• ९ मंसिर २०८१, आइतबार

सङ्कल्प यात्राका अन्तर्य

blog

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमार्फत राष्ट्रिय राजनीतिमा नयाँ सन्देश प्रवाहित भइरहेको समृद्धिका लागि सङ्कल्प यात्राले नयाँ सन्देश दिइरहेको छ । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको पुष्पलाल मध्यपहाडी लोकमार्गलाई आधार बनाएर हुने यो अभियान नेपाली मोडलको मौलिक लङ मार्चका रूपमा हेरिएको छ । राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै जनताबिचमा जाने र त्यसबाहेकका समयमा जनताका दैनन्दिन जीवन यापनका विषयमा बेखबर हुने गरेको आलोचना खेप्दै आएका छन् । त्यसैले एमालेले मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्गलाई आधार बनाएर समृद्धिका लागि सङ्कल्प यात्रा गरेको हो । यसले जिम्मेवार राजनीतिक दल सरकारमा रहँदा जनताका आवश्यकतामा आधारित कार्यक्रममार्फत र प्रतिपक्षमा रहँदा पनि निरन्तर जनताका बिचमा रहेर जनताका एजेन्डामै उभिन्छन् भन्ने सन्देश दिएको छ । 

स्थानीय सम्बन्धलाई पुनर्जागृत गर्दै राष्ट्रिय सन्देश दिने यो अभियानमा मुख्य रूपमा मध्यपहाडी क्षेत्रका नागरिकको गुणस्तरीय शिक्षा तथा स्वास्थ्यलगायतका विकासका विषय र बढ्दो बसाइँसराइका कारण रित्तिँदै गएको ग्रामीण भेकको सवाल रहेका छन् । यो अभियानबाट राजनीतिमा प्रतिस्पर्धीका बिचमा हेट स्पिचको वर्षाले भन्दा सौहार्दपूर्ण सम्बन्ध र जनसरोकारका मुद्दाको उठानले नयाँ स्पेश निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुगेर अध्यक्ष ओलीले उहाँलाई गर्नुभएको टेलिफोन संवाद र स्थानीय नागरिकका समस्या र सरकारसँगको अपेक्षाप्रति ध्यानाकर्षण गराउने शैलीले नेपाली राजनीतिमा बढ्दो हेटस्पिचको प्रतिस्पर्धालाई विस्थापनको सन्देश दिएको छ । 

अभियानको पहिलो दिन झुलाघाटबाट अभियानको सुरुवात गरी गोठालापानीमा सभा गरुन्जेलसम्म त्रिपुरासुन्दरी, सतबाँझ, पाटन, खोड्पेलगायतका स्थानमा स्थानीयसँग छलफल र भेटघाट भए । ती भेटमा स्थानीयले जुन किसिमको माया व्यक्त गर्दै अपेक्षा राखे त्यसले अभियानमा निस्किएको टोलीले नयाँ ऊर्जा, नयाँ सिकाइ र भोलिको राष्ट्रिय विकासका एजेन्डा उठाउँदा सुदूरपश्चिमका पहाडी भेकका यथार्थ र सपना सिँगार्ने सम्भावना फेला परेका छन् । ओलीले स्थानीयको जनजीवनसँग एकाकार हुने गरी कार्यकर्ता पङ्क्तिलाई सन्देश दिनुभएको छ । स्थानीय परिकार खाने, लवाइ लगाउने र उत्पादन खरिद गर्ने र कोसेलीपात लिनेदिने संस्कार आदिलाई निरन्तरता दिनुभएको छ । यी क्रियाकलापले स्थानीय संस्कृतिको सम्मान र स्थानीय अर्थतन्त्रको वृद्धिका विकल्पको बहस भएका छन् । 

पहिलो दिन अमरगढीमा बास बसेर नेपाली 

वीरहरूले लडेका किल्ला र गढीको महत्व र सम्मानका सन्दर्भमा ओलीले पार्टी पङ्क्ति र आमनागरिकमा नै राष्ट्रियता, अङ्ग्रेजको इतिहास र पर्यटनमार्फत समृद्धिको सम्भावनालाई सन्देशका रूपमा प्रवाहित गरियो । नेपाल अङ्ग्रेज युद्धमा सहादत प्राप्त गरेका राष्ट्रिय विभूति अमरसिंह थापा, किसान आन्दोलनका नेता सहिद भिमदत्त पन्तदेखि पछिल्ला पुस्ताले गरेको त्याग, बलिदान र योगदानको पनि चर्चा गरिएको छ । राणासँगको सङ्घर्षमा सहादत प्राप्त गरेका दशरथ चन्दसमेतलाई सम्झँदै सुदूरपश्चिमबाट सुरु भएको यात्राले राजनीतिक मात्र नभई धार्मिक र सांस्कृतिक एकताको सन्देशसमेत दिएको छ । 

डोटीको शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी, निङ्गालासइनीलगायत धार्मिक महत्वका स्थानमा क्षमापूजादेखि विशेष पूजासम्म, स्थानीयका संस्कृतिको अपनत्व बोधदेखि स्थानीय सिप र आर्थिक विकासका स्रोतलाई महत्वका साथ अवलोकन र अन्तव्रिर्mया गर्नाले मध्यपहाडी क्षेत्रको एमालेप्रतिको अपनत्व बोध उत्साहजनक छ ।

दैलेख, रुकुम, जाजरकोटमा विभिन्न द्वन्द्व एवं आन्दोलनका सहिद सम्झँदै राजनीतिक सीमितताभन्दा माथि उठेर राष्ट्रका निम्ति योगदान गर्नेहरूलाई सम्झने नयाँ संस्कारको शुभारम्भ भएको छ । बसाइँसराइले थिलथिलिएको पहाड र बोझ थेग्न नसक्ने तराई तथा उपत्यकाको सीमितताको सन्तुलनका लागि वैकल्पिक बहस यात्राका रूपमा पनि यो सङ्कल्प यात्रालाई बुझाइने काम भएको छ । 

डोटीको सिलगढीबाट सुरु भएको यात्रामा हालसम्म स्थानीय बालबालिकादेखि ज्येष्ठ 

नागरिकसम्म र जिल्लामा क्रियाशील राजनीतिक दलदेखि अल्पसङ्ख्यक कुसुन्डा र राउटेसम्मले भरोसाको विम्बका रूपमा एमालेलाई जुन व्यवहार गरेका छन् यो अभियानको पुँजी हो । रुकुम र जाजरकोटमा भूकम्पपश्चात् पुनर्निर्माणको छलफललाई केन्द्रित गरिएको छ भने दैलेखमा पेट्रोलियम उत्खनन्का लागि आफूले गरेको प्रयास र गर्नुपर्ने आवश्यकता र सम्भावनाको विषयमा ओलीले चर्चा गर्नुभएको छ । यसले मध्यपहाडी क्षेत्रलाई नयाँ आशा जगाएको छ । भेरी बबइ डाइभर्सनको चर्चा र कृषिमा हुने सम्भावित प्रगतिका कुराले एक पटक किसानमा नयाँ आशा जगाएको छ भने नेकपा एमालेले उठाएका एजेन्डा, निरन्तरतामा स्वामित्व ग्रहण र गन्तव्यको चर्चा चलाएको छ । 

जाडो बढेसँगै लेकबाट भेडीगोठ पहाड सार्ने गरेका मध्यपहाडी लोकमार्गका चलन अहिले पनि उस्तै छन् । चिसोबाट जोगिनका लागि भेडाको ऊनबाट बुनेका स्विटर, कोट, गलबन्दी, टोपी, मफलर यहाँको समुदायको आवश्यकता र बिक्रीका मालवस्तु हुन् । अछामको मङ्गलसेनमा पाइने नौमुठी गाईको दुधबाट बनाइएको खिर खाएको चर्चा केवल स्वाद र परिकारको मात्र नभई रैथाने नश्ल र त्यसमा जोडिएको पोषणको विषयसमेत बनेको छ । यो गाईको प्रजातिको संरक्षण र व्यावसायीकरण तथा व्यावसायीकरणको चापमा छुटेको मौलिक रैथाने संस्कृति र सभ्यताको जगेर्नासमेत सरोकारको विषय बनेको छ । कृषि पशुपालन, सिप र जनजीवन नै समृद्धिको मूल विषय रहेको सङ्कल्प यात्राका क्रममा चर्चाका विषय बनेका छन् । यी सिप यहाँका रैथाने सिप हुन् । नयाँ पुस्तामा यी सिपलाई संरक्षण परिमार्जन र व्यावसायिकीकरण गर्नु पर्छ भन्ने सन्देश गएको छ । व्यावसायिक तहमा यो पेसा र व्यवसायलाई व्यावसायीकरण गर्नु पर्छ र ब्रान्ड बनाउनु पर्छ भन्ने सन्देशसमेत प्रवाह भएको छ । 

समृद्धि सङ्कल्प यात्राको पश्चिमी खण्डबाट क्रमशः मध्य हुँदै पूर्व लाग्दै गर्दा मध्यपहाडी क्षेत्रको तामाङ समुदायका रैथाने संस्कृति र पेसाको विषयमा बहस हुने छ । रसुवा, नुवाकोट, काभ्रे, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र आसपासका क्षेत्रमा आवश्यक भौतिक पूर्वाधारका विषयमा र भइरहेका विकास आयोजनाको उपलब्धिका विषयको चर्चा केन्द्रमा हुने छ । हिमाल र पहाडलाई जोड्ने उत्तरदक्षिण कोरिडोरलाई जनअनुमोदनको पूर्वाभ्यासको रूपमा सञ्चालित यो सङ्कल्प यात्राले आगामी राजनीति र एमालेकै नेतृत्वमा समृद्धिको लक्ष्य प्राप्तिको सङ्कल्प यात्राका रूपमा पहिचान निर्माण गर्ने छ । नेपालको पहाडी भूगोलको बाहुल्य समुदायका रैथाने पेसा र उनीहरूको कारण संरक्षित रहेको प्राकृतिक स्रोतसाधनको समुचित परिचालनको विषय पनि समृद्धि यात्राको अर्को एउटा महत्वपूर्ण सवाल हुने छ । 

मध्यपहाडी लोकमार्गको आसपासको कृषिउपज र रैथाने बिउको संरक्षण र व्यावसायीकरण, कृषिमा परेको जलवायु परिवर्तनको असर र अनुकूलनका प्रयास पनि यात्राका मुख्य विषय बन्ने छन् । रैथाने समुदाय आश्रित परम्परागत पेसाहरू काठका भाँडा बनाउने, बेत बाँस निगालोमा आधारित पेसा गर्ने, बुट्यान तथा जडीबुटीमा आश्रित परम्परागत पेसालाई कसरी व्यावसायिक बनाउने र मानव प्रकृति द्वन्द्वलाई कसरी न्यूनीकरण गर्ने भन्ने उपाय निराकरणको प्रयत्न हुने छ । प्राकृतिक प्रकोप, जलवायु परिवर्तनका कारण सृजित प्राकृतिक विपत्ति र मानव वन्यजन्तु द्वन्द्व आदिको निराकरणको विषयलाई पनि स्थानीय समुदायसँगको अन्तव्रिर्mयाकै आधारमा समाधान निकाल्ने प्रयत्नका लागि समेत नेकपा एमालेले नेतृत्व गर्ने छ । 

मध्यपहाडी लोकमार्गमा आधारित भएर सञ्चालन गरिएको समृद्धिका लागि सङ्कल्प यात्राबाट मध्यपहाडी क्षेत्रको रैथाने समुदाय र मध्यपहाडी सभ्यतामा विकास भएका केही अभ्यासलाई राष्ट्रिय महìवका रूपमा विकास गर्न सकिन्छ । पोषण र आर्थिक विकासका लागि आत्मनिर्भरताको प्रेरक पशुपालन र रैथाने कृषि पेसालाई आन्तरिक अनुसरण तथा गहिरो अनुसन्धान गरी अन्तर्राष्ट्रिय आकर्षणको विषय बनाउन सकिन्छ । पुस्तौँदेखि देशलाई आत्मनिर्भर बनाइरहेको मध्यपहाड पछिल्लो समयमा किन निराश र बसाइँसराइ उन्मुख छ भन्ने खोजी गरेर त्यसको उपाय पहिचान गर्न जरुरी छ । 

नेपाली मध्यपहाडी सभ्यता र संस्कृतिको अर्को बलियो पक्ष प्रकृति संरक्षण र वनजङ्गल विस्तार हो । रुख हुर्काउने नेपाली प्रविधि नेपाली मध्यपहाडबाट सिकेर स्विसहरूले इथियोपियालगायतका देशमा लगेको इतिहास छ । यो विरासतलाई आन्तरिक रूपमा देशव्यापी विस्तार र स्वामित्व ग्रहणको प्रसार गर्न जरुरी छ । नेपालको मध्यपहाडको रैथाने भेडा र चौँरीले धानेको आन्तनिर्भर अर्थतन्त्र र मौलिक स्वास्थ्य अनुसन्धान विश्वका धेरै व्यावसायिक मानिएका फार्म र रिसर्च सेन्टरभन्दा कालजयी छ यसको स्वामित्व ग्रहण र संस्थागत अपनत्वको अभाव छ । यी सम्पूर्ण विषय समृद्धि सङ्कल्प यात्राको विषय बन्नु पर्छ, बनिरहेको छ । 

जनताको समृद्धिको सपना साकार बनाउन र मुर्झाएका सपना जागृत गराउने अभिप्रायले सञ्चालित यो सङ्कल्प यात्राले राजनीतिक रूपमा त सन्देश दिएको छ नै आर्थिक सामाजिक सांस्कृतिक, पर्यावरणीय, प्राकृतिक, ऐतिहासिक र राष्ट्रिय एकताको सूत्राधार नेकपा एमाले हो भन्ने सन्देश प्रवाहित 

भएको छ । 

  

Author

सुनिता बराल