• ११ पुस २०८१, बिहिबार

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

blog

फाइल तस्बिर

सन्तोष सुवेदी
कास्की, मङ्सिर ९ गते । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ ।

न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि कात्तिक २५ मा उहाँलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

उहाँमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो ।

त्यसबिचमा रुपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रुपन्देही लगेर बयानसमेत लिइएको थियो ।

रविविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले लामिछानेसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्व डिआइजी छविलाल जोशी र कुमार रम्तेललाई काठमाडौँ ल्याएर बयान लिइसकेको छ । छविलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो । लामिछानेलाई पनि काठमाडौँ ल्याउने तयारी भएको छ ।