काठमाडौँ, पुस १ गते । मृत्यु र समय चक्रको विषयमा केन्द्रित नाटक ‘काल’ ले आर्थिक मन्दीको विषय छुँदै मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्न खोजेको छ । काल अर्थात् मृत्यु र समय चक्र । नाटकले यी दुवै पक्षलाई छुने प्रयास गरेको छ । नाटक एक सामाजिक कथा हो, जहाँ हामी नाटकभित्र कहीँ न कहीँ आफूलाई पाउँछौँ । आर्थिक मन्दी र प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्ति जो आफूलाई केही गर्न नसक्ने ठानेर आत्महत्याको बाटो रोज्छन् तर आत्महत्याको प्रयास कतै सफल हुँदैन ।
नाटकको सुरुवातमै ती व्यक्तिको मृत्यु भइसकेको देखाइन्छ र तर अचानक मृत्यमा सुतेको व्यक्ति उठेपछि दर्शक केही झसङ्ग हुन्छन् र सुरु हुन्छ नाटक ‘काल’ । नाटकको सुरुवातमै भनिन्छ, अब पत्रकार र वकिलले अभिनय गर्न थाले, कलाकारको मञ्चमा खासै काम भएन । हास्य व्यङ्ग्य मिस्रित नाटक काल वास्तविक समाज वा जीवनको दुरी मेट्दै अगाडि बढ्छ र आत्महत्याको विषयले अनेकन रूप लिन थाल्छ ।
आनन्द निवासको वृद्ध आफू आत्महत्या गर्ने तरिका सिक्न दया अधिकारी (सुनील पोखरेल) लाई काममा नियुक्त गर्छन् । दयालाई मासिक ५० हजार रुपियाँ तलब पनि तोकिन्छ र अग्रिम पाँच लाख रुपियाँ पनि दिइन्छ तर दयाले अनेकन जुक्तिबाट पनि वृद्धलाई आत्महत्या गराउन सक्दैनन् । झुन्डिएर आत्महत्या गर्न खोज्दा रुखको हाँगा भाँचिन्छ, करेन्ट लगाउन खोज्दा झ्याप्प बत्ती जान्छ, डुब्न खोज्दा गोही र माछाहरूले बचाउँछन् र गाडीको अगाडि जाँदा सानी बच्चीले बचाउँछिन् । यसरी नाटकमा वृद्धले आत्महत्या गर्न खोजेको अनेकन प्रयासलाई कथानक शैलीमा प्रस्तुत गरिएको छ । ती वृद्ध व्यक्ति बारम्बार किन आत्महत्याको प्रयास गरिरहेका छन् भन्ने कुराको जवाफ नाटकभित्र भिन्न शैलीमा देखाउन खोजिएको छ । वृद्धले के कस्तो दुःख पाएर आत्महत्या गर्न खोज्छन् र उनको आत्महत्याको प्रयास किन विफल भइरहन्छ भन्ने कुरा नाटकले उजागर गर्छ ।
वृद्धको भूमिकामा देखिनुभएका प्रवीण खतिवडा र युवाको भूमिका देखिनुभएका सुनील पोखरेलको बिचको संवादले नै नाटकमा आत्महत्याको विषयका कुरा छर्लङ्ङ पारिदिन्छ । नाटकमा पोखरेललाई युवाको भूमिका जति सुहाएको छ, त्यति नै वृद्धको भूमिकामा खतिवडा जमेका छन् । अन्य कलाकारले पनि आफूले सकेको मेहनत गर्नुभएको छ ।
शङ्खर खरेलको काल कथाबाट प्रभावित भएर नाटक लेखेको नाटकका लेखक तथा निर्देशक रामभजन कामत बताउनुहुन्छ। नाटक तयार पार्दा आफू नाटककारका रूपमा पूर्ण रूपमा रहन नसकेको उहाँको भनाइ छ। एउटै व्यक्ति लेखक र निर्देशकका रूपमा काम गर्दा गाह्रो हुँदो रहेछ। निर्देशकले कलात्मक कथा खोज्छ तर लेखक आफ्नो लेखन अडान छोड्न चाहँदैन। यो अवस्था धेरैले भोग्नुभएको होला। नाटक तयार गर्ने क्रममा कैयौँ पटक तथ्यगत सामग्री खोज अनुसन्धान गर्दा कैयौँ पटक गुगलले तिमीलाई मानसिक डाक्टरको आवश्यकता छ भनेर सुझाव दिएको पनि उहाँले सम्झनुभयो।