• ९ मंसिर २०८१, आइतबार

प्रकृति पहिलो विश्वविद्यालय

blog

मानव जीवन प्रकृतिको अभिन्न अङ्ग र अनुपम देन हो । प्रकृतिले मानिसलाई तìव, पदार्थ, सम्पदा र शिक्षासमेतका कुरा दिएको छ । यसले तìव र पदार्थका रूपमा हावा, पानी, वन, माटो, ढुङ्गा मात्र होइन हाइड्रोजन, अक्सिजन एवं लवण पनि दिएको छ । यी तत्वको समायोजन सूर्यबाट प्राप्त तापसँग हुँदा जीव जगत्ले आकार, गति र आयु प्राप्त गरेको हुन्छ । यही परिवेशमा प्रकृतिले मानवलाई जीवन जिउने, खाने, हाँस्ने, खेल्ने र सुरक्षित, सहज एवं वातावरण अनुकूल आवासको प्रबन्ध गर्ने विषय पनि सिकाएको छ । त्यसैले प्रकृतिसँग नजिक रहेर विकसित हुँदै गएको मानव सभ्यता दिगो हुन्छ । यसको अर्थ मानव जीवन प्रकृति अनुकूल चल्नु पर्छ तर विडम्बना मानिसले प्रविधि र अन्य कुराको नाममा प्रकृतिलाई उछिन्ने निरर्थक प्रयास गर्दा अनेक खालका विपत्को सामना गर्नु परेको छ । हामीले अन्य जीवमार्फत प्रकृतिले मानिससम्म पु¥याएको ज्ञानको उपयोग नगर्दा र प्रकृतिको सुइरोलाई विपरीत दिशामा घुमाउने प्रयास गर्दा धेरै जोखिम र चुनौती थपिएका छन् । विश्वविद्यालय सैद्धान्तिक र व्यावहारिक ज्ञान लिने र दिने थलो हो, अध्ययन र अनुसन्धानको केन्द्र हो । प्रकृतिको स्वभाव र चरित्रलाई हेर्दा यसले अद्भुत खालका शिक्षा र ज्ञान दिने गरेको छ, एउटा जीवमार्फत अर्कोलाई कला प्रदर्शन गर्ने र सिकाउने काम गर्ने गरेको छ । त्यसैले वैदिक शिक्षामा आधारित पुराना विश्वविद्यालयका मान्यता र शिक्षण कला प्रकृतिसँग जोडिएका थिए । 

नेपालको भूगोल र आर्थिक सामाजिक चरित्रलाई हेर्दा हामीमध्ये अधिकांशको बालपन र किशोर अवस्था घर, खेत, वनजङ्गल, खोला खहरे, गरा, खलिहान र पखेरामा घाँस, खेतीपाती, गोठालोपात तथा विद्यालय वरिपरि हुने क्रियाप्रतिक्रियामा घुमेको र बितेको पाइन्छ । हरेक मानिसले सम्झन्छन् होला, विश्वविद्यालयमा गएर हरेक मानिसले जति सिके, त्यसभन्दा धेरै बढी त खेतबारी र नदीखोला र वनजङ्गलमा घुम्दा, खेल्दा र काम गर्दा सिकिएका हुन्छन् । ती सबैको अनुभवले भन्छ, खेतबारी, वन बुट्यान, पाखापखेरा, नदीनाला, पोखरी, ढाबी, सिमसार सबै विश्वविद्यालयका प्रयोगशाला हुन् । चराले आफू र आफ्ना बच्चा राख्न बनाएका थरीथरीका गुँड, मौरीका चाका, धमिराका देवल, अरिङ्गालका गोला आदिमा देखाएको कला, सिप र आर्किटेक्ट मानव निर्मित विश्वविद्यालयमा पढेर र सिकेर बनाएको होइन । हात्तीले आफ्नो झुन्डको कुनै सदस्यको मृत्यु भएमा पछि त्यही स्थानको माटो सुम्सुम्याएको, नदीले ढुङ्गा र चट्टानसँग मडारिँदै पानी सफा गरेको, खेतमा गङ्गटाले प्वाल बनाएको, मुसाले आफूले बनाएको प्वालभित्र धानको बाला कलात्मक ढङ्गले राखेको, बिरालाले आफ्ना बच्चाको सुरक्षा गरेको, स्याल आउँदा कुखुराले चल्ला छोपेको, कुमालकोटीले झुसीलकिरालाई आफ्नै गुँडमा लुकाई जातीय रूपान्तरण गरेको, छिप्पिएका बाँस आपसमा र चट्टानसँग घर्षण हुँदा आगो जन्मेको, बकुल्लाले ध्यान आसनमा सिकार गरेको विषय कुनै आधुनिक प्रयोगशालामा परीक्षण गरिएका वा आधुनिक विश्वविद्यालयमा सिकाइएका होइनन् । प्रकृतिबाट गराइएका यी कार्य आफैँमा प्रयोगशाला र विश्वविद्यालय हुन् । 

हामीमध्ये कत्तिलाई गोलभेँडाको वंशबारे थाहा नहुन सक्छ । गोलभेँडाको उत्पत्ति त आलुबाट भएको हो । आलुको बोटमा माटोभित्र जरामा आलु फल्छ, बोटमाथि फलेको फलको अचार अत्यन्त तिक्खर स्वादको हुन्छ । त्यस फलभित्र रहेको बियाँ रोप्दा गोलभेँडाको बिरुवा उम्रन्छ, अनि फल्छ । त्यस्तै जङ्गलमा कुनै रुख लर्केको हुन्छ, त्यसको हाँगो जमिनमा बजारिन्छ, त्यसमा चोट लाग्छ, चोटमा माटो, गोबर आदि पर्छ अनि छोपिन्छ पनि। त्यहीँबाट जरा पलाउँछ, यसबाटै ग्राफ्टिङ वा फलफूलको बिरुवाको कलमी बनाई अर्को ठाउँमा सार्ने कला जन्मेको हो । 

यसरी कृषि र वनस्पति विज्ञानलाई अगाडि बढाउने आधारभूत शिक्षा प्रकृतिले दिएको हो । पानी र हवाईजहाजदेखि प्यागोडा शैलीका घर मन्दिरसमेतका संरचना निर्माण गर्दा पानी र हावालाई तर्काउने ज्ञान माछा, चरा, धमिरा र मौरी जस्ता किट आदिमार्फत प्रकृतिले दिएको हो ।  केटाकेटी हुँदा जिज्ञासा जान्थ्यो, चरालाई सुन्दर गुँड बनाउन र धमिरालाई कलात्मक देवल बनाउन कसले सिकायो ? तिनीहरूले कुन विद्यालयमा पढे 

होलान् ? पढाउने शिक्षक कस्ता होलान् ? त्यति मात्र नभएर धमिराले र मौरीले अवधि पुगेपछि फेरि त्यही देवल (घर) वा चाकामा बस्नु हुँदैन । अर्को घर, देवल वा चाका बनाउनु पर्छ भनेर कुन कानुनले सिकायो र कुन सरकारले पढायोे होला भन्ने जस्ता कुरा मनमा आउँथे । यी सबै कुरा सिकाउने थलो प्रकृति नै रहेछ । बरु मानिसमा पर्याप्त चेतना नआएकाले होला प्रकृतिलाई बेवास्ता गरेर आफ्नो घर र अन्य संरचना कसरी र कुन सामग्री प्रयोग गरेर बनाउँदा बढी बलियो, सुरक्षित, स्वास्थ्यवर्धक र मितव्ययी बन्न सक्छ भन्ने कुरामा ध्यान पु¥याएको देखिएन । घर कहिले बनाइयो, आयु कति हो, त्यसलाई कहिले त्याग्ने भन्ने जस्ता सामान्य ज्ञान र चेतना पनि नहुँदा मानिस अनाहकमा भूकम्पमा परी घरले थिचेर मरेका छन् । 

नेपालमा अधिकांश भूकम्पीय मृत्यु असुरक्षित र पुराना वा आयु सकिएको घरमा बसेको बेलामा आएको भूकम्पले क्षति पु¥याएको कारणले भएको पाइएको छ । यसरी प्रकृतिले देखाएका सिकाएका कुरालाई नजरअन्दाज गर्दा थरीथरीका चुनौती थपिएका छन् । समाजमा विभेद खडा भएको छ, सामाजिक न्याय बिथोलिएको छ, शासन कमजोर भएको छ । उदाहरणका लागि जङ्गलमा मांसहारी प्राणी बाघहरू बस्छन्, उनीहरूले हरिण, मृग, अर्ना, जरायो आदिको सिकार गरेर भोक मेट्छन । यहाँ उल्लेखनीय कुरा के छ भने जङ्गलमा हुलका हुल हरिण, मृग र अर्ना आदि हुन्छन् तर बाघले पाएँ भन्दैमा एकैचोटि थुप्रै सङ्ख्यामा सिकार गर्दैन र मरेको सिकार भोलिका लागि पनि थुपार्दैन । एउटा मारेर खान्छ, आनन्दले सुत्छ तर मानिसले पायो भने धेरै मार्छ, सुकुटी बनाउँछ, थुपार्छ । यसरी मानिसमा धन थुपार्ने प्रवृत्तिको  विकास भएको हो । यो अप्राकृतिक कार्य हो । हाम्रो समाजमा देखिएको कतिपय समस्याको जड थुपार्ने प्रवृत्ति हो । यो प्रवृत्ति धनसम्पत्ति र मुनाफासँंग टाँंसिएको छ । जसले मानवलाई जोगाउन भन्दा जोखिमतर्फ धकेलेको छ । अप्राकृतिक कार्यले गर्दा मानव शरीरलाई चाहिने तत्वहरू आपूर्ति गर्ने रैथाने खाद्य वनस्पति लोप भएका छन् । कृषि र पशुपालनको क्षेत्रमा अनावश्यक रासायनिक पदार्थ र विषादीको प्रयोगले किसान, उपझोक्ताको जिउज्यान र मित्रकिराको उपस्थितिमा प्रतिकूल असर परेको छ । भ्यागुता, सर्प, गङ्गटा र गँड्यौला लोप हुँंदै गएका छन्, भँगेरा र कौवाको सङ्ख्या घटेको छ । पर्यावरणीय चक्रका अंशियारका रूपमा रहेका मित्रजीवको अनुपस्थितिमा शत्रुकिरा खाइदिने जीवको अभाव छ । यसबाट उत्पादन, जीवन तथा पर्यावरणमा परेको असरबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाको पर्याप्त ध्यान पुगेको देखिँदैन । 

मानिस विवेक भएको प्राणी भनिन्छ तर आधुनिकता, पर्यटन प्रवर्धन, मनोरञ्जन आदिको नाममा वनजङ्गलमा बस्ने कमजोर प्राणीलाई बलियो प्राणीले जिउँदै लुछिरहेको र सिकारीले खुलेआम वन्यजन्तु मारेको दृश्य उतारेर देखाउने, हेर्ने र हेर्न प्रेरित गर्नु प्रकृति विपरीत हो । हो जल, माटो, वनजङ्गल र कन्दरामा प्रकृतिले बनाएको पर्यावरणीय चक्र अनुसार एउटा जीवले अर्को जीवको सिकार गर्ने काम चलिरहेको हुन्छ, वनस्पतिले समेत जीव र किटपतङ्गको सिकार गर्दछन् ।  प्रकृतिको नियम अनुसार हुने यी कुरालाई दृश्याङ्कन आउँदो पुस्तालाई देखाउँदा संवेदनशीलता मर्दै जाने र समाज अप्राकृतिक हुने जोखिम बढेर जान्छ । यसले अमनचयन खलबल्याउंँछ र सक्नेले निर्धालाई दपेट्नु पर्दछ भन्ने मनोविज्ञानले जरो गाड्छ भन्ने कुरा मानिसले किन बिर्सेको ?  

यसको अर्थ हो हामी क्रमशः असल विश्वविद्यालयमा पाइने ज्ञान, सिप र प्रविधिबाट विमुख हुँदै छौँ । प्रकृतिले सिकाएका कुरा बिर्संदै छौँ वा बेवास्ता गर्दै छौँ । प्रकृतिको नियमलाई बिर्सेर दिगो विकासका लक्ष्य हासिल हुन सक्दैनन् । हामी जलवायु परिवर्तन, त्यसको प्रभाव, प्रभाव न्यूनीकरण र अनुकूलनका कुरा त गर्छौं, नीतिमा लेख्छौँ तर व्यवहारमा ल्याउंँदैनौँ, समस्या यहीँ छ । तसर्थ अब यी कुरालाई व्यवहारमा ल्याउने बेला भइसकेको छ । 

नेपालले युएईको दुबईमा सुरु हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा जलवायु वित्त र कोषको प्रवर्धन, औद्योगिक देशको कारणले जलवायुमा परेको प्रतिकूल असरले नेपालसमेतका कतिपय देशले बेहोरेको क्षतिपूर्तिको दाबी र हिमालय क्षेत्रको संरक्षणका विषय प्रस्ताव गर्ने भएको छ । तसर्थ नेपालले यो विषयलाई अझ सशक्त ढङ्गले अघि बढाउन विश्वका धनी राष्ट्रहरूसमेत प्रकृतिले निर्धारण गरेका नियमसँग हिँड्ने एउटा दरिलो प्रारूप तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न अभिप्रेरित गर्न सक्ने गरी अन्यायमा परेका राष्ट्रको समेत प्रतिनिधित्व हुने गरी दरिलो प्रस्ताव पेस गर्नु पर्दछ । 

  

Author

डा. चन्द्रमणि अधिकारी