काठमाडौँ, मङ्सिर ९ गते । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि काठमाडौँमा सुरु हुँदैछ । आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आइतबार गल्फ टुर सन् २०२४/२५ को खेल तालिका सार्वजनिक गरेको हो ।
चालु सिजनमा आठ वटा प्रतियोगिता हुने र यसको पुरस्कार कुल ६७ लाख ३२ हजार रुपियाँ हुने एसोसिएसनले जनाएको छ । जस अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुनेछ ।
चार दिने प्रतियोगितामा ३३ प्रो र १२ जना एमेच्योरको सहभागिता रहनेछ । शीर्ष २१ प्रो र ६ एमेच्योर दुई दिनको ३६ होलपछि थप ३६ होलको फाइनल राउन्डका लागि छनोट हुनेछन् ।
कूल आठ लाख ८२ हजार पुरस्कार राशि रहेको यस प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।