• २९ वैशाख २०८१, शनिबार

नेपालमा नसर्ने रोगको अवस्था भयावह : डा. देउवा

blog

जनचेतना मुलक पर्चा पम्पलेट हस्तान्तरण गर्नुहुँदै कांग्रेस नेतृ डा. आरजु राणा देउवा। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १२ गते। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयावह बन्दै गइरहेको बताउनुभएको छ। उहाँले नसर्ने रोग  रोकथामका लागि सरकारले अभियानकै रुपमा काम गर्नुपर्ने आवश्यकतासमेत  औंल्याउनुभयो। 

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा मंगलबार यहाँ आयोजना गरिएको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।  उहाँले हरेक नागरिकले आफ्नो खानपान र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै बार्षिकरुपमा आफ्नो स्वास्थ्य परीक्षणका लागि प्रतिबद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो। 

सरकारले नसर्ने रोगको उपचारका लागि गरिरहेको प्रयास सकारात्मक रहेको जनाउँदै नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहनुभएका डा.राणाले ती प्रयासहरुलाई अझै तीव्र बनाउनुपर्ने बताउनुभयो।  कार्यशाला गोष्ठीमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुजन जोशीले तथ्यांक प्रस्तुत गर्दै नसर्ने रोगबाट हुने मृत्यु ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको बताउनुभयो। 

उहाँले नेपालमा मुख्य गरेर मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वास र मानसिक समस्या जस्ता नसर्ने रोगको ग्राफ बढ्दो रहेको जनाउँदै मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने विज्ञको भनाइ रहेको बताउनुभयो। सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका अनुसार नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको छ। अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत बिरामी नसर्ने रोगका छन्। 

सो अवसरमा अध्यक्ष डा. राणाले नेपालगन्जका प्रमुख प्रशान्त विष्टलाई महासंघले तयार पारेको जनचेतना मुलक पर्चा पम्पलेट पनि हस्तान्तरण गर्नुभयो।  

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टले नसर्ने रोगको उपचारका लागि सिफारिस लिन आउने मानिस बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर बन्नुपर्ने अवस्था आएको बताउनुभयो। नसर्ने रोगले समाजलाई गरिबीतर्फ धकेलिरहेको भन्दै उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याइरहेको बताउनुभयो। 

स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका समग्र स्वास्थ्य सूचकांकहरु तथा नसर्ने रोगको बढ्दो जोखिम र अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो।

कार्यशाला गोष्ठीमा उपमहानगरका उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. दिनेशकुमार चौधरी, सुरक्षित मातृत्व सञ्जाल महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द र जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत लगायतले नसर्ने रोग मानव र समाज विकासका लागि ठूलो चुनौती बनेको बताउनुभयो।