• ३ जेठ २०८३, आइतबार

पतिको कामना गर्दै मनाइयो ‘बर्साइत’ पर्व

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ ३ गते । मिथिलाञ्चलमा शनिबार विवाहित मिथिलानी (महिला) ले ‘बर्साइत’ पर्व मनाएका छन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । बटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी आआफ्ना बस्तीका बटवृक्ष (बरको रुख) नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन् । 

नयाँ नयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।

सत्य युगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासका आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्तीनजिकको बटवृक्षको फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गर्छन् ।

व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने आइतबारदेखि अधिकमास सुरु हुने हुँदा आइतबारको सूर्योदय हुनुअगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता सर्लाही मलङ्गवाका दीवाकर झाले बताउनुभयो ।

त्यस्तै कपिलवस्तुमा पनि शनिबार बरबोटको पूजा गरी बटसावित्री व्रत श्रद्धापूर्वक मनाइएको छ । पर्वमा महिलाले बिहानैदेखि निराहार व्रत बसी बरको रुखमुनि सामूहिक रूपमा पूजाआराधना गरेका थिए । महिलाले बरको रुखको फेदीमा काँचो धागो बेरी पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्ने चलन छ । पछिल्ला वर्षमा बटसावित्री पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा समेत विकसित हुँदै गएको संस्कृतिका जानकार पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।