• १० मंसिर २०८२, बुधबार

निर्वाचनको वातावरण बन्दै गएको छः मुख्यमन्त्री बानियाँ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

 हात्तीसुढे (मकवानपुर), मङ्सिर १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी फागुनका लागि तय भएको निर्वाचनको वातावरण बन्दै गएको बताउनुभएको छ । 

उहाँले फागुन २१ गतेका लागि सरकारले तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपयुक्त वातावरण निर्माण हुँदै गएको भन्दै निर्वाचनलाई सफल बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो । 

मुख्यमन्त्री बानियाँले मकवानपुरको बकैया गाउँपालिका कार्यालयको वडा नम्बर ३ स्थित हात्तीसुढेमा नवनिर्मित कार्यपालिका भवनको बुधबार उद्घाटन गर्दै अब सबैको ध्यान निर्वाचनमा जानुपर्ने बताउनुभयो । 

उहाँले सहभागी हुन सबै दलहरु निर्वाचन आयोगमा दर्ता भइसकेकोले निर्वाचनका लागि वातावरण बनेको भन्दै सरकारको जिम्मेवारी शान्ति सुरक्षालाई अझ सुदृढ बनाउनु रहेको बताउनुभयो । 

उहाँले निर्वाचनमा जनताले निष्पक्ष र सक्रिय रुपमा भाग लिने भन्दै जनताले प्रतिनिधि छान्दा ठिक पार्टी र ठिक व्यक्ति छान्ने दिन आएको बताउनुभयो । 

बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले स्थानीय तहले जनपक्षीय काम गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले नागरिकको नजिकको सरकार भएको स्थानीय तहले अनुभूति दिनुपर्नेमा जोड दिनुभयो । 

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पूर्वाधार विकास मात्र विकास नभएको भन्दै कृषिमा विकास गर्न नसक्दा युवा पलायन बढेकोले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष भुवन सिंह घलान, सहकारी संस्थाका तर्फबाट तोयनाथ दाहालले पालिकाले दिँदै आएको सेवाको बारेमा चर्चा गर्नुभएको थियो ।