृश्यले भरिपूर्ण रहेको बताउनुभयो । दहको उत्तरपट्टिको भागमा हरियो जङ्गलभित्र पिकनिक अर्थात् वन भोजका लागि सुविधासम्पन्न सेडहरु निर्माण गरिएको उहाँले बताउनुभयो ।

सप्तरी सदरमुकाम राजविराजको हुलाकी राजमार्गदेखि कञ्चनपुर बाटाे हुँदै करीब १३ किलोमिटरको दूरीमा रहेको लोहजारा दह अर्थात् ठाकुरबाबा तालले ११ दशमलव ९ किलोमिटर क्षेत्रफल ओगटेको छ । चुरे जङ्गलको ८३ दशमलव १३ हेक्टर क्षेत्रफलसँग जोडिएको तालमा विभिन्न जातका माछाहरुले पर्यटकलाई लोभ्याउने गरेको छ ।

दहमा रहेको ठाकुर बाबा मन्दिर, डुङ्गा सवारी, विभिन्न प्रजातिका पंक्षी र त्यहाँका मनोरम वातावरणले जो कोही लोभिने गरेको तिरहुग गाउँपालिका ५ का वडाध्यक्ष रमानन्द चौधरीले बताउनुभयो । पछिल्लो पटक प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र तिरहुत गाउँपालिकाको सहयोगमा भौतिक पूर्वाधार तथा सौन्दर्यीकरणको काम सम्पन्न भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटो निर्माण तथा टायल्स जडान कार्य भएको छ भने गाउँपालिकाको तर्फबाट भवन निर्माण, प्रवेशद्वारलगायतका कार्य भएको बताउनुभयो । 

हाल निर्माण भएका संरचना तथा सौन्दर्यीकरणले दहको सौन्दर्यमा रौनक थपिएको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

ग्रामीण भेगमा अवस्थित दहले पर्यटनको विकासबारे विचार गर्दा ग्रामीण क्षेत्रको आर्थिक विकाससम्बन्धी योजनाहरूको कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको स्थानीय बताउँछन् ।