• २१ असार २०८१, शुक्रबार

पशुपति महास्नान आइतबार

blog

काठमाडौँ, मङ्सिर ९ गते । मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान आइतबार हुने भएको छ । मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपमा मकै सुब्बाको इतिहासमा नाम छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा महास्नान गर्ने पालो मकै सुब्बाका सन्तति घट्टेकु्लो निवासी राजेश जोशीको परेको छ ।

पशुपति मन्दिरपरिसरको दक्षिणतर्फ तत्कालीन दरबार केही भारदारको सालिक रहेको स्थानमा मकै सुब्बाको पनि सालिक छ तर यी सुब्बाको नाम र दर्जा भने प्रस्ट छैन । तत्कालीन राजा रणबहादुर शाहले भव्यताकासाथ महास्नान गर्ने सुब्बाको ईष्र्या गर्दै सबै पूर्णिमाका दिन यस्तै महास्नान चलाएका हुन् भन्ने कथन रहिआएको छ । जोशीले भन्नुभयो, “हामी हरेक वर्ष वैकुण्ठ चतुर्दशीका दिन पशुपतिमा महास्नान गर्छौं ।” एक वर्ष घट्टेकुलोबाट र अर्को वर्ष बत्तिसपुतलीबाट महास्नानका लागि पूजा सामग्री लगिन्छ । महास्नान गराउन जाँदा दक्षिण ढोकाबाट पूजाका सरसामान मूल पुजारीलाई दिइन्छ । 

१० देखि १२ लाख रुपियाँसम्म लाग्ने महास्नानमा विभिन्न प्रकारका रोटी र लाखामरी चढाइन्छ । त्यस्तै ३९ लिटर मह, ३३ किलो घिउ, ३३ किलो सक्खर, ५२ लिटर दुध र ५२ लिटर दही मिलाएर पञ्चामृतले स्नान गराइन्छ । 

यो महास्नान कहिल्यै पनि रोक्न नहुने जानकारी दिँदै जोशीले महास्नान चलाउने घरमा कसैको मृत्यु वा सूतक परे पनि नरोकिने प्रस्ट पार्न‘भयो । पञ्चामृतलाई २५/२५ वटा हाँडीमा विभाजन गरी महास्नानका लागि लगिने पनि उहाँले बताउनुभयो । जोशीका अनुसार वासुकि नागलाई पनि एक÷एक हाँडी पञ्चामृत चढाइन्छ । जोशीका अनुसार पशुपति मन्दिरबाट बाजा, झा बाजे (पुजारी) तथा आशा गुर्जा दण्डा पठाएपछि महास्नानका लागि घरदेखि पूजा सामग्री, फूल, हाँडी बोकेर पशुपति मन्दिरसम्म हिँडेर जानुपर्ने नियम रहेको छ ।

पशुपति गुठी गोश्वारामा मकै सुब्बाको महास्नान भन्नेसम्म अभिलेख रहेको छ । पशुपतिलाई महास्नानपछि महाभोग चढाइन्छ । महाभोग लगाउने क्रममा दक्षिणपट्टि रहेको ठुलो तामाको पातामा भातको थुप्रो लगाइन्छ । त्यस थुप्रो वरिपरि दाल खन्याइन्छ । तरकारी पनि घुमाएरै राखिन्छ । अनि विभिन्न किसिमका रोटी, मिठाईले सजाइन्छ । रोटी, मिठाई राख्दा पनि कुन कुन देवताका प्रतीक हो भन्ने थाहा हुन्छ । यसरी ब्रह्मा, विष्णु, महेश्वरका रूप पशुपति महादेव नै हुन् भनी थाहा पाइन्छ । मूल भट्ट देवालयमा बसी विधिपूर्वक पूजा गरिन्छ । आचार्यद्वारा तान्त्रिक विधि अनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ । कीर्तिमुख भैरवलाई बोका बलि दिएर पूजा गरिन्छ । पूजा गरिसकेपछि तान्त्रिक महास्नानको विधि पूरा हुन्छ । 

यसै गरी मकै सुब्बा महास्नान निजी गुठीले हरेक वर्ष महास्नानका साथै एउटा नन्दी पनि पशुपतिमा छोड्ने परम्परा रहेको छ भने कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म पशुपति मन्दिरको परिसरमा बत्ती बाल्ने परम्परा रहेको छ ।