काठमाडौँ, मङ्सिर ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ ।
क्यानले आइतबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा अर्जुन कुमाल रहनुभएको छ ।
अन्य खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहनुभएको छ ।
क्यानले टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी यसअघिनै शक्ति गौचनलाई र सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिएको थियो ।
एसिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । यस समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का रहेको छ ।नेपालले मङ्सिर १४ गते श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेको छ । सेमिफाइनल खेल मङ्सिर २१ र फाइनल खेल २३ गते हुनेछ।