• १२ साउन २०८१, शनिबार

ओस्कारको प्रतिस्पर्धामा ‘टुवेल्थ फेल’

blog

काठमाडौँ, मङ्सिर १३ गते । विधु विनोद चोपडा निर्देशित चलचित्र ‘टुवेल्थ फेल’ २०२४ ले ओस्कार प्रतिस्पर्धामा प्रवेश पाएको छ । चलचित्रमा कुनै पनि मान्छेमा कडा परिश्रम गर्ने जोश, जाँगर र उत्साह छ भने जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नो सफलताको यात्रा आफैँ तय गर्न सक्ने सन्देश दिएको छ ।  चलचित्रमा युवाको कडा परिश्रम, उनीहरूले कामप्रति देखाएको लगन र मेहनतलाई उजागर गर्न खोजेको छ ।  

चलचित्रको कथा दिल्लीको मुखर्जी नगरबाट सुरु हुन्छ, जहाँ हजारौँ युवा आइपिएस (भारतीय प्रहरी सेवा) परीक्षाको तयारी गरिरहेका देखिन्छन् । मनोज र उनको सम्पूर्ण परिवारमध्ये प्रदेशको चम्बलमा बस्छन् । बुवाको जागिर सकिएपछि घरको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । दिनमा दुई छाक खानसमेत सङ्घर्ष गर्नु परेको छ । स्कुलमा निकै मेहनती मनोज अन्य विद्यार्थी जस्तो चिट चोर्न र अरूको सार्नुलाई उचित ठान्दैनन् । 

आफ्नै तरिकाले परीक्षा दिँदा कक्षा १२ को परीक्षा उत्तीर्ण हुन सक्दैनन् तर अनुत्तीर्ण हुँदा पनि उनलाई यसमा कुनै पछुतो छैन । अनुत्तीर्ण भएपछि उनी पूर्ण लगनशीलताका साथ फेरि परीक्षा दिन्छन् र राम्रो अङ्क ल्याएर उत्तीर्ण पनि हुन्छन् । स्नातक तहको अध्ययनपछि मनोजको आइपिएस अफिसर बन्ने यात्रा सुरु हुन्छ । के मनोज आइपिएस बन्न सक्छन् ? आइपिएस बन्नका लागि उनले के कस्ता समस्या झेल्नुपर्ने हुन्छ । यसैको सेरोफेरोमा घुमेको छ चलचित्र ‘टुवेल्थ फेल’ । 

चलचित्रमा कक्षा १२ को असफलताको सम्पूर्ण जिम्मेवारी मनोज अर्थात् विक्रान्त मेसीको काँधमा छ । चलचित्रमा उहाँले आफ्नो भूमिकामा कुनै सम्झौता गर्नुभएको छैन । उहाँको अभिनयमा कहीँ कतै खोट लगाउने ठाउँ छैन । उहाँले निकै जोशका साथ चलचित्रमा आफ्नो अभिनय क्षमता देखाउनुभएको छ । उहाँले आफ्नो चरित्रलाई हरेक पाइलामा पूर्ण न्याय गर्नुभएको छ । उहाँ असहाय देखिनुहुन्छ । उहाँको भित्र क्रोध छ तैपनि उहाँले आफूभित्रको रिस र आवेगलाई लुकाउन खोज्नुभएको छ । चलचित्र हेरिसकेपछि विक्रान्तको अभिनयबाट दर्शक अवश्य नै प्रभावित हुनुहुने छ । 

त्यस्तै प्रियांशु चटर्जी सानो भूमिकामा पनि छाप छोड्न सफल हुनुभएको छ । उहाँ इमानदार पात्रको प्रतिनिधित्व गर्नुहुन्छ । मेधा शङ्कर पनि आफ्नो चरित्रमा राम्रोसँग प्रस्तुत हुनुभएको छ । विजयको कामलाई राम्रै भन्नु पर्छ । विकास दिव्यकीर्ति पनि चलचित्रमा देखिनुभएको छ, जसको अभिनयले चलचित्रलाई थप प्राकृतिक बनाउन मद्दत गर्छ । 

कलाकारहरू अंशुमान पुष्कर, अनन्त जोशी, हरिश खन्ना र सञ्जय बिश्नोईको अभिनयलाई पनि कम आकलन गर्नु हुँदैन । दर्शक र समीक्षकबाट राम्रो प्रशंसा पाइरहेको चलचित्र २० करोड भारुमा बनेको हो । चलचित्रको कथावस्तु अनुराग पाठकको पुस्तकमा आधारित छ, जुन आइपिएस मनोजकुमारको वास्तविक जीवनमा लेखिएको हो ।