• १३ साउन २०८१, आइतबार

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै

blog

चोभार सुख्खा बन्दरगाह

काठमाडौं, मङ्सिर ८ गते । चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपियाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ ।

समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्याङ्कनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्याङ्कनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताउनुभयो ।

उहाँले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा पोर्टहरू कम्पनीमार्फत सञ्चालन तथा व्यवस्थापन गराउने र नियमन समितिले गर्ने उल्लेख भए बमाजिम निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको जानकारी दिनुभयो । उहाँले सुख्खा बन्दरगाह सञ्चालन निजी क्षेत्रले गर्ने विश्वव्यापी प्रचलन रहेको बताउनुभयो ।

निर्देशक गजुरेलले चोभार सुख्खा बन्दरगाह सञ्चालनमा मासिक रुपमा १६ लाख रुपियाँ खर्च हुने गरेको बताउनुभयो । उहाँले बन्दरगाहको मासिक आम्दानी भने पाँचदेखि छ लाख रहेको भन्दै अब निजी क्षेत्रले सञ्चालनको जिम्मा पाएपछि बन्दरगाहको सञ्चालन व्यवस्थापन र मर्मत सम्भार उसैले गर्ने औंल्याउनुभयो ।

निर्देशक गजुरेलले बन्दरगाहमा लाग्ने सरकारको १० देखि ११ लाख रुपियाँको खर्च अब निजी क्षेत्रले नै गर्ने बताउनुभयो । उहाँले पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महशुल बाँडफाँड गर्नेगरी सम्झौता भएको जानकारी दिनुभयो । उहाँले साढे एक वर्षसम्म सरकारले सञ्चालन गरेको अनुभव हेर्दा सरकारले पाँच वर्षमा दुई करोड ८८ लाख पाएकोमा गर्व गर्नुपर्ने बताउनुभयो ।

‘‘सुख्खा बन्दरगाह सञ्चालन व्यवस्थाले इन्टरमोडल यातायात समितिले नै बन्दरगाह सञ्चालन गर्न पाउँदैनौं । जबसम्म सरकारले बन्दरगाहमा ट्राफिक फोरकाष्ट गर्न सक्दैनौं । सञ्चालक समितिको निर्णयबाट स्टक ग्याम ओरेजमेण्ट भनेर केही समयको लागि चलाउँछौं । ठेक्का प्रणालीमा कसरी जाने र मिनिमम रेट कति राख्ने भन्ने विषयमा क्यालकुलेटर गर्नसक्ने भएपछि टेण्डर प्रक्रियामा गएर कम्पनी छनोट गरेर उहाँहरुमार्फत बन्दरगाह सञ्चालन गर्ने हो । विश्वव्यापी प्रचलन हेर्नुहुन्छ भने बन्दरगाहहरु निजी क्षेत्रमार्फत नै सञ्चालन भइरहेका छन् ।,’’  निर्देशक गजुरेलले भन्नुभयो, ‘‘चोभार सञ्चालनमा मासिक रुपमा १६ लाख रुपियाँ खर्च छ । बन्दरगाहको मासिक आम्दानी भनेको पाँचदेखि ६ लाख हो । निजी क्षेत्र आएपछि निजी क्षेत्रले नै सञ्चालन व्यवस्थापन र मर्मतसम्भार गर्छ । सरकारको १० देखि ११ लाख रुपियाँको खर्च छ । त्यो पनि निजी क्षेत्रले गर्छ ।’’

निर्देशक गजुरेलले काठमाडौं तराई द्रुतमार्ग नबनेसम्म चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन आउन नसक्ने विषयलाई सरकारले स्वीकार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई सञ्चालन गर्न दिनु राज्यका लागि पनि राम्रो भएको जानकारी दिनुभयो । बन्दरगाहलाई अहिले दुई भागमा छुट्याएर सञ्चालनमा ल्याएको जानकारी दिनुहुँदै उहाँले चोभार भन्सार नयाँ सवारी साधनहरुको भन्सार जाँचपास गर्ने हबको रुपमा विकसित भएको बताउनुभयो । उहाँले अहिले पनि भन्सार पासका लागि ९० वडा सवारी साधन बन्दरगाहमा रहेको बताउनु भयो ।

निर्देशक गजुरेलले समितिले चलाउन पाउने नियम नभएको र पनि सञ्चालक समितिले विशेष निर्णय गरेर हालसम्म चलाइरहेको बताउनुभयो । उहाँले  बन्दरगाहमा ट्राफिक प्रक्षेपण (गाडी वा कन्टेनर आउने सङ्ख्याको अनुमान) गरेर निजी क्षेत्रलाई सञ्चालन गर्न दिइएको बताउनुभयो ।