• १२ साउन २०८१, शनिबार

पोखरामा मिथिला चित्रकला

blog

लेखनाथ समाचारदाता

लेखनाथ, मङ्सिर १० गते । मधेश प्रदेशको मिथिला क्षेत्रमा लोकप्रिय मिथिला चित्रकला शनिबार पोखरेलीले अवलोकन गरेका छन् । करिब ३० जना पोखरेली बालबालिका आर्ट वर्कसपमा समेत सहभागी भए । वर्कसपसँगै कला प्रदर्शनीसमेत भएको छ ।

विद्यालयमा विभिन्न खालका पेन्टिङ सिकेका बालबालिका पृथक् खालको मिथिला चित्रकला बनाउन व्यस्त भए । शनिबार दिउँसो करिब पाँच घण्टा भएको कला कार्यशालामा सहभागी बालबालिकाले उत्सुकतापूर्वक मिथिलाको कला सिक्नुका साथै सिर्जनासमेत गरेका छन् । 

आइतबारसम्म चल्ने कार्यशालामा सहभागिताका लागि मधेश प्रदेशबाट सात कलाकार पोखरा आएका छन् । कलाकार सुनयना ठाकुरले त्रेता युगमा भगवान् रामको वरियात आउँदा स्वागतका लागि घर घरमा बनाइएका चित्रले विकसित हुँदै मिथिला चित्रकलाको रूप लिएको उल्लेख गर्नुभयो ।

“कुनै प्रशिक्षकले नसिकाई घर घरमा बनाइने मिथिलाको यो कला अहिले कङ्व्रिmट भवन बन्दै जाँदा सङ्कटमा पर्न थालेपछि संरक्षणका प्रयास थालिएका छन्,” उहाँ भन्नुहुन्छ । कलाकार ठाकुरले यसलाई मिथिलाको मात्र नभई पूरै नेपालको कलाका रूपमा अपनत्व दिलाउन जरुरी भएको बताउनुभयो । 

कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले कलाको माध्यमबाट संस्कृति संरक्षण र प्रवर्धन हुने जनाउँदै यस खालका कार्यक्रम ठाउँ ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो । ‘ए डे विथ कलर्स’ भन्ने उद्घोषका साथ कार्यक्रम भएको हो । कार्यक्रम संयोजक कृपा श्रेष्ठले कला, साहित्य आदानप्रदान गर्दै ती क्षेत्रको श्रीवृद्धिका लागि कार्यक्रम गरिएको बताउनुभयो । “यसपालिको कार्यक्रम बालबालिका केन्द्रित नै गरेका हौँ । बालबालिका नै वर्कसपमा धेरै सहभागी छन्,” उहाँ भन्नुहुन्छ । कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेल, कलाकार एवं कवि रमेश श्रेष्ठ, महिला उद्यमी रामकली खड्का, अभ्या क्लबका नीरज लामालगायतले बोल्नुभएको थियो ।