• ११ पुस २०८१, बिहिबार

अन्नपूर्णमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि खेलाडी र दर्शकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ९ गते । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि माध्यमिक विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कबड्डी र भलिबलको ३० वटा इभेन्टमा ९० वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विद्यालय स्तरमा खेल प्रतिभाको पहिचान र नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले विद्यालय स्तरमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतियोगितामा विजयी हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद  ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार दोस्रोले ४० हजार र तेस्रोले हुने विद्यालयले नगद ३० हजार रुपियाँका साथमा ट्रफी र मेडल पाउनेछन् । प्रत्येक विद्यामा विजयी हुने विद्यालयले नगद पाँच हजार र ट्रफी वितरण गरिने छ । उत्कृष्ट खेलाडीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ । प्रतियोगिता ११ गते समापन हुने गाउँपालिकाले जनाएको छ ।