• ५ जेठ २०८१, शनिबार

लयमा फर्किने आशा

blog

लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारका कारण लगानीकर्ता निराश भइरहेको अवस्थामा नेपाल राष्ट्र बैङ्कद्वारा शुक्रबार जारी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि भने नयाँ परिस्थिति सिर्जना भएको छ। अनुमान गरिए अनुसार नै आइतबारे बजार खुल्नासाथ सेयरका भाउमा एकाएक उछाल आयो । सेयरका भाउ तीव्र बढ्दा छोटो समयमै कारोबार रोक्नु पर्‍यो । सेयर बजारको तथ्याङ्कीय मापक नेप्सेमा १११ अङ्कको वृद्धि भयो । अर्को दिन सोमबार नेप्से बढेन, बरु घट्यो तर कारोबार झन्डै पाँच अर्ब पुग्यो । केही वर्षअघि तीन हजार बिन्दुभन्दा माथि पुगेको नेप्से क्रमशः घट्दै दुई हजार बिन्दुभन्दा तल आएपछि लगानीकर्ता निराश थिए । कतिपय त सेयर कारोबारबाट राम्रो आम्दानी गरेर सुखद जीवन निर्वाह गरिरहेको अवस्थामा एकाएक ओरालो लागेको सेयर बजारका कारण मर्नु न बाँच्नुको स्थितिमा पुगेका थिए । 

केन्द्रीय बैङ्कले अवलम्बन गरेको संशोधित नीतिका कारण बजार पुनः पहिलेकै लयमा फर्किने आशा पलाउँदा सेयर कारोबारीले केही हदसम्म राहत अनुभव गरेका छन्। 

आइतबारको कारोबारमा ‘सर्किट ब्रेक’ का कारण पटक पटक कारोबार रोकिँदा कारोबार जम्मा नौ मिनेटमा सीमित भएको थियो। यसबिचमा नेप्से १११.२० बिन्दुले बढेर १९६३.९८ कायम भएको थियो। नेप्से ६ प्रतिशत बढ्दा नियमित कारोबारका लागि तोकिएको समयअघि नै धितोपत्रको किनबेच बन्द भएकाले कारोबार रकम भने ४८ करोड २४ लाख ८२ हजार २३९ रुपियाँमा सीमित भएको थियो । सोमबार दोहोरो अङ्कले नेप्सेमा कमी भए पनि कारोबार भने उच्च हुनुले आगामी दिन बजार सकारात्मक दिशामा अगाडि बढ्ने विश्वास बढेको छ ।

सेयर बजारमा यस्तै उच्च वृद्धि दुई वर्षअघि पनि भएको थियो। २०७८ मङ्सिर ३० गते बजार छ प्रतिशतले बढेर बन्द भएको थियो। त्यो दिन बजार १३७ अङ्कले बढेर २४१८.८५ बिन्दुमा बन्द भएको रेकर्ड कायम छ ।  राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति अवलम्बन गरेपछिको पहिलो र दोस्रो दिनको कारोबार प्रवृत्तिले बजार पहिलेकै अवस्थातिर फर्किन सक्ने केही आशा जगाएको छ । पुँजी बजार विज्ञहरूले यसलाई मौद्रिक नीतिको समीक्षासँग जोडेर हेरेका छन् । केन्द्रीय बैङ्कले सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेकै कारण बजारमा उछाल आएको विश्लेषण गरिएको छ । यसले तत्कालका लागि लगानीकर्ताको मनोबल बढाएको देखिए पनि आगामी दिनमा बजारले यसरी नै सकारात्मक गति लिने हो कि होइन भन्नेतर्फ भने लगानीकर्तामा दुबिधा कायमै छ । सोमबारको बजार प्रवृत्तिले समेत यो तथ्यलाई प्रतिविम्बित गरेको छ । दोस्रो दिन नेप्से २० अङ्कले घटे पनि कारोबार भने चार अर्ब ८४ करोड पुगेकाले लगानीकर्ता बजारतिर झुम्मिएका छन् तर केन्द्रीय बैङ्कको परिवर्तित नीतिसँगै अर्थतन्त्रमा आधारभूत सुधारसमेत बजार सुधारको दिगो आधार हुने कतिपयको विश्लेषण छ।

केन्द्रीय बैङ्कले त्रैमासिक समीक्षामार्फत नीतिगत दरमा पनि हेरफेर गरेकाले बैङ्क कर्जाको ब्याजदर घटाउन मद्दत गर्ने ठानिएको छ। नीतिगत दर घटाउँदा बैङ्कहरूलाई ब्याजदर घटाउन सहज हुने अनुमान विज्ञहरूले गरेका छन् । केही बैङ्कले त ब्याजदर घटाएको सार्वजनिक जानकारी गराइसकेका पनि छन् । केन्द्रीय बैङ्कले विगतमा सेयर बजारलाई कस्ने नीति ल्याउँदा बजार ओरालो लागेको र अहिले लचिलो हुँदा लगानीकर्तामा उत्साह बढेको विश्लेषकहरूको बुझाइ छ । सेयर लगानीकर्ता जलविद्युत्, बिमा, होटल तथा पर्यटन, विकास बैङ्क, उत्पादन तथा प्रशोधन, माइक्राे फाइनान्स तथा फाइनान्स उपसमूहको सेयरतर्फ आकर्षित हुँदा बजारमा उज्यालो छाएको हो । यद्यपि सबै कम्पनीको सेयर उसरी नै उकालो लागेको भने होइन । 

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैङ्कले घरजग्गा कर्जाको सीमा वृद्धि गर्नुका साथै सेयर, घरजग्गा कारोबार र हायर पर्चेज कर्जाको जोखिम भार एकसाथ घटाएको छ । नीतिमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई समेत लचिलो बनाउँदै कार्यान्वयनमा ल्याइने भएका कारण ठूलो मात्रामा लगानीयोग्य रकम बाहिर निस्किने अपेक्षा गरिएको छ । यसबाट सेयर बजारतर्फ लगानी वृद्धि हुँदा विद्यमान अर्थतन्त्रमा सुधार आउने सङ्केत देखिएको छ । यस्तो अवस्थामा लगानीकर्ता भने सजग हुनै पर्छ । देखासिकीका भरमा लगानी गर्नुभन्दा कुन कम्पनीको कस्तो वित्तीय विवरण छ भनेर परिपक्व विश्लेषण गरी लगानी गर्नु वाञ्छनीय हुन्छ ।