• १० मंसिर २०८२, बुधबार

वन्यजन्तुका लागि सौर्य ऊर्जाबाट पानीको व्यवस्था

blog

ज्ञानु पंगेनी

मध्यविन्दु, मङ्सिर १० गते । नवलपुरको कावासोती नगरपालिका १३, मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गरिएको छ । 

हिउँदको समयमा सिमसारहरुमा पानी सुक्ने र वन्यजन्तुका लागि पानीको अभाव हुँदा बासस्थान परिवर्तन गर्ने, कहिलेकाँही बस्तीतर्फ प्रवेश गर्ने गरेको हुँदा वन भित्रनै सौर्य ऊर्जाबाट पानीको व्यवस्थापन गरिएको नमूना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो ।

वनमा जङ्गली जनावरका लागि पानीको अभाव हुँदै गएपछि सामुदायिक वन भित्र सेन्चुरी घोल क्षेत्रमा सौर्य ऊर्जाबाट पानीको प्रबन्ध गरिएको हो । यसले उक्त घोलमा बाह्रै महिना पानीको अभाव नहुने अध्यक्ष गुरुङले बताउनुभयो । 

वनभित्र रहेका सिमसारका क्षेत्र सुक्न जादा वन्यजन्तुका लागि पानीको अभाव हुने भएकाले पानीको श्रोत सुक्न नदिका लागि सौर्य ऊर्जाबाट चन्ले गरि स्वचालित बोरिङ्ग गाडिएको अध्यक्ष गुरुङले बताउनुभयो । पानी खोज्दै बन्यजन्तु बस्तीतर्फ जाँदा मानव र वन्यजन्तु बिचको द्धन्द निम्तिने भएकाले समेत यसलाई घटाउनका लागि समेत वनभित्र पानीको प्रबन्ध गरिएको उहाँले बताउनुभयो । मानव जस्तै वन्यजन्तुका लागि पनी पानी नभै नहुने भएकाले उनिहरुको आवश्यकता पुरा गर्न पानीको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

बिहान घाम लागेपछि आफैँ बोरिङले पानी फाल्न सुरु गर्ने र साँझ घाम डुबेपछि बिस्तारै आफै बन्द हुने अध्यक्ष गुरुङले बताउनुभयो । पानी निकाल्नका लागि एक सय ४२ फिट गहिराइको बोरिङ गाडिएको उहाँले बताउनुभयो । 

गत वर्ष बुद्धढाप घोलमा पानी सुकेपछि भाडामा जेनरेटर ल्याएर करिब ८० हजार रुपिँया खर्च गरेर पानीको व्यवस्था गरेपनि त्यसरी खर्चिलो र पानीको मात्रा नपुगेपछि यो वर्ष हिमालय नेचर संस्थाको सहयोगमा सौर्य ऊर्जाबाट पानीको व्यवस्था गरिएको होे । करिब आठ लाख रुपिँया लागतमा बोरिङको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

वन क्षेत्रभित्र रहेका सिमसार क्षेत्रहरूमा पानी कम हुँदै जान थालेपछी आगामी वर्षमा समेत अन्य स्थानमा समेत स्वचालित बोरिङ गाड्ने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ । वनले आफ्नो क्षेत्रभित्रका घोलहरूको सरसफाइ र व्यवस्थापनको काम समेत गर्दै आएको उहाँको भनाइ छ ।