• १२ साउन २०८१, शनिबार

केपी ओली कप क्रिकेट : आयोजकमाथि कोशी प्रदेशको जित

blog

पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिता । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर १३ गते ।
 पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बुधबार कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘नीलो’लाई नौ विकेटले पराजित गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा कोशीले नीलोविरुद्ध सान्त्वना जित दर्ज गरेको हो ।

पहिले ब्याटिङ गरेको एकेडेमीले १७ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो । एकेडेमीका अर्जुन रायमाझीले सर्वाधिक २५ रन बनाउँदा मेहुल श्रेष्ठ र अभय यादवले समान १० रनको योगदान गर्नुभयो ।

बलिङतर्फ कोशीका सर्वन यादवले तीन विकेट लिनुभयो भने निर्दोष अन्सारी र कमल खत्रीले समान दुई र सोनु मण्डल, मनिष थापा र गौरव कटुवालले समान एक विके झार्नुभयो ।

जवाफी ब्याटिङ मैदान आएको कोशीले सात ओभर चार बलमा एक विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । कोशीका सोनु अन्सरीले अविजित ३५ रन, कप्तान अङ्कित सुवेदीले १४ र मनिष थापाले १८ रनको योगदान दिनुभयो । बलिङतर्फ एकेडेमीका सुभम खनालले एक विकेट लिनुभयो ।

प्रतियोगिताको सेमिफाइनल समीकरण मङ्गलबार नै पूरा भइसकेको छ । सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) पुगेका छन् ।

बिहीबार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ भने बिहीबार नै दोस्रो सेमिफाइनल सशस्त्र र मधेश प्रदेशबिच हुनेछ । फाइनल खेल शुक्रबार हुने तय छ ।

प्रतियोगिताका विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगद पाउनेछन् । म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट व्याटार र बलरले जनही २० हजार तथा प्लेयर अफ द म्याचले नगद पाँच हजार रुपियाँ पाउने छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपिएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेस प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘नीलो’ छन् ।