• ३१ वैशाख २०८१, सोमबार

विकिरणको प्रभावले तस्बिर दानेदार

blog

सन् १९८६ अप्रिल २६ मा चेर्नोबिलमा विस्फोट भएको थियो । त्यसको १४ घण्टापछि चेर्नोबिलको जुन पहिलो तस्बिर खिचियो, यो त्यही हो । दुर्घटना भएको क्षेत्रमा विकिरणको स्तर मापन गर्न गएको हेलिकोप्टरबाट यो तस्बिर खिचिएको थियो । वायुमा विकिरण अत्यधिक भएका कारण तस्बिर दानेदार छ । 

क्यामराले तस्बिर खिच्न लाग्दा विकिरणका कारणले त्यसको रिल नै नष्ट हुन थालेको थियो । सो तस्बिर खिच्ने इगोर कोस्टिनले २० जति तस्बिर के खिचेका थिए क्यामराको मोटरमा नै विकिरणको प्रभाव पर्न थाल्यो । जब उनले रिलबाट तस्बिर तयार पार्न थाले यो तस्बिर मात्र प्रयोग योग्य बन्यो, विकिरणको प्रभावले अन्य सबै तस्बिर पूर्णतया कालो भए ।

विकिरण प्रभावित चेर्नोबिलमा कोस्टिनको भ्रमण कानुनी रूपमा तथा अधिकारीहरूद्वारा अनुमोदित थिएन । परमाणु संयन्त्रमा भएको सो विस्फोटको घटना रुसी अधिकारीहरूले लुकाएका थिए । कोस्टिनलाई पछि दुर्घटनास्थलको तस्बिर खिच्ने, प्रिपयातका बासिन्दाको बसाइँसराइ तथा परमाणु संयन्त्रको ३० किलोमिटर क्षेत्रको तस्बिर खिच्ने अनुमति दिइयो । उनले खिचेको तस्बिरले चेर्नोबिलको त्रासदी संसारलाई थाहा भयो । चेर्नोबिलको उच्च विकिरण क्षेत्रमा गएको भए पनि कोस्टिनमाथि घातक परिमाणमा विकिरणको प्रभाव परेन । सन् २०१५ मा ७८ वर्षको उमेरमा कार दुर्घटनामा उनको निधन भयो । 

–युवामञ्च