• २१ असार २०८१, शुक्रबार

मल्लकालीन दरबारको पुनः निर्माण सुरु

blog

भक्तपुर नगरपालिकाको नगरप्रमुख सुनिल प्रजापति

भक्तपुर, मङ्सिर १३ गते । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालीन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ । वि.सं.२०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनः निर्माण सुरु गरेको हो ।

नगरपालिका नयाँ भवनमा सर्नु अगाडि लामो समय कार्यालय भवनको रूपमा प्रयोग गरिएको थन्थु दरबार कार्य बहुवर्षीय योजनाअन्तर्गत पुनः निर्माण अगाडि बढाइएको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार दरबार मल्लकालीन शैलीमै पुनः निर्माण गरिने छ । पुरातत्त्व विभागबाट नक्सा स्वीकृत गराई पुनः निर्माण कार्य अगाडि बढाइएको उहाँको भनाइ थियो ।  

नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रको भूकम्पले क्षति पुर्‍याएर जीर्ण बनेका एवम् टेकोको भरमा अडिएका सम्पदाको पुनः निर्माणमा विदेशी दातृ निकायको लगानीमा बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिने कार्यको विरोध गर्दै आएको छ । यहाँका क्षतिग्रस्त सम्पदाको नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च जुटाउने भन्दै उपभोक्ता समिति एवम् कालीगढबाट पुनः निर्माण गर्ने अडान लिँदै आएको छ । 

यसअघि पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्त्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रो रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनः निर्माण क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो । रासस