• ७ मंसिर २०८१, शुक्रबार

त्रिवि दीक्षितको ऊर्जा

blog

मुलुकको शैक्षिक क्षेत्रमा सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४९ औँ दीक्षान्त समारोह सोमबार सम्पन्न भएको छ । यस पटकको दीक्षान्त समारोहमा एकै पटक करिब ७४ हजार विद्यार्थीलाई दीक्षित गरेर त्रिविले विश्व रेकर्ड कायम गरेको सार्वजनिक भएको छ । दीक्षित सङ्ख्यामध्ये १२ हजार ४१५ जना समारोह स्थल काठमाडौँको दशरथ रङ्गशालामा उपस्थित थिए । एउटै समारोहमा यति ठुलो सङ्ख्यामा विद्यार्थी उपस्थित गराउन सफल भएको भन्दै त्रिविलाई युरोपियन युनियनद्वारा मान्यताप्राप्त गैरसरकारी संस्था ‘अफिसियल वल्र्ड रेकर्ड’ ले प्रमाणपत्र प्रदान गर्नुलाई देशको सबैभन्दा ठुलो विश्वविद्यालयको गौरवको विषय बन्नु स्वाभाविक हो । यसले बेग्लै इतिहास निर्माण गरेको छ ।

विसं २०१६ मा स्थापना भएको त्रिविको ४९ औँ दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुनुभएर शैक्षिक क्षेत्रको सुधार तथा मुलुकका लागि दक्ष जनशक्ति निर्माणमा जोड दिन भन्नुभएको छ । नेपालको उच्चशिक्षाको ८२ प्रतिशत भार थेगेको त्रिविमा हाल चार लाख २० हजार विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्क एकातिर सार्वजनिक भएको छ भने अर्कोतिर खस्कँदो शैक्षिक गुणस्तर, राजनीतीकरण र विभिन्न विभाग विद्यार्थीविहीन बन्दै गएको तथ्य पनि उसरी नै निराश ढङ्गले सार्वजनिक भइरहेकै छ । दीक्षान्त समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अभिव्यक्त विचारमा पनि यतातर्फ इङ्गित गरिनुले त्रिविको वर्तमान अवस्था सन्तोषजनक नभएको देखिन्छ । समयसापेक्ष सुधार गरेर त्रिविलाई विश्वको शैक्षिक मापदण्ड अनुसारको जनशक्ति निर्माण गर्न सक्षम बनाउनेतर्फ कत्ति पनि ढिलाइ गर्न हुँदैन, ढिलाइ गर्दा अझै धेरै विद्यार्थी बाहिरिन्छन् । 

त्रिविबाट दीक्षित जनशक्तिप्रति निश्चय पनि राष्ट्र र समाजको ठुलो अपेक्षा छ । भन्नैपर्ने हुन्छ, त्रिवि समृद्धितर्फको यात्राका निम्ति मेरुदण्ड हो । बौद्धिक जनशक्ति मात्र नभएर सिङ्गो युवा वर्ग नै पलायनको मार भोगिरहेको मुलुकमा शिक्षित जनशक्तिलाई देश निर्माणमा लगाउन सरकारले रोजगारी सिर्जना गर्ने नीति, योजना र कार्यक्रम ल्याउनु पर्छ । समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाको ज्ञान, सिप र प्रविधि नै मुख्य आधार हो । दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले त्रिविको परम्परागत पाठ्यक्रमलाई समयसापेक्ष, जीवनोपयोगी र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभएर त्रिविमा तत्काल सुधार आवश्यक भएको तर्फ सङ्केत गर्नुभएको छ । उच्चशिक्षा हासिल गरेका विद्यार्थीले अब के गर्ने भनेर भौँतारिनेभन्दा पनि सरकारले उनीहरूको ज्ञान र सिपलाई राष्ट्र निर्माणमा कसरी उपयोग गर्ने भन्नेतर्फको योजना बन्नु पर्छ । शैक्षिक प्रमाणपत्र अनुसारको रोजगारी हरेक शिक्षित वर्गको लक्ष्य हो । यहाँ बसेर के गर्नु, विदेश नगई भविष्य सुनिश्चित छैन भन्दै कैयौँ विद्यार्थी रोजगारीको खोजीमा बिदेसिन बाध्य छन् । यता स्वदेशका कक्षाकोठा खाली हुँदै छन् । यस्तै स्थिति रहिरहने हो भने त्रिविको मात्र नभएर मुलुककै उच्च शिक्षाको भविष्यमा गम्भीर प्रश्न उठिसकेको छ । 

प्रधानमन्त्री प्रचण्ड’ ले समाज रूपान्तरणको लागि शिक्षित जनशक्ति अपरिहार्य भएको बताउँदै कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क नभएर विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ भएको भन्दै सरकारले त्यसतर्फ योजना तयार गर्दै गरेको जानकारी दिनुभएको छ । मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखबाटै त्रिविको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुले सरकारले तत्काल सुधारका योजना अगाडि सार्न आवश्यक देखिन्छ । त्रिविले शैक्षिक क्यालेन्डर लागु गर्न नसकेका कारण पनि युवा बाहिरै ताक्न बाध्न छन् । उच्च शिक्षामा आर्जन गर्दै अध्ययन गर्ने वातावरणसमेत आवश्यक छ ।

त्रिविको खस्कँदो साखप्रति नेतृत्वको स्थायित्वलाई पनि जोडिने गरेको छ । यतिबेलाको नेतृत्व पनि निमित्तको भरमा चल्दै आएको छ । उपकुलपति नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको भए पनि प्रव्रिmया सुस्त छ । सत्ता गठबन्धन दलबिच सहमति नजुटेका कारण नियुक्तिमा ढिलाइ भएको हो भन्ने जनगुनासोलाई सम्बोधन हुने गरी प्रधानमन्त्री प्रचण्डले त्रिविलाई बलियो बनाउन अब भागबन्डाका आधारमा नभई योग्यलाई नियुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले राजनीतिक भागबन्डाको अन्त्य गरेर ‘मेरिट’को आधारमा उपकुलपति नियुक्ति गर्ने परिपाटी बसालेर त्रिविलाई राजनीतिक थलो हुनबाट जोगाउने प्रतिबद्धता व्यक्त गर्नुले अबका दिनमा विश्वविद्यालय स्वायत्त प्राज्ञिक निकाय हुने छन् भन्ने अपेक्षा गरिएको छ । त्रिविबाट दीक्षित विद्यार्थी राष्ट्र निर्माणका ऊर्जा हुन् । तिनको दीक्षित ऊर्जालाई राष्ट्रनिर्माणमा लगाउने वातावरणका निम्ति पनि उत्तिकै गम्भीर हुनु वाञ्छनीय छ ।