• १३ असोज २०८१, आइतबार

‘ब्युँझिएको सिरानी’ को मञ्चन सुरु

blog

काठमाडौँ, मङ्सिर १८ गते । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘ब्युँझिएको सिरानी’ नाटक मञ्चन सुरु भएको छ । १५ मङ्सिरबाट मञ्चन भएको नाटक ३० गतेसम्म प्रदर्शन हुने छ । नाटकलाई जेडी तमुले निर्देशन गर्नुभएको छ । वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सहप्रस्तुतिमा नाटक तयार भएको हो । मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकलाई दर्शकले मन पराइरहेका छन् । नाटकका निर्देशक जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय हुनुहुन्छ । 

नाटकमा अभिनय र समसामयिक नृत्यको संयोजन छ । “यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान हो, जसले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने गर्दछ,” निर्देशक जेडीले भन्नुभयो । 

रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, प्रतिना राई, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सिर्जना भट्टराईलगायत कलाकारको अभिनय रहेको नाटकमा अनिल सुब्बाले कला निर्देशन गर्नुभएको छ । गायिका झुमा लिम्बूले सङ्गीत संयोजन गर्नुभएको छ भने प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा सङ्गीत दिनुभएको छ ।