हुन त सन् १९१० मा सालभर्सन नामको प्रतिजैविक (एन्टिबायोटिक्स) औषधीको आविष्कार भएको मानिन्छ । तथापि यसले खास ठुलो क्रान्ति ल्याउन सकेन । मानिसले विश्वास पनि पूरापूर गरेनन् । जब सन् १९२८ मा स्कटल्यान्डका सूक्ष्मजीव वैज्ञानिक अलेक्जेन्डर फ्लेमिङले पेनिसिलिन नामको प्रतिजैविक औषधी तयार गरेपछि मानव जीवन एक नयाँ युगमा प्रवेश गरेको आभास भयो । किनभने त्यसपछि क्रमशः नयाँ यस्ता औषधीहरू बने । जसले मानिसमा हुने सङ्क्रमणलाई निस्तेज पारी जीवन रक्षा गरे । सङ्व्रmामक रोगको पहिचान भइसकेपछि हत्तपत्त मानिस मरिहाल्ने समयको अन्त्य भयो । १९५० देखि १९७० सम्मको २० वर्षको अवधिलाई त एन्टिबायोटिक्स आविष्कारको स्वर्ण युग मानिन्छ । यस अवधिमा यति प्रभावशाली औषधीहरू बनिए जसले जीव जगत्मा जरो गाडेका रोगहरूलाई निर्मूल पार्न सफल भए । प्रतिजैविक औषधीको आविष्कार भएपछि करिब एक सय वर्षको अवधिमा मानिसको औषत आयु २५ वर्ष थपिएको छ ।
हाल आएर फरक फरक अवयवका साथ सयौँको प्रकार र हजारौँको सङ्ख्यामा प्रतिजैविक औषधी बजारमा पाइन्छन् । सर्वसुलभ पाइने भएकाले यस्ता औषधी सर्वसाधारणले कसै विज्ञ वा चिकित्सकको सल्लाहबिना नै जथाभावी, जतिसुकै मात्रा र जुनसुकै समयमा सेवन गर्न थालेका छन् । कसैमा यस्ता औषधीको सेवनको लत नै बसेको पनि पाइन्छ ।
उस बेला वरदान साबित भएको प्रतिजैविक औषधी आज आएर अव्यवस्थित बजार र सेवनका कारण चुनौतीको रूपमा पनि खडा भएको छ । चुनौती किनभने मानिसमा मात्र प्रयोग सीमित छैन, पशुपन्छीमा पनि छ । बालीनाली–फलफूललगायत सबै किसिमका खेतीपातीमा छ । त्यति मात्र होइन, सबै किसिमका वस्तु जस्तै दुध र यसका परिकार, मासु र यसका परिकार, तरकारी, फल, फूल, अचार, औषधी आदिको भण्डारणमा सुरक्षार्थ यस्ता प्रतिजैविक रसायन प्रयोग गरिएका छन् । प्रयोगको सीमितता छैन, प्रयोगमा वैज्ञानिकता पनि छैन । यसको प्रभावकारिता र कुप्रभावकारिताको हेक्का पनि प्रयोगकर्तामा छैन । प्रयोगमा कुनै कमी छैन, बरु बढोत्तरी छ । अविकसित देशमा सन् २००० देखियता १५ वर्षमा प्रतिजैविक ओखतीको प्रयोगमा ३९ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । यस किसिमको प्रयोगमा कुनै अङ्कुश नलगाउने हो भने सन् २०३० मा २०० प्रतिशतले वृद्धि भई जाने छ । सही र सीमित सदुपयोग गर्छु भनेर पनि यसको नियन्त्रण छैन किनभने खाएको सबै पच्दैन, नपचेको अंश दिसा र पिसाबबाट वातावरणमा नै जाने हो । सेवकको मृत्यु हुन्छ, उसको जीउका सबै तत्व वातावरणमा नै जाने हुन् । अवधि पूरा भएका औषधीहरूलाई जस्तोसुकै तरिकाले नष्ट गरे पनि तिनीहरूमा भएका तìव हावा पानी माटोमा नै जाने हुन्छन् । त्यसैले आज यस्ता औषधी वातावरणका जैविक वस्तुबाट अजैविक वस्तु अर्थात् माटो, पानी, हावा सबैतिर फैलिई सकेका छन् । अचेल कुनै पनि मानिसले मैले सेवन नगरेको हुनाले म यसको प्रभावबाट सुरक्षित छु भन्न सक्ने अवस्था छैन । जैविक संसारमा छिरेको यस्तो रसायन नासिएर जाँदैन । उल्टै खाद्य जालका माध्यमबाट झन् बढ्ने र बलियो बन्ने गर्छ । जसलाई जैविक गुणोत्तरी अथवा बायोम्याग्निफिकेसन भनिन्छ ।
खासमा एउटा सूक्ष्मजीवले आफ्नो प्रतिस्पर्धी, सहकर्मी, जातवंशको अर्र्कोलाई मार्न, दबाउन वा उसको वृद्धिलाई रोक्नका लागि उत्पादन गरेको रसायन हो । सूक्ष्मजीवका बिचमा बाँच्नका लागि यस्तोसम्मको प्रतिस्पर्धा हुन्छ । हो त्यही रसायनलाई मानिसले चिनेर आफ्नो कब्जामा लिएको हो, जसलाई एन्टिबायोटिक वा प्रतिजैविक औषधी भनियो । जसले मानिस र मानिसका घरपालुवा जनावर, खेतीपाती र जङ्गली जीवलाई समेत रोग लगाउँछन् । जस्तालाई त्यस्तै किसिमका एन्टिबायोटिक बनिएका छन् । प्रोटोजोआका विरुद्ध, जुकाका विरुद्ध, किराका विरुद्ध, फन्जाइँ, ब्याक्टेरिया र भाइरसका विरुद्ध पनि प्रति जैविक औषधी आविष्कार भइसकेको हुनाले यी सूक्ष्म जीवबाट लाग्ने रोगहरूबाट सुरक्षित रहन सकिएको छ ।
अवैज्ञानिक प्रयोगका कारण आजकाल मानिसलगायत जीवमा कतिपय एन्टिबायोटिक्सले काम गर्न छोडिसकेका छन् । जसका विरुद्ध बनाइएको हो, ती सूक्ष्मजीवको सहन क्षमता बढ्यो । सिधै सेवन नगरे पनि वातावरणबाट खानेकुरा या पानी माटो आदिका माध्यमबाट एन्टिबायोटिक्स शरीरमा प्रवेश गरिरहेका हुन्छन् । रोगका कारक सूक्ष्मजीव पनि यही वातावरणमा हुने हुन् । शरीरमै पनि बसेका हुन्छन् । अनि त मन्द रूपमा एन्टिबायोटिक्ससँग तिनीहरू हाम्रै जीउमा साक्षात्कार गरिरहेका हुन्छन् । त्यति मात्र होइन, सूक्ष्म परजीवीको क्रम विकास, अनुकूलन, आनुवांशिक संरचनामा परिवर्तन, उत्परिवर्तन आदि पनि भइरहेका हुन्छन् । परिणामस्वरूप केही समयपछि उनीहरूमा एन्टिबायोटिक्सका विरुद्ध प्रतिरोधी क्षमता विकास हुन्छ । तसर्थ एन्टिबायोटिक्सले लक्षित कीट मार्न सक्दैन । अहिलेको संसारमा यो भयानक समस्या एवं चिकित्सा विज्ञानमा चुनौतीको रूपमा आएकोे छ । अर्को पनि कुरा छ– मानाैँ कुनै मानिसलाई निमोनिया भयो र उसलाई कुनै एन्टिबायोटिक्स लगाइयो भने त्यसले काम गर्दैन किनकि सो मानिसमा माथि उल्लेख गरिए जस्तै तरिकाले तत् एन्टिबायोटिक्सको प्रतिरक्षा गर्ने क्षमता विकास भयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष दुई लाख ५० हजार मानिसको ज्यान लिने क्षयरोगको कारक ब्याक्टेरिया ट्युबरकुलोसिसको प्रतिरक्षा क्षमता यति बढेको छ कि यिनलाई नियन्त्रणमा लिन अब थोरै मात्र एन्टिबायोटिक्स सक्षम छन् । एक अध्ययनका अनुसार रोगका कारक जीवको प्रतिरक्षा क्षमतामा आएको सुधारले युरोपियन युनियनका देशहरूमा एक वर्षमा ३५ हजार मानिस मरिहरहेका छन् । हामीलाई रोग लगाउने जुनसुकै सूक्ष्मजीवको पनि यस्तो प्रतिरोधी क्षमता विकास भएपछि वैज्ञानिकले थप नयाँ कडा, तीनलाई छक्याएर मार्ने किसिमका एन्टिबायोटिक्स बनाउन र सिफारिस गर्न बाध्य भएका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले भनेको छ– भर्खरै यस्ता ५१ किसिमका नयाँ एन्टिबायोटिक्स आविष्कार भएका छन् । यसबाट के बुझिन्छ भने जैविक संसार एन्टिबायोटिक्सको पहुँचभन्दा बाहिर गइरहेको छ ।
विश्वका सबै देशमा जस्तै नेपालमा पनि प्रतिजैविक औषधीले रोगका कारक जीवहरूलाई नष्ट गर्न नसकेको अवस्था देखिएको छ । कुन औषधी चाहिँ त्यो बिरामीलाई रामवाण होला भन्ने यकिन नगरी चिकित्सकले प्रतिजैविक औषधी सिफारिस गरिरहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक प्रतिवेदनका अनुसार १६ प्रतिशत स्वास्थ्यकर्मी ससेप्टिबिलिटी परीक्षण गरेपछि मात्र उपयुक्त एन्टिबायोटिक्स लेख्छन् । धेरैजसोलाई यो परीक्षण गर्ने सुविधा नै छैन ।
रासायनिक प्रदूषण भएका स्थान त्यसमा पनि नेपाल जस्तो अविकसित, गरिब र स्वास्थ्य चेतना कम भएको देशमा प्रतिजैविक औषधीको प्रतिरोधी जोखिम बढी पर्ने सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन् । अहिलेका दिनमा दक्षिण एसियामा विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति एक लाख बिरामीमा साढे २१ जनाको प्रतिजैविक प्रतिरोधका कारण मृत्यु हुने गरेको छ । भविष्यमा सङ्व्रmामक रोगको आतङ्क बढ्ने, औषधीले रोग निको नहुने अवस्था विकराल रूपमा नआओस् भनी आजैबाट यसबारे सचेतना फैलाउने उद्देश्यका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह नेपालले पनि मनाउने गरेको छ । कसैले पनि आफू खुसी, जतिसुकै मात्रामा एन्टिबायोटिक्स किनेर नखाऔँ÷नलगाऔँ । यदि आवश्यक पर्ने भएमा विज्ञ वा चिकित्सकको सिफारिसमा मात्र पूरा डोज सेवन गरौँ । चिकित्सकले पनि बिरामीलाई कुन कुन एन्टिबायोटिक्सले काम गर्छ र कुनले गर्दैन भन्ने कुराको परीक्षण गरेर औषधी सेवनका लागि सुझाव दिने हो भने बिराम ठ्याक्क राम्रो हुने थियो र जनस्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्दैन थियो । यसो गर्दा बिरामीलाई पनि थाहा हुन्थ्यो कि मलाई कुन कुन एन्टिबायोटिक्सले काम गर्दैन । विश्वभरि मनाइने यो सप्ताहले भोलिका दिनमा आउन सक्ने स्वास्थ्य सङ्कटलकाललाई टार्न सकोस् ।