• १२ साउन २०८१, शनिबार

आलु उत्पादन प्रवर्द्धनमा तीन करोडको लगानी

blog

कृषकहरु खायन आलु लगाउँदै ।

प्रनिश गिरी

कुश्मा-पर्वत मङ्सिर २१ गते । कृषकलाई व्यावसायिक बनाउने लक्ष्य सहित खायन आलु उत्पादन प्रवर्द्धनमा कृषि ज्ञान केन्द्र पर्वतले तीन करोडको लगानी गर्ने भएको छ । पर्वतका सातवटै पालिकाका कृषक समूह सहभागी हुने गरी आलु उत्पादन प्रवर्द्धनको कार्यक्रम लागू गरिएको छ । 

पर्वतको खेतीयोग्य जमिनमध्ये १३ सय हेक्टरमा यसअघि आलुखेती हुँदै आएकोमा यस वर्ष ज्ञान केन्द्रको विशेष फोकसमा थप १२५ हेक्टर जमिनमा कृषकले आलु खेती गरेका छन् । खायन आलुको व्यावसायिक खेतीका लागि सम्झौता गर्नेमा ५५ वटा कृषक समूह छन् । 

एक कृषक समूहले कम्तीमा पनि ३० रोपनी क्षेत्रफलमा आलुखेती गरेका छन् । कार्यक्रमले २५ सय मेट्रिक आलु उत्पादन गर्ने लक्ष्य लिएको छ । कृषकहरुलाई आलुकाे बीउ प्राविधिक ज्ञान, विषादी लगायतमा कृषि ज्ञान केन्द्र पर्वतले सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार खायन जातकाे आलु अन्तर्गत पर्ने जनकदेव, कार्डिनल, एमएस ४२, खुमल सेतो पर्वतका कृषकहरुले लगाएका छन् । 

कृषकका लागि ज्ञान केन्द्रले बिउँ वितरणमा ७५ प्रतिशत अनुदान दिएको छ । कृषकहरुले आलुको बिउँ आफैं खरिद गरेको भएपनि उत्पादन क्षेत्रफलको हिसाब गरी ज्ञान केन्द्रले पछि रकम भुक्तानी गर्ने बताइएको छ । आलु प्रवर्द्धन कार्यक्रमले कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि अधिकृत परशुराम अधिकारीले आलु प्रवर्द्धन कार्यक्रमले पर्वतलाई आलुमा आत्मनिर्भर बनाउने बताउँदै भन्नुभयो, “आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा भित्रिने भारतीय आलुलाई विस्थापित गर्नेछ । उत्पादित आलुलाई चिस्यान केन्द्रमा सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाएर बेमौसममा पनि आलु सहजै उपलब्ध हुन्छ । कृषकले हतार हतार गरी आलु विक्री गर्ने र केही समयपछि फेरि भारतीय आलु उपभोक्ताले खानुपर्ने अवस्था हुनेछैन ।” 

जलजला गाउँपालिका वडा ८ को घैयाबारी फलफूल तथा कृषक समूहले करिब ४० रोपनी क्षेत्रफलमा खायन आलुखेती गरेको छ । सो समूहका २७ जना कृषक सहभागी छन् । समूहका अध्यक्ष दिलीप रेग्मी रेग्मीले ज्ञान केन्द्रको सहयोगबाट आफूहरु आलु उत्पादनमा हौसिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी ढुक्क छौं कि आलु उत्पादन अपेक्षाभन्दा राम्रो हुनेछ । अझै ज्ञान केन्द्रले पछि रकम दिनुभन्दा पनि पहिले नै आलुको व्यवस्था गरिदिएको भए पैसा नहुने कृषक सदस्यलाई अलि आर्थिक भार पर्ने थिएन । आलुको बीउ खरिद गर्न पनि पैसाको अभाव हुने कृषकहरु हुनुहुन्छ ।”

त्यसैगरी ५० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुभएका महाशीला गाउँपालिका ४ का मिलीजुली कृषक समूहका सदस्यहरु पनि आलुखेतीबाट उत्साहित छन् । मोदी गाउँपालिकामा आलुखेती गर्ने साना किसान समूहका अध्यक्ष गङ्गाधर शर्माले आफूहरुले ८० रोपनी क्षेत्रफलमा १२० बोरा आलुको बीउ लगाएको बताउनुभयाे । “आलु उत्पादनबाट राम्राे आम्दानी गर्ने लक्ष्यसहित समूहमा रहेर काम गरेका छौं । ज्ञान केन्द्रको सहयोगले कृषकहरुलाई थप हौसला मिलेको छ", उहाँले भन्नुभयाे ।