बिमा व्यवसायको आरम्भले नेपालमा पनि साढे सात दशक पूरा गरिसकेको छ । बिमा गर्दा हुने सम्भावित नोक्सानीको जोखिम न्यूनीकरण हुन्छ भन्ने सचेतनाको कमी देखिँदा बिमाप्रतिको व्यापक चासो भने वृद्धि हुन सकेको छैन । सम्भावित जोखिम भरण गर्ने गरी गरिने सम्झौता नै बिमा भएकोले नोक्सानी भरणको भरपर्दो व्यवस्था मानिएको छ । जुनसुकै किसिमको बिमा गरे पनि जोखिममा पर्दा बिनाझन्झट जोखिम भरण हुन्छ भन्ने विश्वास दिलाउन बिमा कम्पनीले अझै पछाडि नै रहनु बिमाको बजार सोचे जसरी नबढ्नुको मूल कारण हो ।
नेपालमा विसं २००४ मा स्थापना भएको ‘नेपाल माल चलानी तथा बिमा कम्पनी लिमिटेड’ नै प्रथम बिमा कम्पनी भएको इतिहास छ । विभिन्न कालखण्डमा नाम परिवर्तन र परिमार्जन हुँदै आएर २०४८ सालपछिको उदार नीतिमा फस्टाउन थाल्यो । त्यसो त २०२५ सालदेखि नै राष्ट्रिय बिमा संस्थानले बिमाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको थियो । अरू पनि केही कम्पनी २०४६ सालअघि खुले तर बिमा ऐन, २०४९ पछि बिमाको सङ्ख्यात्मक विस्तार भयो । यतिबेला मुलुकमा १९ वटा जीवन बिमा कम्पनी, २० वटा निर्जीवन बिमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनी लिमिटेडलगायत सञ्चालनमा भए पनि समग्र बिमामा नागरिकको पहुँच ४२ प्रतिशत मात्र पुग्न सकेको तथ्याङ्कले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बिमाबाट वञ्चित देखिन्छ । यसमा पनि लगानी तथा सर्वाधिक बिमामा कमी नै छ भने यो तथ्याङ्कमा पनि म्यादी र लघुम्यादीलाई छुट्याउँदा करिब १७ प्रतिशत मात्र समेटिएको देखिनुले आउँछ । तत्काल केही योगदान गरेर भोलिका दिनमा आइपर्न सक्ने ठुलो जोखिम भरण बिमाबाट हुन्छ भन्ने सचेतना जागृत हुन नसक्दा बिमामा नागरिकको पहुँच जुन रूपमा हुनुपथ्र्यो, सो हुन नसक्नुलाई सम्बन्धित निकायले समयमै मनन गर्न आवश्यक छ । नयाँ ऐन अनुसार नेपाल बिमा प्राधिकरणले नियमन गर्दै आएको भए पनि बिमा कम्पनीले आफूखुसी नियम बनाएर बिमितलाई भरण दिनुपर्ने अवस्था झन्झटिलो बनाइदिँदा समग्र बिमा व्यसायप्रति नै वितृष्णा पैदा हुने गरेको भन्ने गुनासो छ । यसमा बहस आवश्यक छ ।
बिमा व्यवसायको यावत् सन्दर्भमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा कम्पनीहरूले बिमितको विश्वास जित्न नसकेको प्रति ध्यानाकर्षण गराउनुभएको छ । बिमा सर्भेयर सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उहाँले बिमाप्रति आमनागरिकको सकारात्मक धारणा बनाउन विश्वास जित्नु नै पहिलो सर्त भएको भन्दै सचेतना वृद्धिमा जोड दिन आग्रह गर्नुभयो । आमनागरिकमा मलाई समस्या आउँदैन, किन बिमा गर्ने भन्ने धारणा एकातिर छ भने अर्कोतर्फ बिमा कम्पनीहरूले आपत् परिहाल्दा पनि दाबी भुक्तानी दिन आनाकानी गर्ने प्रवृत्तिका कारण उदासीनता देखिएको छ । यसको ज्वलन्त उदाहरणको रूपमा कोरोना बिमालाई नै लिन सकिन्छ । ठुलो उत्साहसाथ कोरोना बिमा गराएका बिमा कम्पनीले सुरुसुरुमा भुक्तानी दिएका भए पनि ठुलो सङ्ख्याले कोरोना बिमाको भुक्तानी अझसम्म पाउन सकेका छैनन् भने दोष सरकारले पैसा नदिएर भुक्तानी हुन नसकेको भन्ने छ, यसलाई के भन्ने ?
केही वर्षअघि ठुलो उत्साहसाथ सुरु भएको स्वास्थ्य बिमाले पनि सोचे अनुरूपको गति लिन सकेको देखिएन । नेपालको संविधानमै स्वास्थ्य उपचारमा नागरिक पहुँचको व्यवस्था मिलाउने नागरिक हक भए पनि यो क्षेत्रको सास्ती कम छैन । स्वास्थ्य बिमा गरिएको भए पनि सुलभ उपचार छैन । स्वास्थ्य बिमा बोर्डका अध्यक्षले स्वास्थ्य बिमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले तीन महिनाका लागि एकै पटक औषधी पाउने व्यवस्था बताए जस्तो व्यवहारमा कार्यान्वयन नभएको गुनासो छँदै छ ।
जोखिम भरणकोे प्रत्याभूति दिन बिमा कम्पनीहरूले आनाकानी गर्न हुँदैन बरु आरम्भमै बिमा लेख जारी गर्दा पर्याप्त अध्ययन हुनु पर्छ । वास्तवमै बिमा जीवन र अर्थतन्त्रको आधार हो । जीवन तथा स्वास्थ्य बिमाले नागरिकको जीवनमा आइपर्ने समस्यालाई सहज रूपमा समाधान गरिदिन्छ । निर्जीवन बिमाले अर्थतन्त्रका सबै क्षेत्रको जोखिम न्यूनीकरण गर्न मूल प्रत्याभूति दिन्छ । बिमा क्षेत्रमा उठेको शुल्क अर्थतन्त्रमा बचत परिचालन गर्ने महìवपूर्ण आधार हो र त्यसैलाई लगानी गरेर अर्थतन्त्रको चौतर्फी विकासमा फड्को मार्न सकेको विकसित मुलुकको अन्तर्राष्ट्रिय अनुभव पर्याप्त छ तर नेपालमा भने बिमा अझै पनि नागरिक जीवन र अर्थतन्त्रको मूल धारमा आउन नसकेको प्रति गहन बहस गर्दै आवश्यक सुधार वाञ्छनीय छ ।