लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । लिङ्गका आधारमा शारीरिक, भावनात्मक, सामाजिक, सांस्कृतिक, यौनिक र आर्थिक रूपमा प्रभावित पार्ने कार्यलाई लैङ्गिक हिंसा भनिन्छ । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा हो, लैङ्गिक हिंसा । लैङ्गिक हिंसाको कुरा गर्दा महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हामीले महिला हिंसा भनेर सम्झन्छौँ । लैङ्गिक हिंसा अन्तर्गत महिला र बालिकामाथि हुने हिंसाका साथै पुरुष र बालकप्रति हुने हिंसा पनि पर्दछन् । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि महिला र किशोरीहरू लैङ्गिक हिंसाको पहिलो निसानामा पर्ने समूह हुन् ।
आजको आधुनिक समयमा पनि परापूर्वकालदेखि चलिआएका रूढिवादी सोच, गलत परम्परा, विभेदलगायतका कारण महिला उपर हुने हिंसाको क्रम रोकिएको छैन । यही कुरालाई दृष्टिगत राख्दै महिला समानता कायम राख्न र सबै खाले लैङ्गिक हिंसा अन्त्यका लागि विश्वव्यापी रूपमा हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ ।
साधन, स्रोत, अवसर, जिम्मेवारी र अधिकारको असमान वितरण, बालविवाह तथा बहुविवाह, महिलालाई घरभित्र सीमित गर्ने र महिलाहरूले गरेको कामको मूल्याङ्कन नगर्नु महिला हिंसाका केही प्रमुख रूप हुन् । महिला हिंसाबाट जुनसुकै जात, जाति, समुदाय र वर्ग, ग्रामीणदेखि सहरी क्षेत्रसम्मका र तल्लो तहदेखि माथिल्लो तहसम्मका महिला पीडित हुन बाध्य छन् ।
लैङ्गिक हिंसा घरभित्र र सार्वजनिक स्थल गरी दुवै स्थानमा हुने गरेको पाइन्छ । धेरै जसो लैङ्गिक हिंसाका घटना घरमै हुने गरेका छन् । विद्यालयमा, विद्यालयबाट घर फर्कदा, गाईबस्तु चराउन जाँदा र कुनै घटना त अपहरण गरेर जङ्गलमा लगी बलात्कार गर्ने गरेको पनि सुनिन्छ । महिलाहरूले आफ्नो कार्यस्थलमा पनि हिंसा भोग्नु परेको हुन्छ । महिलाहरू आफ्ना आफन्त तथा घनिष्ठ व्यक्तिहरू खास गरी आफ्नै श्रीमान्, सासूससुरा र परिवारका अन्य सदस्य र सहकर्मीबाटै हिंसाको खतरामा रहेका हुन्छन् ।
समाजमा महिला हिंसा कायम रहन विभिन्न तत्वले भूमिका निर्वाह गरेको हुन्छ । परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान बनाएको छ । महिलाको जीवन र मर्यादामा उल्लेखनीय परिवर्तन आउनै सकेको छैन । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवं परम्परा, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व न्यून मात्रा हुनु महिला हिंसाका प्रमुख कारण हुन् ।
अहिले पनि हाम्रो समाजमा पुरुष र महिलाबिच सामाजिक विभेद कायम नै छ । महिलाहरूलाई अहिले पनि आफ्नै घरमा पुरुषको भन्दा फरक व्यवहार गर्ने गरिन्छ । हाम्रो समाजले महिलालाई पनि पुरुष सरह सक्षम देख्नै सकेका छैन । । महिलामाथि बलात्कार, यौन दुव्र्यवहार, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, बोक्सीको आरोपमा मलमूत्र खुवाउने, विभिन्न यातना दिने र एक किसिमले सामाजिक बहिष्कार नै गर्ने, दाइजोको निहुँमा शारीरिक तथा मानसिक यातना दिने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्िचत गर्ने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भइरहेका छन् ।
सुरक्षित जन्मन पाउनु बच्चाको अधिकार हो तर धेरै छोरीहरू गर्भमै सुरक्षित छैनन्, । जन्मिएपछि पालन पोषणदेखि शिक्षादीक्षा र स्वास्थ्यमा छोरा र छोरीबिच विभेद छ । छोरीको उच्च शिक्षाका लागि कम लगानी गरिन्छ । सकेसम्म कम उमेरमै विवाह गरेर परिवारले आफ्नो जिम्मेवारी पन्छाउन खोज्छ । सुरुदेखि नै अर्काको घर जाने जातको रूपमा छोरीलाई हेरिन्छ र महिलामाथि विभेदको सुरुवात घरबाटै हुन्छ ।
छोरीलाई विभेद भयो भन्दै आफ्नै ज्वाइँ र ज्वाइँको परिवारलाई सराप्ने तर आफ्नै बुहारीलाई प्रताडित गर्ने आमा/सासूहरू पनि हाम्रै समाजमा छन् । छोरीमाथि विभेद भएको देख्ने आमाले आफ्नै बुहारीमाथि भएको विभेद देख्दैनन् । भाउजूले आफ्नी आमालाई बुढेसकालमा दुःख दिएको कुरा गरेर नथाक्ने तर आफ्नै सासूलाई दुःख दिइरहने छोरी/बुहारीहरू हाम्रै समाजमा छन् । नन्दले भाउजूमाथि र भाउजूले नन्दमाथि हिंसा गर्ने गरेको हाम्रै समाजमा देख्न पाइन्छ । यसरी एउटी महिलाले अर्को महिलामाथि हिंसा गर्ने गरेको पनि हाम्रै समाजमा देख्न सकिन्छ । यस्ता थुप्रै थुप्रै समस्या हाम्रो समाजमा व्याप्त छन् । हामी यसका भुक्तभोगी छौँ ।
महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गर्दछ । अधिकांश महिला अहिले पनि घरधन्दा र चुलोचौकोमै सीमित रहनु परेको छ । यसले पनि महिला हिंसाको जोखिम बढाएको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी महिला हिंसा मधेश प्रदेशमा हुने गरेका छन् । घरेलु हिंसाका घटना पनि मधेशमै धेरै छन् । मधेसमा दाइजोको नाममा पनि धेरै महिला हिंसा हुने गरेको छ । दाइजो नल्याएको कारणबाट घरबाट निकालिएकोदेखि जिउँदै जलाइएको घटना बेलाबेलामा सुनिन्छ । समयक्रमसँगै शिक्षा र चेतनाको विस्तार हुँदै गर्दा क्रमिक रूपमा दाइजो जस्तो कुप्रथा उन्मूलन हुनुपर्ने हो तर यो यसमा खासै कमी आएको देखिँदैन ।
नेपालको संविधानको धारा ३८ को उपधारा १ मा महिलाको हक भनेर लैङ्गिक भेदभाव बिना समान वंशीय हक दिइएको छ । यस्तै सोही धाराको उपधारा ३ ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको कार्य वा शोषणलाई कानुनबमोजिम दण्डनीय मानेको छ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको छ । यस्तै नयाँ कानुनी अपराध संहिता ऐन, २०७४ मा पनि बलात्कार गर्नेलाई उमेर अनुसार सजाय तोकेको छ ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्िचता गर्न सामानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ तर व्यवहारमा कार्यान्वयन भएको छैन । राज्यका हरेक निकायमा अझै लैङ्गिक समानता देखिँदैन ।
नेपालमा लैङ्गिक हिंसा न्यून गर्नका लागि थुप्रै कानुनी र संरचनागत प्रयास भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासन्धि, प्रतिज्ञापत्र, प्रस्तावहरूको नेपाल पक्ष राष्ट्र भइसकेको छ । महिलामाथि हुने विभेद तथा हिंसा रोक्नका लागि राज्यले विभिन्न कार्ययोजना कार्यान्वयनसमेत गरेको छ । हिंसापीडित महिलालाई कानुनी र आर्थिक सुरक्षा प्रदान गर्न नीतिगत व्यवस्था पनि गरिएको छ तर पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन सकेको देखिँदैन ।
महिला हिंसाका कारण महिला मात्र होइन, सिङ्गो समाज नै प्रभवित हुने गर्छ । यो केवल महिला वर्गको सरोकारको विषय नभई समग्र समाजको चिन्ता र चासोको विषय हो । यस्तो यातनाजन्य आपराधिक कर्मलाई रोक्न सबैले आआफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्न सक्नु पर्छ ।